उपराष्ट्रपति नन्दबहादुर पुनले एक समारोहका बीच उपराष्ट्रपति कार्यालयमा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको ‘मधेशको माटो म’ पुस्तक लोकार्पण गर्नुभयो ।

कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले मान्छेको जीवन जस्तै राष्ट्रको जीवनमा पनि अप्रत्याशित, आश्चर्यचकित मोडहरू आउने र त्यसले सकारात्मक मोड ल्याउने भन्दै नेपाल राष्ट्रको जीवनमा पनि गणतन्त्र आउनु कसैले नसोचेको आश्चर्यचकित र अप्रत्याशित मोड हो भन्नुभयो । कार्यक्रममा उहाँले गणतन्त्रको प्रथम उपहार मधेशकै माटोले पाएको भन्दै गणतन्त्रपछि मधेशको माटोले राष्ट्रपति र उपराष्ट्रपति उपहार पाएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी मन्त्री मृगेन्द्रकुमार सिंहले उपराष्ट्रपति झाको पुस्तकले पहिचानको मुद्दालाई अझ बढावा दिएको बताउनु भयो । मधेश गौरव गर्नुपर्ने माटो भए पनि मधेशले एकै भाषा, एकै संस्कृतिको दबाबका कारण अझै मधेश पहिचानको सवालमा संघर्ष गरिरहेको बताउनु भयो ।

कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधीशद्वय गिरिशचन्द्रलाल र शारदा श्रेष्ठले मधेश पनि देशभित्रकै अंग भएकाले राज्यले समान ढंगले व्यवहार गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम राष्ट्रिय समाचार समिति धर्मेन्द्र झाले भावनाका तरंगहरू मधेशको भावनामै मात्र भएको त्यो भाव उम्लन नदिन राज्यले गर्नुपर्ने कर्तव्यहरू धेरै भएको बताउनु भएका थियो ।

पुस्तकको समीक्षा गर्दै समीक्षक उद्धवप्रसाद भट्टराईले लेखक झाले लेखेको पुस्तकले आफू जन्मेको माटोको सगौरव व्याख्या गरेको र माटो प्रेमको पुस्तक भएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टीका नेता डाक्टर सुरेन्द्र कुमार झाले संविधानमा बहुल पक्षलाई प्रधानता दिएको भए पनि व्यवहारमा त्यस्तो नभएकाले नै मधेशका धेरै मुद्दाको माग अझै नसकिएको बताउनु भयो । पुस्तकले यो कुरालाई थप बल दिने उहाँको भनाइ थियो ।

लेखनकुन्जका अध्यक्ष कमल ढकालले आफूहरूले हरेक मान्छे पुस्तक हो भन्दै साहित्यमा सिर्जनशीलता खोजी गर्दै दशौँ हजार पुस्तक लेखी राज्यलाई बुझाउन आफूहरू दत्तचित्त भएको बताउनुभयो ।

कार्यक्रममा धन्यवाद ज्ञापन र लेखकीय मन्तव्यबारे बोल्दै पूर्व उपराष्ट्रपति परमानन्द झाले आफूले जीवनमा भोगेको धेरै कुराहरू पुस्तकमा आए पनि अझै लेख्ने क्रममा धेरै कुरा छुटेको बताउनु भयो ।

राष्ट्रपति विद्या भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको सन्दर्भमा आएको “मधेशको माटो म” कार्यक्रममा सो कार्यको पनि विरोध गरिएको थियो ।