युकेको अल्डरसुटमा विश्वास दीप तिगेलाद्वारा लिखित ह्वाइ चाइना इज नट रिप्लेसिङ अमेरिका पुस्तक गत साउन ३० गते विमोचन गरियो ।

युकेको लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले एक समारोहबीच सो पुस्तकको विमोचन गर्नुभयो । क्यान्टवरी यूनिभर्सिटीबाट राजनीशास्त्रमा डिग्री र अन्तर्राष्ट्रिय सम्बन्धमा माष्टर्स डिग्री गरेका तिगेलाले माष्टर्स डिग्रीको निमित्त तयार गरी बुझाएको शोधपत्रलाई नै पुस्तकको रुपमा इण्डिपेन्डेन पब्लिकेशन युकेले प्रकाशन गरेको हो ।

चाइनालाई घेर्ने पश्चिमा रणनीति जारी रहेको बखत तिगेलाले चाइनाको तिब्बेत समस्या, सिंज्याङ प्रान्तको उहिगुर मुस्लिमहरू माथिको दमन, ताइवान समस्या, हङकङ समस्या र दक्षिण चीनको सामुन्द्रिक झगडाको बारेमा पर्गेलेका छन् भने विश्वलाई प्रभाव पार्ने चिनियाँ परियोजना वेल्ट एण्ड रोड इनिसिटिभ, विश्व बैंक र आईएमएफ मार्फत जारी पश्चिमाहरूको प्रभावलाई निस्तेज गर्न बनेको व्रिक्स एलायन्स, चीन र रसिया बीचको सैनिक हतियार विकासमा भएको दुई देशको सम्झौता र प्रगति, चिनियाँ सरकारको राजनैतिक संरचना, चिनियाँ कम्युनिष्ट प्रणालीको प्रकृति, चिनियाँ सरकारले चीनका आदिवासी जनजातिहरूलाई दिने हक अधिकार र सेवासुविधा, चिनियाँ राजनैतिक पिता माउत्सेतुङ, चिनियाँ अर्थतन्त्रका पिता देङ स्याओपिङ र हालका राष्ट्रपति सि जिङपिङले प्रतिपादन गरिएको भनिएको चिनियाँ विशेषताको समाजवादको बारेमा लेखक तिगेलाले समेटेका छन् ।

माउत्से तुङले शक्ति बन्दुकको नालबाट निस्कन्छ भनेका थिए तर त्यसको ठिक विपरीत चिनियाँ शक्ति सावल र सिमेन्टबाट निस्किएको टिप्पणी गरेका छन् । संरचना निर्माण गर्ने शक्तिकै कारण सिंगो अफ्रिका, ल्याटिन अमेरिका र आँशिक एशिया चीनको पछि लागेका छन् तथापि चीनको प्रभाव रोक्न र सीमित भूमिकामा राख्न अमेरिका लगायत सिंगो पश्चिमा लगायत फाइभ आई मुलुकहरु हरसम्भव तिकडम गरिरहेको अवस्था एकातिर छ भने अर्कोतिर अरु देशको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने जस्ता एक्लोपने चिनियाँ परराष्ट्र नीतिका कारण अहिले नै चीनले अमेरिकाको अन्तराष्ट्र्रिय भूमिकालाई प्रतिस्थापन गर्न नसक्ने तिगेलाको निर्क्योल छ तर केही समय पछाडि भने सो सम्भवलाई नकार्न नसकिने तिगेलाको टिप्पणी छ ।

लेखक तिगेलाले सो समारोहमा अन्य मुलुकमा आदिवासी जनजातिहरुको हकअधिकारलाई कसरी संवैधानिक रुपबाट सुरक्षित र ब्यवस्थित गरिएको छ भन्ने बारेमा चीन, क्यानडा र भारतको ब्यवस्था बारेमा प्रिजेन्टेशन गरेका थिए । नेफिन युकेका अध्यक्ष कर्म पहाडीको अध्यक्षतामा भएको कार्यक्रमलाई नेफिन महासचिव विमला सेनेले संचालन गरेकी थिइन् ।