उपन्यास समाज नेपाल र स्रष्टा साँझ अमेरिकाद्वारा संयुक्त रुपमा आयोजित एक कार्यक्रमा स्रष्टा साँझ अमेरिका २०७९ साहित्य संग्रह हालै विमोचन गरियो ।
साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष नरेन्द्रराज शर्मालेसँगै अन्य अतिथिहरूले संयुक्त रूपमा विमोचन गर्नुभएको सो कार्यक्रममा विभिन्न साहित्यकार, स्रष्टा तथा पत्रकारको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि शर्माले संस्थाहरू धेरै खुलेर झगडा पर्ने स्थिति भएकाले हामीले विभिन्न संस्था मिलाउने काम नभै लेख्ने काममा जोड दिनुपर्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा स्रष्टा साँझ अमेरिकाका अध्यक्ष प्रभात दीक्षितले अमेरिकामा रहेका नेपालीहरूले बेलुकी बसेर कालो चिया खाँदै रचनाहरू सुनाउने सन्दर्भमा स्रष्टा साँझ अमेरिका जन्मिएको स्मरण गर्नुभयो ।
उहाँले स्रष्टा साँझ कसैसँग प्रतिस्पर्धा नगर्ने सिद्धान्तबाट अगाडि बढेकाले सफल भएको तथा सबैलाई समेट्ने ढंगले अघि बढेकाले कार्यक्रम सफल भएको बताउनु भयो ।
वरिष्ठ साहित्यकार तथा लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले एक वर्षमा झण्डै १ सय १७ वटा कार्यक्रम गरेर स्रष्टा साँझले अनुकरणीय काम गरेको बताउँदै संस्थाले विभाजित भएर रहेका स्रष्टालाई जोड्ने काम गरेको पनि बताउनु भयो ।
वरिष्ठ साहित्यकार राधेश्याम लेकालीले विमोचनका नाममा विकृति भित्रिएको भन्दै उपन्यास समाज र स्रष्टा साँझले विमोचनमा सहयोग गरेर विकृति हटाउन मद्दत गरेको बताउनु भयो ।
अनेसासका पूर्व अध्यक्ष एवम् वरिष्ठ साहित्यकार मोहन सिटौलाले स्रष्टा साँझ जस्तो छिटो संसारभरि फैलिएको कार्यक्रम अन्य नभएको बताउनु भयो ।
वरिष्ठ साहित्यकार विष्णुबहादुर सिंहले यसलाई अब सानो घेराबाट अझ ठूलो र फराकिलो बनाउनुपर्ने बताउनु भयो ।
चेतनाथ धमलाले सञ्चालन गर्नु भएको कार्यक्रमका सभापति तथा नेपाल उपन्यास समाजका अध्यक्ष शंकर भारतीले समाज उपन्यास विकासको लागि गठित नेपालको पहिलो संस्था भएको र स्रष्टा साँझसँग मिलेर स्रष्टाहरूको उत्थानमा लागिपर्ने बताउनु भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।