कवि हरिशरण परियारको कविता संग्रह ‘कैंची’माथि मंगलबार पोर्चुगलको लिज्वनमा परिचर्चा भएको छ । प्रकाशन भएको केही समयमै राम्रो चर्चा बटुलेको कविता संग्रहमा पींधका मान्छेका कथा व्यथाका साथै मुक्तिका आवाजहरू कवि परियारले समेटेका छन् ।

अन्तर्राष्ट्रिय नेपाली समाज, अनेसास पोर्तुगल र पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको आयोजनामा परिचर्चा कार्यक्रम भएको हो । कविता कृतिलाई बेला प्रकाशनले प्रकाशित गरेको हो ।

‘कैंची’माथि परिचर्चा गर्दै कवि तथा अन्तर्राष्ट्रिय नेपाली समाजका महासचिव अर्जुन श्रीले नेपाली समाजमा विभेद र उत्पीडनमा पारिएका समुदायका अनेकन विषय र प्रसंगलाई बडो शालिन, सरल र मार्मिक ढंगले प्रस्तुत गरेको बताए ।

‘यो ‘कैंची’ एउटा कविताकृति मात्र नभएर नयाँ विचार दृष्टिकोण हो । विभेद र दमन विरुद्धको भद्र आन्दोलन पनि हो । हामीले हिँड्न ढिला गर्न नहुने मार्गको मार्गनिर्देशन हो,’ कार्यक्रममा मन्तव्य राख्दै श्रीले भन्नुभयो, ‘समाजको चक्रलाई सही ठाउँमा ल्याउन अनेकौं हरिशरणहरू जन्मिनुपर्छ, ‘कैँची’ जस्ता अनेकन् कृति लेखिनुपर्छ र यसलाई पढ्ने/सुन्ने र गहन मनन गर्ने हामी लाखौं पाठक तयार हुनुपर्छ ।’

अर्का वक्ता तथा अनेसास पोर्तुगलका अध्यक्ष शवी श्रेष्ठले लेख्नै पर्ने र बोल्नै पर्ने भुँईंमान्छेहरूका सवाल ‘कैंची’मा समेटिएको भन्दै नेपाली समाजका कुरुप संस्कार तोडिनु पर्ने आवश्यकता औंल्याउनुभयो ।

‘नेपाली समाजमा एक मान्छेले अर्कोलाई जसरी विभेद गर्ने र सानो देख्ने जुन कुचलन छ यस्ता सवालहरू यो किताबमा कविता बनेर आएका छन्, अब यस्ताका विरुद्ध सचेतहरू सबै बोल्नै पर्छ,’ श्रेष्ठको धारणा थियो ।

सामाजिक अभियन्ता तथा लेखक प्रकाश गजमेरले नेपाली समाजको सामाजिक कुरीतिविरुद्ध कविता संग्रह ‘कैंची’ले बुलन्द आवाज उठाएको बताउनुभयो । ‘हामीहरु २१ औं शताब्दीमा छौं तर नेपाली समाज पुरानै ढर्रामा छ । जहाँ नेपाली पुगेका छन्, त्यहाँ विभेद पुगेको छ । अब लेखेर वा बोलेर सबैले दिमाग हल्लाउने गरी आवाज उठाउनु पर्छ ।’

कवि हरिशरण परियारले आफू र आफ्नो समुदायमाथि भएको विभेदविरुद्ध कवितामार्फत विद्रोह गरेको र यसलाई सबैले रुचाई दिएको बताउँदै सचेतहरू सबैले कुरुतीको विपक्षमा बोल्नै पर्ने जिकिर गर्नुभयो । ‘हामीले जे भोगेका छौं त्यसैलाई कवितामार्फत बोल्ने प्रयास हो र सबैले यो असमानता विरुद्ध आवाज़ उठाउनै पर्छ,’ कवि परियारको धारणा थियो ।

उन्मुक्त पुस्तामार्फत जोडिएर ७० को दशकदेखि निरन्तर कविता साधनामा लागेका युवा कवि परियार लम्जुङका बासिन्दा हुनुहुन्छ । उहाँ हाल पोर्तुगलमा हुनुहुन्छ ।

परिचर्चा कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष अर्जुन घिमिरे, उपाध्यक्ष डा. स्वामी कृष्ण, प्रगतिशील नेपाली समाज युरोपका अध्यक्ष दीपेन्द्र गहतराज, नेपाली जनप्रगतिशील मोर्चा युरोपका नेता प्रदीप अधिकारी, कवि सोम अनुराग लगायतले शुभकामना मन्तव्य राख्नुभएको सो कार्यक्रमको सञ्चालन ऋतु लामाले गर्नुभएको थियो ।