‘अभिव्यक्तिः दुई महिने सामान्य साहित्यक पत्रिका’को २१५ औं पूर्णाङ्क (असार-साउन २०७९) नयाँ कलेवरमा प्रकाशित भएको छ । पाँच दशकदेखि निरन्तर प्रकाशन भइरहेको ‘अभिव्यक्ति’को यो अङ्क साहित्यकार पवन आलोको प्रधान सम्पादकत्वमा प्रकाशित भएको हो ।

संस्थापक तथा संरक्षक नगरेन्द्रराज शर्मा तथा प्रधानसम्पादक पवन आलोक रहनुभएको ‘अभिव्यक्ति’मा हाल श्रीओम श्रेष्ठ ‘रोदन’ सल्लाहकारको भूमिकामा रहेका छन् । त्यस्तै, कार्यकारी सम्पादकमा देवकी तिमिल्सिना रहेका छन् भने प्रणयराज घिमिरे र ओपलराज घिमिरे सम्पादक छन् ।

पत्रिकाको २११ औँ अङ्कबाट संस्थापक प्रधानसम्पादक नगेन्द्रराज शर्माले सम्पादनको जिम्मेवारीबाट विश्राम लिएपछि २१२ औँ अङ्कबाट साहित्यकार पवन आलोकले प्रधानसम्पादकको जिम्मेवारी सम्हालेका हुन् ।

पछिल्लो समय भाषा साहित्यकै क्षेत्रमा काम गरिरहेको इपत्रिका साहित्यपोस्टले ‘अभिव्यक्ति’सँग सहकार्य गरिरहेको छ ।

===

पढ्नुहोस्, ‘अभिव्यक्ति’को पूर्णाङ्क २१५ को सम्पादकीय;

पुरस्कार र सम्मानका दृष्टिले अन्य क्षेत्रका तुलनामा भाषासाहित्य क्षेत्रमा नै बढी भएको मानिन्छ । स्रष्टाहरुको सम्मानका लागि निजी क्षेत्रबाट स्थापना गरिएका पुरस्कारहरु आर्थिकरुपले पनि राम्रै मानिन्छ । एक रुपियाँको अभियान ? पुरस्कारदेखि पाँच लाखसम्म पुरस्कार हुनु साहित्यिक क्षेत्रका लागि सुखद बनेको छ ।

कुनै पनि विषयमा हुने सङ्ख्यात्मक वृद्धिसँगै विकृतिहरु पनि बढ्ने गरेको देखिन्छ । नेपाली साहित्यमा पनि विभिन्न प्रकारका विकृतिहरु बढ्दै गएका देखिन्छन् । खर्च गरेर अर्चनाका ठेली छपाउने प्रवृत्ति, पुरस्कारका लागि स्रष्टाको खोजी गर्नुपर्नेमा स्रष्टा नै संस्था धाउने प्रवृत्ति, इच्छाअनुसारको उपाधि प्रदान गर्नेजस्ता अनेक विसङ्गतिका समाचार समयसमयमा आउने गरेका छन् ।

साहित्य भनेको साधनाको क्षेत्र हो । यो खेलकुद प्रतियोगिताको जस्तो छिटै परिणाम दिने क्षेत्र होइन । साहित्यमा हतार गरेर कहीँ पनि पुगिँदैन । नवधनाढ्यहरुले जति हल्ला गरेर प्रचारप्रसार गरे पनि टिकाउ हुनसकेको देखिँदैन । यो धैर्यपूर्वक साधना गरिरहनसक्नेहरुको मात्र क्षेत्र हो भन्ने देखाएको छ । तर अहिले केही समयदेखि साहित्यमा हास्यास्पद उपाधि दिने लहडजस्तै चल्न थालेको छ । यस्ता सम्मान र उपाधिहरुलाई समाजले अनुमोदन नगरुन्जेलसम्म त्यसको कुनै अर्थ र औचित्य पनि हुँदैन । प्रचारका लागि गरिने यस्ता उपाधिहरु कोठामा सजाउने सामग्रीभन्दा अर्को कामको हुनैसक्दैन । लक्ष्मीप्रसाद देवकोटालाई महाकविको उपाधि राज्यले वा कुनै संघ संस्थाले दिएको होइन । जानकारीमा आएअनुसार पहिलोपटक समालोचक डा. ईश्वर बरालले देवकोटा बनारस जाने सन्दर्भमा महाकवि लेखेका थिए । त्यसैलाई समाजले अनुमोदन गरेकाले आजसम्म कसैबाट विरोध वा टिप्पणी भएको पाइएको छैन ।

हालै पोखरामा एक लेखकलार्ई छ लाख नगद राशिसहित बाह्रवटा संस्थाले बाह्रैवटा उपाधि दिएपछि सर्वत्र यसको विरोध भएको छ । व्यक्तिका लागि महान् उपलब्धिजस्तो भए पनि यो भाषासाहित्य क्षेत्रमाथि गरिएको ठुलो व्यङ्ग्य भएको छ ।

कविता, गीत, गजल, हाइकु, मुक्तक, छेस्का, ताङ्का लेख्ने देशभक्तसिंह कुवँरलाई शब्दसम्राट/वाङ्मयसम्राट/लेखकसम्राट/दिव्यगायक/बहुुआयामिक व्यक्तित्व/सङ्गीत मणिरत्न/युगसञ्चारमणि/महासाहित्यकार/दुर्लभ महामानवजस्ता गौरवशाली उपाधिहरुले विभूषित गरिएको छ । त्यसो त कवि कुवँरले डेढ घण्टामा ‘सेतो संसार’ नामक मुक्तकसङ्ग्रह तयार गरिएको पनि भनिएको छ । त्यसैका आधारमा उनले अद्भुत क्षमताको भनेर वि.सं. २०७५ मा अलौकिककविको उपाधि पाइसकेका रहेछन् । एकसयभन्दा बढी संस्थाको समर्थनमा पोखराका तत्कालीन महानगरपालिकाका मेयरले सो उपाधि दिइएको रहेछ । केही समयअघि चितवनमा पनि उनलाई साहित्यिक राष्ट्रनायकको उपाधि दिइएको रहेछ ।

