वीरगन्ज, साउन २८ / शनिबार पाठशाला नेपाल संस्थाले ‘पाठशालामा कवि’ भन्ने कार्यक्रम आयोजन गर्यो । चर्चित कविहरू भूपिन खड्का र निमेष निखिलले साहित्यिक जमघटबीच आफ्ना प्रख्यात कवितावाचन गर्नुभयो । केही स्थानीय कविले पनि रचना वाचनमा साथ दिनुभयो ।

‘आउ प्रिय कविहरु
यसपल्ट कवितालाई
सुन्दरताको दासताबाट मुक्त पारौं
कलाको अनन्त बन्धनबाट मुक्त पारौं
र हेरौं
कबिताको बत्ति निभेपछी
अझ कति अंध्यारो देखिँदो रहेछ दुनियाँ
अझ कति खाली हुँदो रहेछ रिक्तता ।’

कविताको विद्रोही स्वभाव हराउदै गएको भन्ने भाव बाकेको भूपिनले वाचन गरेको ‘कुरूप कविता’ खुबै रुचाइयो । कवि भुपिनले शीतलहरलाई बिम्ब बनाएर बर्णन गरिएको मधेसलाई ‘सर्दी’ कवितामा सुनाउनुभयो । उहाँले ‘खडेरी’ शीर्षकमा पनि मधेसकै अवस्था वर्णन गर्नुभयो । ‘चोरी एक तुलनात्मक अध्ययन’, ‘स्याउ बाजे’, र ‘ट्रक ड्राइभर’ शीर्षकका कविता पनि वीरगन्जका साहित्यानुरागीले रूचाउनुभयो ।

कवि निमेषले ‘मेरो कविता’बाट आफ्नो वाचन सुरु गर्नुभएको थियो । सुरुमा उहाँले वाचन गर्नुभएको ‘मेरो कविता’ले कार्यक्रमलाई औपचारिकताबाट काब्यतिर डो-याउन सफल भएको थियो ।

‘अवरोधमा उभिएका तगाराहरू छिचोलेर
उदास मनहरूमा झुल्कन्छ मेरो कविता
मझेरीदेखि माटोसम्मको यात्रामा
निराकार बुद्ध खोज्छ मेरो कविता ।’

‘सम्बोधनमा मित्र रामविश्वास’ भन्ने कविताबाट उनले मधेस पहाडको सम्बन्धलाई आफ्नो दृष्टि प्रस्तुत गर्नुभयो । ‘समय यस्तो होस्’, ‘ऐना अगाडि’, ‘स्वीकारोक्ति’ र ‘निमेष निखिल एक शब्दचित्र’ शीर्षकका कविता सुनाउनुभयो । आयोजक संस्थामा अध्यक्ष बालगोपाल थापाको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय कविहरू अनिता शाह, दिलीप कार्की, सीता अधिकारी, ध्रुव ठकुरी र पुरुषोत्तम आचार्यले पनि कवितावाचन गरे । लेखक गणेश लाठ ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख डा. उमेश चौरसियाले बोलेका थिए ।