नाटक सपना अनेक अनेक को एक दृश्य

 

काठमाडौँ / साउन ५ गतेदेखि मञ्चन भइरहेको गीतिनाटक सपना अनेक अनेकको मञ्चन अवधि थपिएको छ । वरिष्ठ रंगकर्मी अशेष मल्लको परिकल्पना तथा निर्देशनमा तयार भएको गीतिनाटक दर्शकहरूको विशेष आग्रहमा थपिएको मल्लले बताउनु भएको छ ।

विधाको हिसाबले गीतिनाटक नयाँ प्रयोग भए पनि दर्शकको उत्साहजनक सहभागिताका कारण ऊर्जा थपिएको मल्लले बताउनुभयो ।

यो नाटकसँगै सर्वनामले कोभिडपछि आफ्नो हल सञ्चालनमा ल्याएको हो । हाउसफुल दर्शकहरूका साथ पाइरहेको नाटक गीता खत्रीको खण्डकाव्य ‘आमा हुन्, आमा’मा आधारित रहेर मल्लको परिकल्पना तथा निर्देशनमा तयार पारिएको हो ।

नेपाली रंगमञ्चको इतिहासमा चार दशकको इतिहासमा सर्वनामले पहिलो पटक गीति नाटक प्रस्तुत गरेको हो ।

गीतिनाटकमा वरिष्ठ संगीतकार राजु सिंहको संगीत तथा चर्चित गायक सत्यराज आचार्य र वानिका प्रधानको स्वर रहेको छ ।

गीतिनाटकमा सर्जकको काव्यिक भाव र तिनको समग्र प्रभावलाई केन्द्रविन्दुमा राखेर बिम्ब र प्रतीकलाई चित्रात्मकता दिने कोसिस गरिएको निर्देशक अशेष मल्लले बताउनुभयो ।

नेपाली संगीतको हरेक विधामा तीन दशकदेखि कर्म गर्दै आउनुभएका संगीतकार राजु सिंहले सपना अनेक अनेक मार्फत संगीतकारको भूमिका निर्वाह गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । उहाँ भन्नुहुन्छ, “प्रस्तुत गीति नाटक मार्फतपूर्ण संगीतकार भएको महसुस गरेको छु । गर्व पनि लागिरहेको छ । यसले नेपाली गीतिनाटकमा विशेष योगदान पुर्याउने विश्वास लिएको छु । साथै यसरी दर्शकको उत्साहजनक सहभागिताले यो नाटकले आफ्नो सांगीतिक यात्रामा महत्त्वपूर्ण कोशेढुंगाको रुपमा काम गरेको छ ।”

गायक सत्यराज आचार्यले गीति नाटकमा आफू पनि सहभागी हुन पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो गीति नाटकका गीतहरू गाउँदा मलाई गीत हैन, जीवन बाँचेको अनुभूति भयो । धेरै गीतहरू गाएँ, प्रायः हर दिन गीत गाइरहेकै हुन्छु तर सधैँ गाउने भन्दा नितान्त र बेग्लै प्रवाहको यो गायनले मलाई अझै पनि तरङ्गित बनाइरहेको छ । सङ्गीतकारसँग सहकार्य गर्दै, निर्देशकको परिकल्पनालाई कोरियोग्राफर हुँदै कलाकारका अभिनयसम्म पुगेको यो प्रस्तुति साँच्चै नै नवीतम प्रयोग भएको छ ।”

विदेश पुग्न सपना बुन्नेहरू, विदेशको माटोमा पुगे पनि आफ्नै देशको यादले रात दिन तड्पिरहेका हुन्छन् । त्यो एउटा प्रतीक हो । चाहे जुनसुकै मुलुकमा पुगे पनि आफ्नै माटो र आफ्नै आमाको मायाले पिरोलिरहन्छ । आमा अर्थात् नेपाल आमा । आमाको त्यो विम्व नै नाटकको सार हो ।

गीतिनाटकको कोरियोग्राफी प्रमिला कार्की उप्रेतीको रहेको छ भने मनोज महर्जन, भावना उप्रेती, रविना परियार, धीरज थापा, मिलन शाक्य, निरीक्षा घतानी, शूँ–गूको अभिनय रहेको छ ।

मञ्चन अवधि थपिए सँगसँगै गीतिनाटक श्रावण २८ गतेसम्म विहीबार बाहेक हरेक दिन साँझ ५:३० बजे र शनिबार अतिरिक्त शो १ बजे मञ्चन हुने गरेको छ ।