योगदान र मूल्याङ्कनलाई आधार नमानिएपछि जसले जसलाई जुन उपाधि पनि दिन पाइन्छ । यो एकप्रकारको स्वतन्त्रताको पनि कुरा हुनसक्ला । यति लज्जास्पद नभए पनि विभिन्न समयमा विभिन्न संस्थाहरुले अनेका प्रकारका उपाधि प्रदान गरिरहेका छन् । यसको भित्री स्वार्थ जसको जे जे भए पनि साहित्यिक क्षेत्रमा यस्ता मजाक हुने गरेका छन् । त्यस्ता उपाधिका केही आधार भए तापनि अधिकार हो कि होइन ? यो भने गम्भीर प्रश्न बनेको छ । यस मामलामा कवि कुवँर भाग्यमानीजस्तै देखिए पनि साहित्यिक क्षेत्रका लागि भने कुनै पनि दृष्टिले सुपाच्य देखिँदैन । सिर्जना र योगदानको अलिकति पनि आधार देखाइएको छैन । यदि सामाजिकरुपमा पनि अनुमोदन हुने गरी एकै व्यक्तिले यति धेरै उपाधि पाउने नेपाली त नेपालको लागि मात्र नभएर विश्वकै एकमात्र साहित्यकार हुने कुरामा पनि कुनै शङ्का रहँदैन । त्यस्तै ठानेर कतै कविले गिनिज बुक अफ वल्ड रेकर्डसका लागि पहल गरिरहेका त छैनन् ? होइन भने यस्ता उपाधि साहित्यिक क्षेत्रका लागि गाईजात्रामा मञ्चन गरिने हास्यव्यङ्ग्य प्रहसनभन्दा अरु केही हुने छैनन् ।
कविजीका एकसय आठ पुस्तक प्रकाशनकोे तयारीमा भएको पनि जानकारी गराएा छन् । यी सबै पुस्तकका एकैसाथ विमोचन गरेर अर्को पनि कीर्तिमान कायम गर्न खोजिएको पो देखिन्छ । साहित्यमा कीर्तिमान कायम गरिरहन खोज्ने कविको रुचिजस्तै देखिन्छ । त्योभन्दा अनौठो कविले आफ्ना सिर्जना नेपाली साहित्य र समाजका लागि भन्दा बुबाका लागि गर्दारहेछन् । उनले पाएका उपाधिहरु पनि सिर्जनाका कारण नभएर बुबाको इच्छा पूरा गर्न लिएको कवि स्वयम्ले स्वीकार गरेका छन् । बिरामी बुबालार्ई छोराको प्रगति देखाउन साहित्यलाई माध्यम बनाएका रहेछन् । उनले भनेका पनि छन्, ‘नत्र म सम्मान लिनुपर्छ र थाप्नुपर्छ भन्ने मान्छे नै होइन ।’

यसरी बुबाको इच्छा पूरा गराइदिने सङ्घ संस्थाहरुले पनि आफूलाई धन्य नै ठानेको हुनुपर्छ । नत्र अङ्ग्रेजी प्रौढ साक्षरता अभियान चलाउने संस्था इन्ल्याक नेपाल, त्यसका काठमाडौँ र पोखरा शाखा, सनलाइट मिडिया ट्रेनिङ सेन्टर, कारावी फाइनान्सियल एजेन्सी, काविन ग्राफिक सोलुसन, श्री ऐतिहासिक कुवँर तथा राणा सांस्कृतिक समाजजस्ता भाषासाहित्यसँग कुनै साइनो नभएका संस्थाहरु किन जुरमुराउँथे होलान् । त्यसो त उन्नतिशील वाङ्मय प्रतिष्ठान, वैदाम वाङ्मय प्रतिष्ठान, रुपाङ्कन साहित्य परिवार, श्रीवृद्धि साहित्य परिवार र माछापुच्छ्रे सांस्कृतिक परिवारले पनि उपाधि अभियानमा जोडिएका छन् ।

एकजना कविलाई एक दर्जन संस्थाले एकै दिन एक दर्जन नै उच्च उपाधिहरुले विभूषित गरेको समाचार आउनासाथ साहित्यिक क्षेत्रमा निकै टिकाटिप्पणी भएको छ । सामाजिक सञ्जालहरुमा हुनसम्मको व्यङ्ग्य गरिएको छ । यसरी जथाभावी किसिमले दिइएका उपाधिहरुले भाषासाहित्य क्षेत्रको ठुलो अपमान भएको छ । उपाधिहरुको पनि हुनसम्मको अवमूल्यन भएको छ । यस क्षेत्रकाहरुका लागि लाजमर्दो भएको छ ।

भाषासाहित्यको इतिहास र गरिमाको पूर्ण उपेक्षा भएको छ । यसरी जग हँसाउने गरेर उपाधि लिने लेखक र दिने संस्थाहरुको लज्जास्पद कार्यप्रति घोर आपत्ति जनाउँदै साहित्यमा भएका यस्ता विकृतिप्रति सबै स्रष्टा र साहित्यिक संस्थाहरु सचेत हनु जरुरी भएको छ ।