बाबुराम श्रेष्ठ ‘यात्री’ को दोस्रो काव्यकृति ‘बूढो समय’ शनिबार एक कार्यक्रमका बीच सार्वजनिक गरियो ।

गीतकार डा. कृष्णहरि बराल, कृतिकार बाबुराम श्रेष्ठ ‘यात्री’, ज्ञानु अधिकारी, महेश पौडेल र सुरेश किरणले संयुक्त रुपमा सो कृति लोकार्पण गर्नुभयो ।

सिन्धुलीका कवि यात्रीको पहिलो काव्यकृति २०६३ सालमा ‘देश स्वप्न’ प्रकाशित छ ।

कार्यक्रममा विद्यमान कविता लेखन, प्रवृति र पुस्ताका विषयमा चर्चा गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि डा.बरालले नेपाली साहित्यमा कवि यात्रीका कविताले प्रगतिवादी धार समातेको चर्चा गर्नुभयो । यात्रीका कविताले वैदेशिक रोजगारीका पीडा, विद्यमान राजनीतिक अव्यवस्था, माओवादी युद्धले नेपाली समाजका विविध क्षेत्रमा पारेको प्रभावबारे भन्ने जमर्को गरेको डा. बरालले बताउनुभयो ।

समालोचक ज्ञानु अधिकारीले उनको कवितामा जति डुबेर, हराएर पढिन्छ त्यति मजा आउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कविता पढ्नु सरल छैन । कविले जुन चेतना, अनुभूति विचारमा डुबेर लेखेको हुन्छ त्यो तहमा कविता बुझ्नु जटिल विषय हो ।’

कवि सुरेश किरणले अहिले शब्दकोश पल्टाएर कविताको अर्थ पढ्नु पर्ने समय नभएको बताए । यात्रीका कविताको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘कवितामा शब्द छनोट र वाक्य निर्माण छोटा छन् । फ्रेस जस्तो लाग्यो । अरू कविको भाषासँग मेल खाएको लागेन । अहिलेको कविता सरल भाव, शैलीमा धेरै अर्थ भन्ने नै हो ।’
यात्रीको ‘काठमाडौँहरू’ कवितामा असहमति राख्दै कवि किरणले भन्नुभयो, ‘काठमाडौंले कसलाई चुसेको छ ? म काठमाडौंमा जन्मिएको मानिस हुँ । म सोच्छु बाहिरका मानिसले हामीलाई पो चुसिरहेको छ कि ?’

कवि महेश पौडेलले कविको भूगोलमा प्रवेश गरेर कविता पढ्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘क्लिष्ट शब्दको ठाउँमा सरलको खोजी हुनुपर्छ । नयाँ बिम्ब, प्रतिक, भाव अभिब्यञ्जना कविता पढ्दा पाउनु पर्छ ।’

कवि यात्रीले शहरभन्दा टाढा ग्रामीण बस्तीका अनुभूतिलाई आफूले कवितामा उतारेको बताउनुभयो । कार्यक्रमको सहजीकरण कवि रामगोपाल आशुतोषले गर्नुभएको थियो ।