कुनै पनि देशको चेतनाको स्तर मापन गर्नका लागि त्यहाँको कला र साहित्यलाई मुख्य आधार बनाइन्छ । जुन देशमा कला र साहित्यको विकास तीव्र गतिमा हुन्छ, त्यहाँको चेतनाको विकासले पनि रफ्तार लिन सक्छ । समाज जिउँदै छ है भनेर बताउने माध्यम पनि कला साहित्य नै हो । कला र साहित्यका विभिन्न रूप मध्ये काव्य विधा पनि प्रधान रहँदै आएको छ । पूर्वीय साहित्यमा ५००० वर्षको इतिहास काव्यको रहेको छ भने पश्चिमको साहित्यमा अरस्तु र प्लेटोको बेलादेखि कविताको विकास भएको पाइन्छ ।
कविता वाचनको परम्परा पनि कविताको जन्मसँगै भएको अनुमान लगाउन सकिन्छ । प्राचीन कालमा संस्कृत काव्यको उद्देश्य आत्मा र परमात्मासँग जोड्ने, नैतिकता सिकाउने, धर्म बुझाउने, करुणा र प्रेमको महत्त्व दर्साउने आदि हुँदै पश्चिमको साहित्यले पनि जीवन दर्शन हुँदै सत्यको वकालत गरेको पाइन्छ । बिस्तारै राजामहाराजाको कोठीमा कविताले शृङ्गारिक रूप धारण गर्दै अहिले आएर बेथिति, अराजकता, कुसंस्कार, कुशासन आदि विरुद्ध आवाज उठाउँदै कविता रचिन थालेका छन् ।
नेपालमा विभिन्न साहित्यिक संस्थाहरूले धेरै स्वरुपमा कविता वाचन कार्यक्रम गरेको पाइन्छ । साहित्यको विकासको नाममा सञ्चालन भएको प्रज्ञा प्रतिष्ठानले भने रचना वाचन कार्यक्रमलाई खासै वास्ता गरिएको देखिन्न । जबकि इतिहास खोतल्ने हो भने राजा महेन्द्रले २३ फागुन वि.सं २०२३ मा एक सय चालीस जनाभन्दा बढी कवि भेला पारेर डुंगामा साहित्य गोष्ठी गरेर साहित्यको विकासमा योगदान पुर्याएको देखिन्छ । एक सप्ताह देवघाटमा चलेको सो कविता गोष्ठीमा तीनवटा डुंगामा नदीको बीचमा बसेर कविता वाचन गरिएको थियो ।
अमेरिकाको राष्ट्रपतिको सपथ ग्रहण कार्यक्रममा अझै पनि कविता वाचन गर्ने परम्परा कायम छ । रोबर्ट फ्रोस्ट, माया एन्जेलो जस्ता कविहरूले राष्ट्रपतिको सपथमा कविता वाचन गरेका छन् ।
पछिल्लो कार्यक्रममा नेपालमा सबैभन्दा सफल मानिएको कविता वाचन कार्यक्रम भनेको `हामी कवि र कविता´ हो । श्री लुनकरन दास–गंगादेवी चौधरी र सर्वनाम थिएटरको संयुक्त आयोजनामा ‘हामी कवि र कविता’ कार्यक्रम आयोजना भएको थियो । जसको नारा नै , ‘हरेक महिनाको सुरुवात केही राम्रा कविता सुनेर गरौँ’ भन्ने थियो । कोभिडको महामारीसँगै यो कार्यक्रम बन्द भएको छ ।
त्यसैगरी गजलमा `महफिल´ गजल वाचन कार्यक्रमले पनि गजल विकासको लागि महत्त्वपूर्ण भूमिका खेल्यो । यो कार्यक्रम पनि बन्द भएर फेरि सुचारू हुँदैछ । आभा काव्य लहरले पनि केही शृङ्खला कविता वाचन कार्यक्रम आयोजना गरेर हाल स्थगित भएको छ ।
