नेपाली लघुकथाकासमा अहिले सम्मकै  भिमकाय ग्रन्थ “लघुकथालय (चिन्तन, मनन र लेखन)-२०७९” लोकार्पण भएको छ । शनिबार अपरान्ह साढे चार बजे जुम एप मार्फत आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार, समालाेचक, भाषाविद तथा लघुकथाकार डा.विदुर चालिसेद्वारा लिखित उक्त पुस्तकको लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले गर्नुभएको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा आयोजित उक्त पुस्तक लोकार्पण कार्यक्रम मञ्चका अध्यक्ष कृष्णजी शर्मा (घनश्याम डल्लाकाेटी) काे अध्यक्षता एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीकाे प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।
भर्चुअल माध्यमबाट सञ्चालित उक्त पुस्तक विमाेचन कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा.कपिल लामिछाने, वरिष्ठ साहित्यकार एवम् पत्रकार विजय चालिसे, साहित्यकार डा. दीनबन्धु शर्मा, साहित्यकार डा. शंकरप्रसाद गैरे, साहित्यकार डा. रविन्द्र समीर, साहित्यकार प्रा.पुष्कर लाेहनी, वरिष्ठ नियात्राकार कृष्ण बजगाईं र कृतिकार डा. विदुर चालिसेकाे विशिष्ट अतिथिकाे रूपमा उपस्थिति रहेकाे थियाे ।
यसै गरी कृतिमाथि गहन समालाेचना गर्नु हुनेमा वरिष्ठ समालाेचक प्रा.डा.कुमार काेइराला, लाेक साहित्यका वरिष्ठ खाेजकर्ता प्रा.डा.रिन्कू वडेरा(भारत), वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल र साहित्यकार एवम् चिन्तक प्रा. कपिल अज्ञात हुनुहुन्थ्याे ।
प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती लगायत सबै वक्ताहरूले “लघुकथालय (लघुकथा चिन्तन, मनन र लेखन)” लघुकथाकाे सिद्धान्त र सिर्जनाकाे एक नयाँ प्रयाेगात्मक मानक पुस्तककाे रूपमा आएकाे कुरा उल्लेख गर्नुभयो ।
साथै उक्त कार्यक्रममा श्री पुष्कर लोहनी, प्रा.डा.कपिल लामिछाने, श्री विजय चालिसे, डा. दीनबन्धु शर्मा र श्री कृष्ण बजगाईले शुभकामना मन्तव्य दिनुहुँदै कृतिबारे छोटो मन्तव्य दिनु भएको थियो ।
त्यस्तै कार्यक्रममा विभिन्न समालोचकहरूले अनेक काेणबाट समीक्षा गर्दै आ-आफ्नाे धारणा राख्नु भएको  थियो ।
धेरै वटा कृतिका पिता भइसक्नुभएका कृतिकार डा.विदुर चालिसेको यस कृतिमा विभिन्न आयाममा विभक्त गरी विविध नियम र सिद्धान्त सहित सृजना गरिएका २३६ वटा लघुकथा सङ्ग्रहित छन् । विभिन्न पाँचवटा आयाम (शीर्षक)मा ४५/४५ वटा र छैटौँमा लघुकथाको सिद्धान्त राखेर ११ वटा लघुकथा रहेका छन् ।
लघुकथाको सागरको रुपमा रहेको यस भिमकाय ग्रन्थमा अधिकतम कुराहरू पुराना हुँदाहुँदै पनि नयाँ प्रस्तुतिको कारण उत्कृष्ट बन्न पुगेको केही समालोचकहरूको मत छ । यो पुस्तक सिकारु एवम् लघुकथा लेखनमा अभिरुचि राख्नेहरूका लागि अत्यन्त उपयोगी, लाभदायक र पठनीय रहेको छ । यस ग्रन्थमा नेपाली समाजमा हुने विविध विधि र व्यवहारलाई टपक्क टिपेर राख्नुभएको छ । प्रयोगवादी एवम् प्रयोगात्मक लघुकथा सिद्धान्तमा आधारित यस पुस्तकमा आख्यानमा हुनुपर्ने सम्पूर्ण तत्वहरू समावेश छन् ।
