साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताका लघुतम उपविधा विषयमा विमर्श सम्पन्न

Chovar Blues Mobile Size

काठमाडौँ, साउन २० / नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा ‘नेपाली कविताका लघुतम उपविधा’ विषयक विमर्श कार्यक्रम आयोजना गरियो ।

प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले कार्यक्रम रोचक र जानकारीमूलक रहेको बताउनुभयो । उहाँले भन्नुभयो– “नेपाली काव्यमा गरिएका प्रयोगहरू यति धेरै छन् भन्ने मैले आजमात्रै थाहा पाएँ । साहित्यमा प्रयोग हुन्छ तर त्यसको सार्थकता पछि गएर ग्रहणशीलतामा हुन्छ । यसमा स्थायित्व हुनुचाहिँ ठुलो कुरा हो । यस विमर्श कार्यक्रमले सार्थकता पाएको मैले महसुस गरेको छु ।”

नेपाली काव्यविधामा भएका प्रयोगहरूका बारेमा प्रज्ञा–प्रतिष्ठानले विमर्शको थालनी गरेको उल्लेख गर्दै उहाँले नेपाली साहित्यमा भएका नयाँ नयाँ प्रयोगका बारेमा बहस गरिन आवश्यक भएको बताउनुभयो । आकारले मात्रै साहित्यको उपविधा नबन्ने भन्दै उहाँले अभिव्यक्ति र त्यसले दिने भाव बलियो हुनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले निरन्तर प्रयोग, अभ्यास र साधनाले खारिने भएकोले नेपाली काव्य विधामा भएका यी प्रयोगहरूलाई काव्यको उपविधा बन्न बल पुग्ने बताउनुभयो ।

सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले प्रज्ञा–प्रतिष्ठानले नेपाली वाङ्मयका पाँचओटा विषय क्षेत्रमा काम गरिरहेको उल्लेख गर्नुभयो । साहित्यका क्षेत्रमा उठ्ने विभिन्न समस्या वा विवादका विषयलाई एक ठाउँमा राखेर छलफल गराउने र समाधान निकाल्ने प्रयास प्रज्ञा–प्रतिष्ठानले गरिरहेको उहाँले बताउनु भयो । “दुई तीन वर्षअघि भएको गजल महोत्सव र आज आयोजित विमर्श कार्यक्रम यसका उदहरण हुन्” उहाँले भन्नुभयो । दृष्टिकोण, चिन्तन र गन्तव्य नभएको सिर्जनाबाट अनुशरण गर्ने, निरन्तरता दिने र वृद्धि हुने काम भने नहुने उहाँले विचार थियो । उहाँले यस कार्यक्रमले कविता विधामा भएका प्रयोगका बारेमा सूचना र जानकारी हासिल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै नेपाली कवितामा लघुतम उपविधा भन्नासाथै यी विधा स्थापित भई नहाल्ने विचार व्यक्त गर्नुभयो । आफूले सुरुवात गरेका यी प्रयोगलाई निरन्तरता दिन र स्थापित गराउन स्रष्टाहरू गम्भीर भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रमका सभाध्यक्ष प्रा.डा. हेमनाथ पौडेलले नेपाली साहित्यको सिर्जना र साधनामा लागिपर्नुभएका सबै सहभागीलाई धन्यवाद दिँदै नेपाली कविताका क्षेत्रमा धेरै प्रयोग र उपविधाहरू आइरहेका सन्दर्भमा यी उपविधा वा रूपहरूलाई सम्बोधन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले नेपाली कविता विधामा भइरहेका प्रयोगले नेपाली कविता÷काव्य विधालाई समृद्ध बनाउने विचार व्यक्त गर्नुभयो । उहाँले अहिले भइरहेका यस्ता प्रयोग भोलिका दिनमा देश, विदेशमा अनुशरण हुन थाल्यो भने त्यतिबेला गर्व गर्ने दिन आउने बताउनुभयो ।

