काठमाडौँ / हरेक शनिबार प्रसारण हुँदै आएको ‘साहित्यवार्ता : स्रष्टा र सिर्जना’ को पाचौँ शृंखलामा कवि शान्ति प्रियवन्दना र नियात्राकार भवानी खतिवडा आउनुहुने भएको छ । साहित्यपोस्ट उत्तम काव्य पुरस्कार र साहित्यपोस्ट उत्तम कृति पुरस्कारमा छनोट भएका दुवैजना स्रष्टासँग आगामी शनिबार (भदौ ४ गते) साहित्यवार्ता हुने छ ।

उक्त कार्यक्रम साहित्यपोस्टको फेसबुक पेज तथा युटुब च्यानलमार्फत हरेक शनिबार नेपाली समय साँझ ८ बजेदेखि प्रत्यक्ष प्रसारण हुँदै आएको छ ।

कवि शान्ति प्रियवन्दना वि.सं. २०३६ साल वैशाख १ गते मकवानपुरको भीमफेदी— ४ मा जन्मनुभएको हो । माता मैना सुवेदी र पिता बैकुण्ठ सुवेदीका जेठो सन्तानको रुपमा उहाँको जन्म भएको हो ।

हाल हेटौंडा उपमहानगरपालिका— ४, मकवानपुरमा रहेर उहाँले कविताका अलावा निबन्ध र अखबारी लेखनमा कलम चलाउँदै आउनुभएको छ । उहाँले पहिलोपल्ट कक्षा ६–७ मा पढ्ने बेला साहित्य लेखनको थालनी गर्नुभएको थियो । वि.सं. २०५४ सालमा हेटौंडाकै नवजीवनज्योति क्लबको स्मारिकामा ‘कसम नखाउ’ शीर्षकको कविता नै उहाँको पहिलो प्रकाशित कविता हो ।

लेखनबाहेक विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध रहेरसमेत काम गर्दै आउनुभएकी प्रियवन्दनाले स्नातकोत्तर तहसम्मको औपचारिक शिक्षा आर्जन गर्नुभएको छ ।

उहाँका हाल ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’ नामक कविता संग्रह (२०७८) प्रकाशित छ । उहाँ तुलसीमाया शिवकुमारी स्मृति सृर्जनशील नारी पुरस्कार २०७५, सुशीला दङ्गाल स्मृति सृर्जनशील नारी सम्मान २०७८, शान्तिदेवी स्मृति वनस्खण्डी साहित्य सम्मान २०७८, साहित्य पोस्ट उत्तम काव्य पुरस्कार २०७८ (घोषणा भएको) लगायत सम्मान/पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

यस शृंखलाका अर्का पाहुना भवानी खतिवडा मूलतः छन्दकवि र नियात्राकारका रुपमा नेपाली साहित्यमा चिनिनुहुन्छ । उदयपुरको नेपालटारमा २०३० साल असार १२ गते उहाँको जन्म भएको थियो । माता अम्बिकादेवी खतिवडा र पिता डिल्लीप्रसाद खतिवडाका बाह्रजना सन्तानमध्ये उहाँ आठौँ सन्तानका रुपमा जन्मनुभएको हो ।

हाल काठमाडौँमा रहेर साहित्य साधनामा लागिरहनुभएका खतिवडा पेशाले निजामती सेवामा समर्पित हुनुहुन्छ । किशोरावस्थादेखि नै साहित्यप्रति आकृष्ट स्रष्टा खतिवडाको पहिलो रचना वि.सं. २०६६ सालमा गोरखापत्रमा प्रकाशित भएको थियो । उहाँको नियात्रा कृति ‘घामभन्दा पहिले’ २०७८ सालमा प्रकाशित छ ।

औपचारिक रुपमा उहाँले कृषि डिप्लोमा, बी.एड., एम.ए., तथा कानुनमा स्नातकसम्मको अध्ययन गर्नुभएको छ । केही पेशागत तथा साहित्यिक संघ–संगठनमा रहेर समेत काम गर्नुभएको उहाँले लक्ष्मीप्रसाद देवकोटा काव्यिक पुरस्कार २०७७, छन्द अलङ्कार पुरस्कार, लायन्स क्लब अफ वाङ्मय सम्मान २०७७, साहित्य पोस्ट उत्तम कृति पुरस्कार (घोषणा भएको) लगायत पुरस्कार/सम्मान प्राप्त गर्नुभएको छ ।

कार्यक्रमको यस श्रृंखलामा दुवै स्रष्टासँग साहित्य लेखन यात्रा, सिर्जनात्मक अनुभव तथा नेपाली साहित्यका विविध पाटोमा केन्द्रित रहेर कुराकानी गरिने कार्यक्रम संयोजक तथा कवि/चित्रकार जीवित खड्का मगरले बताउनुभयो ।

साहित्यपोस्टका युएई संयोजक समेत रहनु भएका कवि डि जि शर्माले युएईबाट कार्यक्रम सञ्चालन गर्नुहुनेछ ।