काठमाडौं / शुक्रबार सुबिन न्यौपानेको कविता संग्रह ‘कमरेडको जनै’ विमोचन गरियो ।

विमोचन कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, विशेष अतिथि सम्पादक तथा लेखक डा. बिन्दु शर्मा, राजनीतिज्ञ मानुषी यमि भट्टराई लगायतले पुस्तकको लोकार्पण गर्नुभयो ।

कार्यक्रममा बोल्दै डा. बिन्दु शर्माले न्यौपानेको कमरेडको जनैमा भूतका पक्ष, वर्तमानका पक्ष तथा भाविष्यका पक्षलाई बुनेर उत्कृष्ट कविता रचेको बताउनुभयो ।

त्यस्तै मानुषि यामी भट्टराईले पुस्तकमा लेखकले शीर्षकमा टेकेर क्रान्तिकारी कविता रचना गर्नुभएको जनाउनुभयो । ‘राजनीतिको हिसाबले हेर्दा कविताले आफैँलाई प्रतिनिधित्व गरेको जस्तो लाग्यो र मैले यो स्वीकार्नु पर्छ,’ भट्टराईले भन्नुभयो ।

त्यस्तै कार्यक्रमका अर्का अतिथि कवि श्रवण मुकारुङले भन्नुभयो, “मैले पाण्डुलिपि पाउँदा पहिले कम्रेडको जनै पढेँ, उत्कृष्ट लाग्यो र अरु कविता पनि पढेँ । म उनलाई रसुवाको उदाउँदो चे भन्न चाहन्छु ।’

अर्का प्रमुख अतिथि विश्वप्रकाश शर्माले यो पुस्तक विमोचनमा आउनुको प्रमुख कारण पुस्तकको नाम नै रहेको बताउनुभयो । ‘म पुस्तकको नाम सुन्नेबित्तिकै तानिएँ,’ शर्माले भन्नुभयो, ‘पहिलो प्रयासमै यति व्यंग्यात्मक तथा सशक्त कविता लेख्नु भएको छ ।’ कवि न्यौपानेसँग प्रशस्त सम्भावना रहेको बताउँदै शर्माले भोलिका दिनमा उत्कृष्ट कवि भएर निस्किनुहुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

“काठमाडौंको फोहोर व्यवस्थापनका लागि तीन ठूला दलहरू मिलेर मेयर बालेनलाई साथ दिनुपर्छ । साथै बन्चरेबासी जनताको जायज मागलाई सम्बोधन गरी दीर्घकालीन फोहोरको व्यवस्था गरिनुपर्नेसमेत उहाँले सो अवसरमा बताउनुभयो । फोहोरको ढङ्गुरमा उभिएर म सभ्यताको गीत कसरी गाउँ ? भनेर पनि कविता लेख्नु शर्माले कवि न्यौपानेलाई सुझाव दिनुभयो ।