साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

इटहरीमा ‘पन्ध्रौँ चुली’माथि विमर्श

Chovar Blues Mobile Size

इटहरीमा शब्द प्रवाहद्वारा आयोजित एक कार्यक्रममा शुक्रबार लेखक खिमलाल गौतमलिखित ‘पन्ध्रौँ चुली’ पुस्तकमाथि विमर्श गरियो ।

कार्यक्रममा लेखक गौतमले आफू नेपाल सरकारको नापी विभागका जागिरे रहँदा कसरी दुई पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा टेक्न सफल भएँ भनी लेखिएको कुरालाई यहाँ पनि दोहोर्याउनुभयो ।

कार्यक्रममा पर्यटनकर्मी बासुदेव बरालले पन्ध्रौँ चुलीलाई सानो ठाउँको बारेमा सरल र मिठो भाषामा जानकारी दिने र त्यहाँ पुगिहालौँ जस्तो लाग्ने भावनात्मक र काव्यिक पुस्तकका रूपमा टिप्पणी गर्नुभयो । लेखकले पुस्तकमा हिमाल चढ्न नसक्नु र जिउँदो नफर्कनु हिमालको कमजोरी होइन, मान्छेको कमजोरी हो भन्ने शब्दले मन छोएको बरालको टिप्पणी थियो । प्रेम, पीडा, छटपटी र कारुणिकताले पन्ध्रौँ चुलीले छोएको बरालको भनाइ थियो । नेपाली भाषामा हिमाल पढ्न चाहनेहरूका लागि पुस्तक निकै गतिलो उपहार भएको उहाँको टिप्पणी थियो ।

यसैगरी हिमालको बारेमा बुझ्न चाहनेहरुका लागि अहिलेसम्म नेपाली भाषामा पाठ्य सामग्रीको निकै ठूलो अभाव रहेको र यस पुस्तकले सो अभाव मेटेको पत्रकार विराट अनुपमको भनाइ थियो । अनुपम स्वयं पर्यटन पत्रकारितामा अब्बल पत्रकार हुनुहुन्छ । उहाँले कार्यक्रममा सञ्चालन गर्दै पुस्तकमाथि आफ्नो टिप्पणी पनि सुनाइरहनु भएको थियो ।

यसैगरी पुस्तकमाथि लेक्चरर तृष्णा आचार्यले भने हिमाल हाम्रो, उचाई हाम्रो अनि हिमाल चढ्ने सामग्री भने विदेशबाटै ल्याउनु दुखद् भएको टिप्पणी गर्नुभएको थियो । आचार्यले कृष्णअष्टमीको दिनमा सगरमाथाको विश्लेषण गरिनु सुखद् भएको बताउँदै खोजका माध्यमबाट सगरमाथा र चुलीसँग नेपालको कूटनीतिक सम्बन्धको बारेमा चर्चा गर्नुभयो।

sagarmani mobile size

विमर्शकै क्रममा कवि टीका आत्रेयले पन्ध्रौँ चुलीलाई रस भरिएको उखुको रुपमा टिप्पणी गर्नुभयो । २०७६ सालमा सगरमाथाको उचाई सर्भे गर्ने क्रममा महत्त्वपूर्ण भागको जिम्मेवारीसहित सगरमाथाको आरोहण गरेका खिमलालले खुट्टाले लेखेर सगरमाथाको उचाई दिएकोमा र सुन्दर पुस्तक दिएकोमा आत्रेयले धन्यवादसमेत दिनुभएको थियो । बरु बरफ हुन परोस् तर बदनाम हुन नपरोस् भन्ने जस्ता पुस्तकमा प्रयोग गरिएका भाषाले आफूलाई छोएको कवि आत्रेयले बताउनुभयो । खिमलाललाई एक कुशल कविको रुपमा पुस्तकले उजागर गरेको समेत उहाँको भनाइ थियो ।

लेखक गौतमले हिमाली भेगमा बस्ने आरोही समुदायसँग हिमालका बारेमा थुप्रै ज्ञान भए पनि लेखेर बाहिर नआउने भएकाले आफूले दुई पटक गरेको आरोहणको अनुभव किन बाहिर नल्याउने भनेर लेख्न हौसला मिलेको बताउनुभयो । आफूले नै सगरमाथाको पूरै सर्वे गरेको नभई एउटा चुनौतीपूर्ण भूमिकामा सबैले गरेको काममा सहभागी भएको तथा नेपालले आफ्नो हिसाबले सगरमाथाको उचाई नाप्दा त्यसको जिम्मेवारी वहन गरेको जानकारी उहाँले दिनुभयो ।

सगरमाथाको नामकरण बाबुराम आचार्यले गरेको भन्ने गरिए पनि वास्तवमा बाबुराम आचार्यले प्रकाशमा मात्रै ल्याइदिएको इतिहास रहेको पनि गौतमले सुनाउनुभयो । आफू चुलीमा चढेको भन्दा पनि दुई पटक चुलीबाट ओर्लिएको भन्दा उपयुक्त हुने उहाँले बताउनुभयो । ‘सँधैभरि चुलीमा रहिरहन नसकिने रहेछ, जिन्दगीका धेरै सगरमाथा हुँदा रहेछन् । म चुलीमा दुई पटक चढेको भन्दा पनि दुई पटक चुलीबाट ओर्लिएको छु,’ गौतमले भन्नुभयो ।

कार्यक्रममा कवि मनु मन्जिलले पन्ध्रौँ चुलीको बारेमा विस्तृत विमर्श लेखेर सार्वजनिक गर्ने वचन दिनुभएको थियो भने कार्यक्रमका सभापति बद्री भिखारीले खिमलाल गौतम ऐतिहासिक सगरमाथा आरोही भएको टिप्पणी गर्नुभयो । यस्तो महत्वपूर्ण कार्यक्रमको सभापतित्व ग्रहण गर्न पाएकोमा खुसी लागेको भिखारीको भनाइ थियो । शुक्रबारको कार्यक्रमलाई फाइन प्रिन्टले समन्वय गरेको थियो ।

 

प्रतिक्रिया
Loading...