साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कवि श्रवण मुकारूङको आज जन्मदिन

नेपालका प्रख्यात कवि तथा गीतकार श्रवण मुरूकाङको आज जन्मदिन हो। २०२५ जेठ २६ गते भोजपुर जिल्लाको दिल्पामा जन्मिएका मुकारूङका दुई कविता संग्रह, एउटा गीत संग्रह, एउटा नाटक संग्रह र एउटा गीतिएल्बम प्रकाशित छ।
२०६२/६३ को आन्दोलनताका स्वतन्त्र रेडियो बचाऊ आन्दोलनका लागि लेखिएको कविता ‘बिसे नगर्चीको बयान’ त्यो बेला नेपाल म्यागेजिनमा पहिलो पटक प्रकाशित भएपछि तहल्का मच्चिएको थियो। यो कविता आन्दोलनको पर्याय बन्न पुगेको थियो। कविताको लोकप्रियताका कारण उनले कविता कन्सर्टसमेत गर्नु परेको थियो। कविता कन्सर्टका कारण संसारका विभिन्न सात मुलुक भ्रमण गरेका उनले मोती युवा पुरस्कार प्राप्त गरेका छन् भने नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञसमेत रहिसकेका छन्।
उनको जीवनका दर्जनौँ रोचक प्रसंग छन्, जसमध्ये एउटा प्रसंगले उनको उज्यालो मोह प्रस्ट्याउँछ।
बालक छँदा उनी बा-आमासँग अस्थायी बासमा बसिरहेका थिए। टुकी बालेर बसिरहेका बेला उनलाई टुकीको उज्यालो यति मन पर्यो कि यो उज्यालो ठूलो हुँदा कस्तो र कत्रो हुन्छ होला भनेर अस्थायी घरमा आगो नै लगाइदिए। घर ह्वारह्वारी बल्न थालेपछि निकै रमाएका उनलाई यो घटनाप्रति विस्मात पनि लाग्ने गरेको छ।

२०६२/६३ को आन्दोलनलाई उचाइमा पुर्याउने उनको प्रख्यात कविता बिसे नगर्चीको बयान पढ्नुस्ः

मालिक !
म यो गोरखा राज्यमा
अर्ढाई सय वर्षछि बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोई मेरो पैताला कहाँनिर छ –
कहाँनिर छ बिसे नगर्ची –
मालिक !

bahulako diary small and inside post

म बौलाएँ ।
मैले त महाराजको सेवा गर्नुपर्ने
इतिहासको रक्षा गर्न
यो गोरखकालीको पाउ छोएर
नुनको सोझाो हुनुपर्ने
अर्ढाई सय वर्षछि आज के भयो मलाई –
यो बिसेलाई दशा लाग्यो मालिक !
म बौलाएँ ।
नाथे मेरी स्वास्नी हो मारिएकी
नाथे मेरी छोरी न हो बलात्कृत भएकी
नाथे यो बिसेको झाुप्रो न हो जलाइएको
यत्तिमै यो बिसे उप्रिmनृुपर्ने – थुइक्क बिसे… ।
म बौलाएँ मालिक !
म बौलाएँ ।
मेरो हात भाँचियो
अब म हजुरका भारदारहरूलाई
लवेदा सिउन सक्तिनँ
नर्सिङ्गा फुक्न/सनाई बजाउन
अथवा कुनै मङ्गलगान
वा मृत्युगीत गाउन सक्तिनँ
मेरो खुट्टा भाँचियो
अब म हजुरको राज्यको पहरा गर्न सक्तिनँ
मेरो दिमागै ठीकमा छैन
अब म ठिक्कले बोल्न सक्तिन
मालिक ! म बौलाएँ ।
मालिक !
यो गोरखा राज्यअघि उभिएका
हिजोका ती अग्लाअग्ला पहाडहरू
आज कसरी यस्तरी होचाहोचा भए –
हिजोका सग्ला र कल्कलाउँदा
यहाँका मानिसहरू
आज कसरी यस्तरी खुनी र कुरुप भए –
यो दरौदी किन उल्टो बगेको देख्छु –
यो दरबारै किन खण्डहरजस्तो देख्छु –
म बौलाएँ मालिक ! म बौलाएँ ।
मालिक !
हजुरको तरबारले
टाउको काट्छ कि फूल –
भ्रममा परें म
हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे –
भ्रममा परें म
यस राज्यलाई प्रजाले बनायो कि राजाले
भ्रममा परें म
अर्ढाई सय वर्षेखि म तपाईसमक्ष छु मालिक !
म कसरी आतङ्ककारी हुनसक्छु –
म केवल बौलाएँ मालिक !
बौलाएँ ।
हो मैले मालिकको दिव्योपदेश पालन गरिनँ हुँला
रक्सी खाएर
यो देश मैले पनि आर्जेको छु भने हुँला
भानुभक्त बाजेको गीत र मेरो सियो बराबर हो भनें हुँला
मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई
मेरो नाङ्गो आङ देखाएँ हुँला
बौलाएपछि मैले मेरै भगवान्लाई पनि गाली गरें हुँला
मालिक !
मान्छे बौलाएपछि आफैंसित पनि निहँु खोज्दोरहेछ
अर्ढाई सय वर्षेखि मैले तुनेका थाङ्नामा हर्ुर्केका
मेरा दरसन्तानहरू कहाँकहाँ पुगे –
मैले खोज्न चाहें हुँला
मेरा औंलामा खोपिएका छ्यान्द्रा र
बगेका रगतहरूले मलाई उक्साए
तरबारले आर्जेको मुलुकभन्दा
मैले धागोले उनेको मुलुक विशाल ठानें हुँला
मालिक !
यस माटोको इतिहाससँगै म हजुरको
राष्ट्रमा छु
म कसरी अराष्ट्रिय हुनसक्छु –
म साँच्चै बौलाएँ मालिक !
साँच्चै बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोई मेरो पैताला कहाँनिर छ –
कहाँनिर छ बिसे नगर्ची –
मालिक ! म बौलाएँ ।

प्रतिक्रिया
Loading...