काठमाडौं / अपरिचित मान्छेलाई विश्वास गर्नु हुँदैन भनेर चेतना जगाउने बाल चित्रपुस्तक कथालय इन्कले प्रकाशन गरेको छ । ‘नचिनेको मान्छेसँग जाँदिनँ’ चित्रकथाकी लेखक डाग्मा ग्याइस्लर हुन् । यो कथामा उनी आफैँले चित्र बनाएकी छन् ।
जर्मनी लेखक ग्याइस्लरको यो कथालाई नेपालीमा कथालयकी कार्यकारी अधिकृत सुनिती अमात्यले अनुवाद गरेकी हुन् ।
यो साराको कथा हो । उनलाई आमाबाबाले चिनेका मान्छेको मात्रै विश्वास गर्नु भनेका हुन्छन् । एक दिन स्कुल छुट्टी भएपछि उनी कसैको पर्खाइमा हुन्छिन् । विभिन्न महिला/पुरुषहरू सारालाई ‘आऊ म घर पुर्याइदिन्छु’ भनेर आग्रह गर्छन् तर उनी मान्दिनन् । छिमेककै काकीसँग पनि उनी जान मान्दिनन् । बरु भिजेरै बस्छिन् । किनभने साराका आमाबाबाले केही मानिसको सूची बनाएका छन् । सूचीमा भएका मानिसले मात्रै सारालाई स्कुल छुट्टी भएपछि घर लिएर जान सक्छन् । उनलाई फकाउने मानिसहरूबारे साराको मनमा के खेल्छ ? के सारालाई लिन सूचीमा भएकै मान्छे आउलान् कि ? यस्तै जिज्ञासाले भरिएको तथा सूचनामूलक कथा निकै रोचक छ ।
बालबालिकामा आत्मविश्वास जगाउनुका साथै यो कथाले बालमनोविज्ञानलाई पनि कलात्मक ढंगले समेटेको छ ।
लेखक तथा चित्रकार ग्याइस्लरको जन्म १९५८ मा भएको हो । १९८४ मा स्नातक सकेर उनले विभिन्न प्रकाशन गृहमा ग्राफिक डिजाइननिङ र चित्रकारको रूपमा काम गरिन् । १९८७ मा आफ्नो पहिलो बाल पुस्तकमा चित्र बनाएकी उनी हालसम्म बाल पुस्तकका साथै कमिकमा पनि चित्रकारका रूपमा सक्रिय छिन् ।
उनका सचित्र पुस्तकले संवेदनशील मुद्दाको पनि उठान गर्छन्, जस्तो ‘नचिनेको मान्छेसँग जाँदिनँ’ । यसका साथै शैक्षिक चेतना र उत्साहलाई पनि उनले आफ्ना कथामा जोड दिन्छिन् । उनको ‘माई बडी बिलङ्स टु मी फ्रम माई हेड टु टोज’ र ‘माई फिलिङ्स एन्ड मी’ ले जर्मन मेडिकल वुमन्स एसोसिएसनबाट सिल्भर फेदर चिल्ड्रेन्स बुक पुरस्कार प्राप्त गरेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।