साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

‘लभ इन जरूसेलम’को विमोचन सम्पन्न

Chovar Blues Mobile Size


साहित्यकार कल्पना खरेलले लेख्नु भएको उपन्यास “लभ इन जेरूसेलम” को इजरायली राजदूत हनन् गोडरको उपस्थितिमा नेपालका विशिष्ट व्यक्तित्वहरूले विमोचन गर्नुभयो । उपन्यासले दिएको महत्त्वपूर्ण सन्देशलाई देश विदेशमा व्यापक बनाउनु पर्ने कुरा विमोचनका अवसरमा जोड दिइएको थियो ।

प्रज्ञा प्रतिष्ठानको सभा भवनमा सम्पन्न कार्यक्रममा उपन्यासका बारेमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाल र इजरायलबीचको सम्बन्धलाई मजबुत बनाउने यो उपन्यासले एक ईंटा थपेको बताउनुभयो । आफूले इजरायलको भ्रमण गरेयता दुई देशका साहित्यकार बीचको सम्बन्ध मजबुत बन्दै गएको कुरा स्मरण गर्दै यस्तो महत्त्वपूर्ण उपन्यास जनतासमक्ष ल्याउन सफल हुनु भएकोमा लेखिकालाई बधाई दिनु भयो ।

यस गरी इजरायली राजदूत हनन् गोडरले उपन्यास बजारमा आएको खबरले आफू हर्षित भएको र लेखिकालाई बधाई दिएको कुरा व्यक्त गर्दै नेपाल र इजरायलको मित्रतालाई यस उपन्यासले मजबुत पारेको बताउनु भयो ।

उपन्यासका विषयमा प्राज्ञ बाबा बस्नेत र प्राध्यापक सुनिल अधिकारीले जानकारी गराउनु भएको थियो । सोही अवसरमा प्रज्ञा माया ठकुरी, दीप शाह लगायतले पनि लेखिका खरेललाई महत्त्वपूर्ण उपन्यास लेखेको बधाई दिनु भएको थियो ।

कार्यक्रममा कल्पना खरेलद्वारा लिखित ‘रानी तलाउ’को पनि लोकार्पण गरिएको थियो । सोही अवसरमा उपन्यासकार खरेलले आफूले लेखेको उपन्यासको सवर्त्र चर्चा परिचर्चा भएकोमा खुसी लागेको बताउनुभयो । यसले आफूलाई अझ अगाडि बढेर सृजना गर्ने हौसला मिलेको उहाँले बताउनु भयो ।

कार्यक्रमामा प्राडा गार्गी शर्मा, हिरण्यकुमारी पाठक, मोहन सिटौला, उपन्यासकार समाजका अध्यक्ष शंकर भारती, समालोचक प्रमोद प्रधान, वरिष्ठ साहित्यकार युवराज नयाँघरे, वरिष्ठ पत्रकार गोपालप्रसाद थपलिया, डा. रेणुका सोलु, मानव अधिकार आयोगका मुरारी खरेल र विभिन्न संघसंस्थाका प्रबुध्द विद्वानको उपस्थिति रहेको थियो । कार्यकम पैरवी बुक हाउसका अध्यक्ष चन्द्र शिवाकोटीको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
Loading...