चर्चित साहित्यिक (इ) पत्रिका साहित्यपोस्टले डेब्यु कृतिलाई प्रदान गरिने वर्ष २०७८ को “साहित्यपोस्ट उत्तम कृति तथा उत्तम काव्य पुरस्कार” वितरण गरेको छ । धुम्बाराहीस्थित होटल अकमा प्रालिमा भएको एक समारोहका बिच ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’का संस्थापक उत्तमप्रसाद पन्त र ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’का संस्थापक उत्तम भौकाजीको उपस्थितिमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो ।

यसअघि नै वर्ष ०७८ को साहित्यपोस्ट उत्तम कृति पुरस्कार नियात्रा कृति घामभन्दा पहिलेका लागि भवानी खतिवडा र साहित्यपोस्ट उत्तम काव्य पुरस्कार कविताकृति जिलखाइरहेकी एक्काइसौँ शताब्दीका लागि शान्ति प्रियवन्दनाले प्रदान गरिने घोषणा गरिसकिएको थियो । त्यसैअनुरूप पुरस्कृत महिला हस्ताक्षरद्वयलाई संस्थापक उत्तमद्वय, कार्यक्रमका सभापति अश्विनी कोइराला र निर्णायक मण्डलका संयोजक केदार वाशिष्ठले संयुक्त रूपमा ५०-५० हजार पुरस्कार राशिका साथमा प्रमाणपत्र हस्तान्तर गर्नुभयो ।

साथै, कार्यक्रममा साहित्यपोस्ट उत्तम कृति पुरस्कारको प्रारम्भिक सूचीमा पर्न सफल ११ पुस्तकका स्रष्टा तथा साहित्यपोस्ट उत्तम काव्य पुरस्कारको प्रारम्भिक सूचीमा पर्न सफल ९ काव्यकृतिका स्रष्टालाई समेत प्रमाणपत्र हस्तान्तर गरिएको थियो ।

कार्यक्रममा बोल्दै पुरस्कार संस्थापक उत्तमद्वयले साहित्यपोस्टको सर्वोत्तम कार्यमा जोडिएर साहित्य क्षेत्रका नवप्रवेशीलाई आफ्नो नामको पुरस्कार अर्पण गर्न पाउँदा आनन्द महसुस गरेको बताउनुभयो । साहित्यपोस्ट उत्तम कृति पुरस्कारका संस्थापक उत्तमप्रसाद पन्तले ५० हजार राशिको पुरस्कारलाई आगामी वर्षदेखि १ लाख बनाइने जनाउनुभयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति तथा साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले पुरस्कारका भीडमा नवप्रवेशीका लागि भनेर कुनै पुरस्कार स्थापना नभएको अवस्थामा उक्त खालि ठाउँलाई साहित्यपोस्टले पूरा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली साहित्य क्षेत्रमा प्रजातान्त्रिक विचारका सर्जकले प्रगतिशील र प्रगतिशील विचारका सर्जकले प्रजातान्त्रिकलाई स्वीकार गरिनहाल्ने वातावरण बनेको छ । यस्तो अवस्थामा हामीले स्वतन्त्ररूपमा वाद र विचारभन्दा माथि उठी नवप्रवेशीका अब्बल कृतिलाई पुरस्कृत गर्ने जमर्को गरेका छौँ ।”

पुरस्कार हस्तान्तरणपश्चात् पुरस्कृत सर्जकद्वय भवना खतिवडा र शान्ति प्रियवन्दनाले पुरस्कारले आफूलाइ आगामी दिन अझ परिस्कृत र लगनका साथ साहित्य सिर्जना गर्न हौसला दिएको बताउनुभयो । साथै, उहाँहरूले पुरस्कारस्वरूप प्राप्त रकमलाई सामाजिक तथा साहित्यिक कार्यमै खर्च गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

कार्यक्रममा निर्णायक समूहका संयोजक केदार वाशिष्ठले निर्णय प्रक्रियाका बारेमा संक्षिप्त जानकारी दिनुभएको थियो । वाशिष्ठले ‘नेपाल विद्या’का लागि अघिल्लो वर्षको साहित्यपोस्ट उत्तम कृति पुरस्कार प्राप्त गर्नुभएको थियो ।

दुबै पुरस्कार आफ्नो पहिलो पुस्तक प्रकाशन गर्दै नेपाली साहित्य क्षेत्रमा औपचारिक पाइला चालेका नवप्रवेशीहरूमध्ये उत्कृष्ट ठहरिएका कृतिका सर्जकलाई प्रदान गरिन्छ । विक्रम सम्वत् २०७७ बाट नयाँ लेखकहरूलाई प्रोत्साहन गर्ने हेतुले सुरु गरिएको ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’मा ०७८ मा आइपुग्दा ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ थपिएको साहित्यपोस्टका संयोजक कृष्ण ढुङ्गेलले बताए । उत्तम कृति पुरस्कार गैरकाव्य कृतिलाई र उत्तम काव्य पुरस्कार काव्यकृतिलाई प्रदान गरिन्छ ।

अच्यूत कोइराला र कृष्ण ढुङ्गेलले सयुंक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा उल्लेख्य रूपमा साहित्य क्षेत्रमा मूर्धन्य तथा साहित्यानुरागी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।