sagarmani mobile size

साहित्य (लोकवार्ता र बालसाहित्य) विभागका प्रमुख डा. देवी नेपालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विश्वभर रहेका नेपाली कविहरूलाई जोड्ने काम प्रज्ञा–प्रतिष्ठानले गरिरहेको उहाँले बताउनुभयो । उहाँले कविता विधामा भएका प्रयोग र कविताका लघुतम उपविधाका बारेमा छलफल गरौँ र एकैपटक सम्बोधन गरौँ भन्ने हिसाबले नै कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले गोष्ठी आयोजना गर्दैमा र विमर्श हुँदैमा विधा संस्थागत वा स्थापित नहुने बताउँदै यस छलफलले ती उपविधाका सैद्धान्तिक आधार र औचित्य पुष्टि गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।

गोष्ठीमा डा. यज्ञेश्वर निरौलाले ‘नेपाली कविताका लघुतम उपविधा’ विषयक गोष्ठी–पत्र प्रस्तुत गर्नुभएको थियो । गोष्ठीपत्र प्रस्तुत गर्दै डा. निरौलाले हालसम्म कविताका विधामा मुक्तक, हाइकु, सिजो, ताङ्का, सेन्यु, सेदोकाक, रुबाई, एलाक, साइनो, कोपिला, बाछिटा, सुसेली, उदक, खोरिया, क्रिमुक, झर, छेस्का, तप्कना, पिरामिड, रम्बास, टुक्रा, छोक, कूट पद्य, सायरी, दोहा, सोरठा, चौपाई, आल्हा, पूरबी, केस्रा, खिचडी, यग्मक, आगो, शीत, तियाली, पञ्चाङ्ग आदि गरी ३६ ओटा उपविधा आएको बताउनुभयो । उहाँले कविताका ती लघुतम विधा तथा उपविधाको उत्पत्ति, प्रयोग, प्रयोक्ता, वर्तमान अवस्था र भविष्यका बारेमासमेत उल्लेख गर्नुभएको थियो । जुनसुकै शैली, शिल्प र आकृतिमा रचना भए पनि आखिर नेपाली साहित्यको श्रीवृद्धिमा टेवा पुगेको हुनाले यस कार्यलाई उपलब्धिमूलक मान्नुपर्ने उहाँले बताउनुभयो ।

डा. निरौलाको गोष्ठी–पत्रमाथि परिपूरक समीक्षा गर्दै समालोचक प्रा.डा. भरतकुमार भट्टराईले हामीले थालेका अभियान वा प्रयोगले इतिहास बनाउन र प्रयोक्ताहरू जन्माउन सकेमा मात्रै यसको सार्थकता पुष्टि हुने विचार व्यक्त गर्नुभयो ।

डा. बिन्दु शर्माले कति विधा स्थापित भए र कति हुने क्रममा छन् भन्ने विषयमा यो गोष्ठीले टेवा पुग्ने बताउनुभयो । नेपालीसहित अन्य भाषाबाट आएका कविताका लघुतम विधालाई गोष्ठी–पत्रमा समावेश गरिएको र खोजमूलक भएको उहाँले बताउनुभयो ।

गोष्ठी–पत्रमाथि भएको खुल्ला छलफलमा डा. मधुसूदन गिरी, डम्बर पहाडी, चेतनाथ धमला, दुर्गा अधिकारी भमरकोटे, षडानन्द पौड्याल, जनार्दन अधिकारी, शम्भु गजुरेल, छायादत्त न्यौपाने, अनन्त यात्री, भीष्म काफ्ले, निर्मल पराजुली, गुप्तबहादुर श्रेष्ठ, भवानी खतिवडा, प्रीति आत्रेय रुमानी, मीना अधिकारीलगायतले आ–आफ्ना जिज्ञासा र विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन प्राज्ञ सभा सदस्य तथा सञ्चार संयोजक शशी लुमुम्बूले गर्नुभएको थियो ।

 

प्रतिक्रिया
Loading...