मोफसलमा कविता वाचनको कार्यक्रमलाई भव्य तरिकाले उत्सव मनाइरहेको कार्यक्रम हो, आरोहण गुरुकुलको काव्यारोहण । काव्यारोहण वि.सं २०७६ मंसिर ७ गतेबाट सुरु भएर १२ शृङ्खलाको अन्त्यसँगै पहिलो सिजन सकिएको छ । दोस्रो सिजन फेरि लिएर आउने कुरा आरोहण गुरुकुलको सूचनामा बताइएको छ । देशभरका साहित्यिक संस्थाहरूबाट विभिन्न कविका जन्मोत्सव पारेर कविता वाचन कार्यक्रम आयोजना गरिँदैआएका छन् । कविता वाचन कार्यक्रमले कविताको विकाससँगै साहित्यको माहोललाई बनाउन काम गर्छ ।
अब हामी लागौँ कविता वाचनको राष्ट्रिय स्तरको कार्यक्रम सुस्ताउन लागिरहेकै बेलामा एउटा नयाँ स्वरूप र रूपरेखामा आयोजना हुन गइरहेको कार्यक्रम `कवितामा तीन पुस्ता´ को चर्चा गर्न ।
केही दिन अगाडि कवि दीप दर्पणको फेसबुक वालमा एउटा पोस्टरमा मेरा आँखा गएँ । नीलो पृष्ठभूमिको उक्त पोस्टमा `हामी आउँदै छौँ…. कवितामा ३ पुस्ता ।´ यो पोस्टर देखिसकेपछि कवितालाई माया गर्ने भएकाले मेरो मनमा केही उत्सुकता जाग्नु स्वभाविक थियो । त्यसपछि मैले कवि दीप दर्पणसँग सम्पर्क गरेर कार्यक्रमबारे थप जानकारी लिएँ ।
तीन पुस्तालाई एउटै मञ्चमा उभ्याउने उद्देश्यसहित सुरू गर्न लागिएको कार्यक्रम `कवितामा ३ पुस्ता´ कार्यक्रममा तीनजना सर्जक एउटै मञ्चमा उभ्याइने छ । अभिभावक पुस्ता, अग्रज पुस्ता, अनुज पुस्ताले एउटै मञ्चमा उभिएर ५/५ वटा कविता सुनाउनु पर्ने कार्यक्रमको फर्म्याट हुनेछ । कोभिडपछि साहित्यिक गतिविधि गतिशील बनिसकेको अवस्था छ । तीन पुस्तालाई एउटै मञ्चमा जोडेर एकाअर्काको अनुभव, शिल्प, शैलीसँग साक्षात्कार गराउने उद्देश्यका साथ कार्यक्रमको परिकल्पना गरिएको छ ।
यसभन्दा अगाडिका कार्यक्रमलाई लागेको आरोप, खेमा, ग्रुप, जात, लिङ्ग आदिलाई निरुत्साहित गर्ने हिसाबले हरेक कार्यक्रममा एउटा नारी श्रष्टालाई समावेश गरेर कार्यक्रमलाई समावेशी बनाउने आयोजकको योजना छ । हरेक दुई महिनामा आयोजना गर्ने लक्ष्य राखिएको कार्यक्रममा कविलाई सम्मानजनक पारिश्रमिक पनि दिइने छ । जरुवा नेपाल सूचना तथा प्रविधिको क्षेत्रमा काम गर्ने संस्था आयोजकको रूपमा रहनेछ भने अन्य केही संस्थाहरू प्रायोजकका रूपमा रहने र विभिन्न मिडियाको सहकार्यमा कार्यक्रम गरिनेछ । यही साउन २१ गते कवितामा तीन पुस्ता कार्यक्रम सुरू हुने भएको छ । पहिलो शृङ्खलामा कवि दिनेश अधिकारी, श्रवण मुकारुङ र रञ्जना निरौलाको ५-५ वटा गरेर पन्ध्रवटा कविता सुन्न सकिनेछ । कार्यक्रम सर्वनाम थिएटरमा दिउँसो २ बजेदेखि हुनेछ । कार्यक्रममा सहभागी हुनको प्रवेश शुल्क रू १०० लाग्ने बताइएको छ ।
जनक कार्कीद्वारा प्रेषित
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।