वरिष्ठ पत्रकार भैरव रिसालको पछिल्लो पुस्तक ‘छानिएका रचना’ शनिबार लोर्कापण गरियो ।
पत्रकार रिसालको ९५ औं जन्म दिनको अवसर पारेर राजधानीमा आयोजित कार्यक्रममा लेखक रिसालसहित डा. गौरीशंकर लाल दास, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र डा. गोविन्द सार्की नेपालीले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नुभयो ।
पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै डा गौरीशंकर लाल दासले पाको उमेर सरल बनाउन आफ्नो क्षेत्रमा सक्रियता कायमै राख्नु पर्ने बताउनुभयो । उहाँले पत्रकार रिसालको यो उमेरमा पनि लोभलाग्दो सक्रियता रहेको बताउँदै पाको उमेरको सक्रियताले बुढेशकालको जीवन पनि सरल हुने भन्नुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले पनि पत्रकार रिसालको सक्रियताको प्रशंसा गर्नुभयो ।
कार्यक्रमका सभापति डा. गोविन्द सार्की नेपालीले रिसालले शुरु गर्नुभएको ‘हुम्लामा उज्यालो’ कार्यक्रमका कारण रिसालसँग चिनजान भएको प्रसंग उल्लेख गर्दै उहाँसँगका हरेक भेटबाट आफूमा ऊर्जा भरिने बताउनुभयो । उहाँले विगत १० वर्षदेखि आफूले प्रत्येक महिनामा भेट गर्ने र फोन गर्ने गरेको स्मरण गर्नुभयो ।
कार्यक्रममा पुस्तकका लेखक रिसालले प्रकाशन संस्था र सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै आर्थिक लोभ भन्दा पनि नामको लोभले पुस्तक प्रकाशन गर्न प्रेरित गरेको बताउनुभयो ।
विगत दुई वर्षमा विभिन्न पत्रपत्रिकामा प्रकाशित झण्डै दुई सय लेख रचनाबाट छानेर ६५ वटा लेख समेटिएको पुस्तकका सम्पादक भरतराज पोखरेलले जानकारी गराए । पुस्तक प्रकाशन गर्ने संस्था सिमल बुक पब्लिकेसनका अध्यक्ष कमल ढकालले आगामी दिनमा पनि पत्रकार रिसालको सक्रियताको कामना गर्दै जीवनकालभरि आफ्नो प्रकाशनले पुस्तक प्रकाशन गरिदिने वचनवद्धता व्यक्त गरे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।