कालेबुङ/संवाद कालेबुङद्वारा आयोजना गरिएको ‘सुकुमाया प्रधान स्मृति कविता प्रतियोगिता 2020’ को फाइनल घोषणा आज गरिएको छ। संवाद कालेबुङ कार्यालयबाट कवि टीका भाई, लेखक छुदेन काविमो, राकेश क्रान्तिकारी र संवाद कालेबुङकी व्यावस्थापिका पौलिना लेप्चाको उपस्थितिबीच उक्त प्रतियोगिताको फाइल घोषणा गरिएको छ।
प्रतियोगितामा पहिलो डुवर्स बाग्राकोटका नारायण काफ्ले, दोस्रो मणिपुरका सूरज चापागाईँ र तेस्रो सिक्कीमकी रिया तामाङ भएकी छिन्। प्रतियोगिताको टपटेन अघिल्लो हप्ता घोषणा गरिएको थियो भने फेरि लेखिएका नयाँ कविताबाट फाइनल घोषणा गरिएको हो। प्रतियोगिताको निर्णायकका रूपमा पनि रहेका कवि टीका भाईले प्रतियोगिताको फलाफल घोषणा गर्दै भने, हरेकको कविता आफैँमा बलियो छ। त्यसबाट पहिलो, दोस्रो र तेस्रो छुट्याउन निकै गाह्रो थियो। यद्यपि तीनै निर्णायकहरूले दिएको अङ्क तालिकाको आधारमा पहिलो, दोस्रो र तेस्रो घोषणा गरिएको छ। अधिकांश कवितामा वर्तमान परिस्थिति देखा परेको जनाउँदै उनले कोरा कालको छायाँ धेरै जसो कवितामा देखिएको बताए। अर्कोतिर स्व. सुकुमाया प्रधानकी पविवार पक्षबाट छोरा प्रवीणचन्द्र प्रधानले प्रतियोगितामा भाग लिने हरेक कविप्रति आभार व्यक्त गरेका छन्। कोरोनाको कारण लकडाउनमा थुनिएका युवाहरूलाई सिर्जनात्मक बाटोमा ल्याउने उद्देश्यले शुरू गरिएको उक्त प्रतियोगितामा सिक्किम, दार्जीलिङ, मणिपुर, कालेबुङ, डुवर्स लगायतका कविहरूले भाग लिएका थिए भने जसको फाइनल राउन्डको निर्णायकहरूको समालोचक तथा कवि सुधीर छेत्री, कवि रेमिका थापा र कवि टीका रहेका थिए । पहिलो दोस्रो र तेस्रो बन्नेहरूलाई क्रमैले नगद राशि पाँच हजार, तीन हजार र दुई हजार प्रदान गरिनेछ।