यति उत्कृष्ट हुँदाहुँदै पनि यो पुस्तक सामान्य पाठकका लागि अबोधगम्य हुनसक्ने आशङ्का समालोचकहरूले व्यक्त गरेका छन् । साथै छोटो समयमा यस भिमकाय ग्रन्थको समीक्षा गर्न नसकिने तसर्थ यसको समीक्षाका लागि पर्याप्त समय चाहिने उल्लेख गरेका छन् ।
यस्तै अतिथिहरूमा साहित्यकार शेखर अर्याल, वसन्त अनुभव, यमुना प्रधानाङ्ग ‘मुना’, कमल पाैडेल, म्यामराज राई, गणेश नेपाली, कृष्ण ढुङ्गेल, तुलमान गुरुङ, अनिल आचार्य, अनिष पाठक, दिपक बाेहरा, चन्दा थापा, अमित प्रधानाङ्ग, विश्वराज अधिकारी, कल्याण पन्त, गोपाल प्रसाद बस्याल, जनार्दन दाहाल, लता के.सी., मीठू कुमारी पाठक, रामहरि पौड्याल, रामकुमार पण्डित, सरोज, कुन्दन, शालिकराम पाण्डे, शिव गौतम, एस आर दुवाडी, मिसु श्रेष्ठ, तारा श्रेष्ठ, शान्ता शाक्य, छविलाल खड्का, नानी विबु, मनोहर पोखरेल, अवधेश सिंह, डा.अनुप श्रेष्ठाचार्य, रचना शर्मा, हेम पोखरेल, ज्योति पाण्डे खड्का, आई पि अधिकारी, शिव गौतम, आयुष बडाल लगायतकाे उपस्थिति रहेकाे थियाे ।
आफ्नो व्यस्त समयका बावजूद पनि पुस्तकको लोकार्पण कार्यक्रममा उपस्थित हुनुभएकोमा खुसी प्रकट गर्दै कृतिकार डा. विदुर चालिसेले प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सम्पूर्ण लघुकथाप्रेमीहरू प्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । साथै उहाँले पुस्तक प्रकाशनको ठुलो अभिभारा बोकेर भव्य कार्यक्रम बिच पुस्तक लोकार्पण गरिदिएकोमा लघुकथा मञ्चका अध्यक्ष कृष्णजी शर्मा (घनश्याम डल्लाकाेटी) लगायत मञ्च परिवार प्रति हार्दिक आभार प्रकट गर्नुभयो ।
साथै उहाँले आफ्ना केही लघुकथाहरू सामान्य पाठकका लागि अबोधगम्य, घुमाउरो, लाक्षणिक भएको स्वीकार्दै विज्ञ समालोचकहरूले दिएको गहन र महत्वपूर्ण (परसेप्सन) सुझावलाई आगामी कृतिमा समेट्ने जानकारी दिनुभयो ।
समापन मन्तव्य राख्नुहुँदै नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष एवम् कार्यक्रमका सभाध्यक्ष कृष्णजी शर्मा (घनश्याम डल्लाकाेटी)ले हामीलाई विश्वास गरेर आफ्नो अमूल्य पुस्तकको प्रकाशन लगायत लोकार्पणको जिम्मेवारी दिनुभएकोमा कृतिकार डा.विदुर चालिसेप्रति हार्दिक धन्यवाद प्रकट गर्नुभयो ।
पुस्तक लोकार्पण कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सम्पूर्ण लघुकथाप्रेमीहरूलाई वरिष्ठ साहित्यकार एवम् मञ्चकी अभिभावक रन्जुश्री पराजुलीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको उद्घोषण प्रतीक्षा पाैडेलले गर्नु भएकाे थियाे ।