चितवन, भदौ ५ / नमस्ते आधुनिक लघुकथा मञ्च, नेपालको आयोजना तथा राप्ती नगरपालिका वडा नं ७, ८,९; अधिकारी नवनिर्माण हार्डवयर,खुरखुरे, आस्था मार्ट, खुरखुरे, नमुना हार्डवेयर खैरहनीको प्रायोजनमा स्रष्टा भेटघाट, परिचय, कला-संस्कृति प्रदर्शन तथा विविध साहित्यिक रचना वाचन कार्यक्रम राप्ती नगरपालिकाको वडा-८ स्थित खुरखुरे बजारमा रहेको नन्दिनी स्टार पार्टी प्यालेसको सभाहलमा सम्पन्न भएको छ ।

वाल्मीकि साहित्य सदन, रत्ननगर, टाँडीका अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्री रामबाबु घिमिरेको प्रमुख आतिथ्यता र वरिष्ठ साहित्यकार केशवराज आमोदी, तिलकराज शर्मा, डा श्यामप्रसाद न्यौपाने, पुष्प अधिकारी अञ्जलि, गोर्खे साइँलो, वडा नं ७ ,८ र ९ का वडाध्यक्षहरू क्रमश: सुमिता डल्लाकोटी, पूर्णप्रसाद आचार्य, खड्गबहादुर तामाङ लगायतका विशिष्ट ३० भन्दा बढी अतिथिहरूको आतिथ्यतामा भएको कार्यक्रममा कुमार सिंजाली मगर तथा उहाँको गायन समूहले राष्ट्रिय गीत गाउनु भएको थियो भने श्री आधारभूत विद्यालय बजरहट्टीका बहिरा विद्यार्थीहरूले साङ्केतिक भाषामा राष्ट्रिय गीत गाएका थिए । राप्ती वडा नम्बर ७ र ८ का सनातन भजन समूले खैँजडी भजन, वडा नम्बर ७ र ८ कै आदिवासी थारू जातिको महिलाहरूको महान पर्व जितियामा नाचिने झाम्टा नाच; मगर जातीको कौडा नाच; तीज गीत प्रदर्शन गरिएका थिए । विविध जातीय भेषभुषा सहित आउनु भएका सांस्कृतिक समूहहरूले आ-आफ्ना जातका पर्व विशेष नाचहरू प्रदर्शन गर्दा कार्यक्रमको माहोल निकै रमाइलो बनेको थियो ।

कार्यक्रम स्थलमा राप्ती-७ का कुशल चित्रकार, स्वस्ती आर्ट, खुरखुरेका चित्रकला प्रशिक्षक सीताराम उप्रेतीद्वारा बनाइएका दुई दर्जन भन्दा बढी चित्रहरूको प्रदर्शन पनि गरिएको थियो । उप्रेतीले कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार रामबाबू घिमिरेको अनुहार चित्र पनि बनाउनु भएको थियो भने सुन्दर फोटो फ्रेममा राखिएको सो चित्रलाई कार्यक्रमका सभापति तथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी’कृष्णजी शर्मा’ले मायाको चिनोको रूपमा घिमिरेलाई उपहार प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला बाहिरबाट आमन्त्रित स्रष्टाहरूमा भुमही, नवलपरासीबाट डा. श्यामप्रसाद न्यौपाने ; गैँडाकोट, नवलपुरबाट नानी बिवु ; स्याङ्जाबाट युवा कविहरू मिलन समीर र शम्भु अर्याल , तनहुँबाट जनार्दन दाहाल; काठमाडौँबाट नमस्ते आधुनिक लघुकथा मञ्चका कोषाध्यक्ष यमुना प्रधानाङ्ग ‘मुना’ ; सदस्य कल्पना भण्डारी ‘मुस्कान’ को उपस्थिति रहेको थियो । चितवनका साहित्यकारहरू राजेन्द्र घायल, गिरिराज डल्लाकोटी, रोहिणी लोहनी, हरिप्रसाद गजुरेल, चेतनाथ रुवाली, विश्वनाथ खनाल, तुलसी पण्डितले आ-आफ्ना रचना वाचन गर्नु भएको थियो ।

८ वर्षे बालक सम्राट डल्लाकोटीले ‘बा’ लघुकथा सङ्ग्रहबाट लघुकथाकार प्रा. डा. कपिल लामिछानेले सिर्जना गर्नु भएको ‘बा र अक्षर’ शीर्षकको लघुकथा वाचन गरेर सुनाउनु भएको थियो ।

नमस्ते आधुनिक लघुकथा मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को सभापतित्वमा कार्यक्रम भएको थियो । डल्लाकोटीले कोरोना महामारीको कारण धेरै समयदेखि साहित्यिक कार्यक्रम हुन नसकेकोले कला ३ वर्षपछि स्रष्टा भेटघाट, परिचय, कला- संस्कृति लगायत साहित्यका विविध विधाहरूमा रचना वाचन कार्यक्रम गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

त्रैमासिक रूपमा यस्ता कार्यक्रमहरू आयोजना गरिने पनि उहाँले बताउनुभएको छ । कार्यक्रममा ४० जना भन्दा बढी साहित्यकारहरूले लघुकथा, गजल, कविता, मुक्तक जस्ता आफ्ना विविध साहित्यिक रचनाहरू प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा राजेश रुम्बा लामाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने रामशरण थपलिया “रमणजी”, मिठुकुमारी पाठक र अन्जु सिन्जालीमगर ‘सारिका क्षितिज’ र राजेश रुम्बा लामाले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, लेखक, साहित्यकार , पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम झण्डै ६ घण्टा लामो चलेको थियो ।