नगेन आर्ट एकेडेमी र विश्व हिन्दु युवासंघको संयुक्त आयोजनामा युवा कलाकार नगेन सिंह ठकुरीको एकल कला प्रदर्शनी पोखरामा शुरु भएको छ।

गाईजात्राको दिनदेखि शुरु भएको उक्त प्रदर्शनीमा ठकुरीका २१ थान कलाकृति प्रदर्शनीमा राखिएका छन । नेपाली राष्ट्रिय जनावर गाईको महत्त्व र महिमालाई थप उजागर गर्ने हेतुले सो प्रदर्शनीको आयोजना गरिएको कलाकार ठकुरीले बताउनुभयो।

गाईलाई विभिन्न स्वरुप र हाउभाउमा प्रस्तुत गरिएका ती कलाकृति अल्कोहल ईंक मार्करबाट सृजना गरिएका छन्। अल्कोहल ईंक कला निर्माणको एउटा माध्यय हो जुन नेपालको सन्दर्भमा नितान्त नौलो प्रगोग हो।

वरिष्ठक लाकार हरेराम जोजुबाट केही समय अक्कोहल ईंकको प्रयोग गर्ने तरिका सिकेका ठकुरीका प्रदर्शित कलाकृतिहरू शीर्षक, माध्यम र प्रस्तुतिका हिसाबले नितान्त नौलो र पृथक् प्रकृतिका लाग्छन् तर चित्रका आकार साना र प्राथमिक रङको अधिक प्रयोगले चित्रहरूको ओज कम भए जस्तो भान हुन्छ । यद्यपि प्रदर्शनीमा राखिएका अधिकांश चित्रहरू सरल र सबैले सजिलै बुझ्ने खालका बनेका छन्। अझ छोटकरीमा भन्दा प्रदर्शनीमा राखिएका कलाकृतिहरू गाईजस्तै सरल र बहुउपयोगी खालका छन्।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व सभा सदस्य एवं कला विषयमा स्नातकोत्तर ठकुरीको यो ११ औँ एकल कला प्रदर्शनी हो। प्रदर्शनी भदौ ६ गतेसम्म जारी रहने बताइएको छ ।