
कवि मोती चाम्लिङको कविता सङ्ग्रह ‘प्रवास, बुकी र बास्ना’ बजारमा आएको छ ।
ललितपुरको झम्सिखेलस्थित पोर्क हब एन्ड मोन्स्क बारमा आयोजित एक कार्यक्रममा कवि श्रवण मुकारुङ, हाङयुग अज्ञात, अनुपमा रेग्मी, धर्मेन्द्र नेम्वाङ, गुरुङ सुशान्तलगायतले कवितासङ्ग्रह सार्वजनिक गर्नुभयो ।
कवि श्रवण मुकारुङले हरेक युगका कवि र कविताको आफ्नै महत्त्व हुने बताउँदै चाम्लिङका कविताले आजको समयलाई सही सम्बोधन गरेको धारणा राख्नुभयो ।
कवि हाङयुग अज्ञातले कविता कविको जीवनयात्रा र जगतप्रतिको बुझाइ भएकाले कविलाई बुझे कविता पनि बुझ्न सकिने बताउनुभयो ।
कार्यक्रममा समीक्षक गुरुङ सुशान्तले चाम्लिङका कविता सरल, सहज तथा पहिचानमुखर भएको धारणा व्यक्त गर्नुभयो । ‘विश्वदृष्टिको आधारमा नै कुनै पनि कविले उत्कृष्ट सिर्जना गर्न सक्छ । त्यो विश्वदृष्टि बनाउन सक्नु नै सिर्जनात्मक सामर्थ्य हो,’ सुशान्तले भन्नुभयो।
समीक्षक अनुपमा रेग्मीले सङ्ग्रहका कविताले राजनीतिक विसंगतिलाई सरल शब्द/शैलीमा प्रस्तुत गरेको बताउनुभयो ।
कवि धर्मेन्द्र नेम्वाङले भने कविले देखाउने सपनाको आधारमा नै राजनीतिक तथा सामाजिक परिवर्तन भएको स्मरण गराउनुभयो । ‘नेपाली कविताले पनि समाजवादी चिन्तनमा नयाँ बाटो देखाउनुपर्ने बेला आएको छ । जसरी हिजो युरोपको पुनर्जागरणमा कवि–लेखकको योगदान थियो,’ नेम्वाङको भनाइ थियो ।
पाँचथर मिक्लाजुङ गाउँपालिकाको सिक्तेम्बामा जन्मनु भएका कवि मोती चाम्लिङको यो पहिलो कवितासङ्ग्रह हो । ३४ वटा कविता रहेको यो सङ्ग्रह ‘इन्डिगो इन्क’ले प्रकाशन गरेको हो । पुस्तकको मूल्य २ सय ४९ रुपैयाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

