काठमाडौँ / ‘केही समय कविताका लागि बाँचौँ’ नाराका साथ सुरु गरिएको ‘कवितामा तीन पुस्ता’ काव्यवाचन कार्यक्रम सर्वनामको प्रेक्षालयमा शनिबार सम्पन्न भयो ।
एक सय रूपैयाँको टिकट काटेर कविता सुन्न श्रोताहरू ओइरिएका थिए । कार्यक्रममा स्रोता तथा दर्शकको उत्साहजनक उपस्थिति रहेकोमा आयोजक जरूवाले हर्ष प्रकट गरेको छ ।
एउटै मञ्चमा तीन पुस्तालाई उभ्याउने उद्देश्यसहित सुरु गरिएको ‘कवितामा ३ पुस्ता’ कार्यक्रममा तीन जना सर्जकलाई एउटै मञ्चमा उभ्याएर कार्यक्रमको सुरुवात गरिएको हो ।
अभिभावक पुस्तामा कवि दिनेश अधिकारी, अग्रज पुस्तामा कवि श्रवण मुकारुङ, अनुज पुस्ताकी कवि रञ्जना निरौलाले एउटै मञ्चमा उभिएर ५/५ वटा कविता सुनाएर करिव एक घण्टा सर्वनामको थिएटर काव्यमय बनाउनुभयो ।
कवि तथा गीतकार दिनेश अधिकारीले जंगलमा वर्षा, आवाजको सौन्दर्य, घरबाट निस्केपछि, मरणको आनन्द र अन्तिम तयारी शीर्षकका कवितावाचन गर्नुभएको थियो ।
कवि श्रवण मुकारुङले म्याडम गीता, डराउँछु म मृत्युसित, स–साना शब्दहरूसित, हुमान सिंह भुजेलको भैँसी प्रेम, आवाज नआइपुग्ने मेघको उज्यालो शीर्षकका कवितावाचनहरू वाचन गर्नु भएको थियो ।
यस्तै कवि रञ्जना निरौलाले मेरो ईश्वर म नै हुँ, तिम्रा यादहरू, दशैँः सधैँ मेरो विपक्षी, समयः कविताको अनुभूतिमा र परिधिको आकांक्षा शीर्षकका कविता वाचन गर्नुभएको थियो ।
यस्ता काव्यमय कार्यक्रमले पुनर्ताजगी र उत्साह दिने आशासहित कार्यक्रम शुरू गरिएको हो ।
कार्यक्रम हरेक दुई दुई महिनामा आयोजन गरिने बताइएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।