बाह्रखरी कथा लेखन प्रतियोगिताको चौथो संस्करण घोषणा गरिएको छ । बाह्रखरी मिडिया प्रालिअन्तर्गतको १२खरी बुक्सले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चौथो संस्करणका लागि कथा आह्वान गरेको हो ।

प्रतियोगितामा संसारभरका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ । १२खरी बुक्सले विगत तीन वर्षदेखि खुला कथा प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतियोगितामा प्राप्त हुने कथाहरूमध्येबाट बाह्रखरीको आन्तरिक निर्णायकमण्डलले ५० कथा छनोट गरी निर्णायकमण्डललाई उपलब्ध गराउनेछ । तीमध्येबाट निर्णायकले ‘उत्कृष्ट कथा–२०७९’ पुस्तकका लागि २५ कथा छान्नेछन् । त्यसैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा गरिनेछ ।

प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिसहित पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ । संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ ।

निर्णायक समूहमा यो वर्ष साहित्यकार तथा समालोचक प्रा. डा. कुमारप्रसाद कोइरालाको संयोजकत्वमा साहित्यकारहरू सगुना शाह र उमा सुवेदी रहेका छन् । नेपाली कथा लेखनको क्षेत्रमा दिइने सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा गत वर्ष ५०० भन्दा बढी कथाकारले भाग लिएका थिए ।

प्रतियोगितामा भाग लिन इच्छुक कथाकारले आफ्नो कथा आउँदो भदौ १४ गतेभित्र इमेल ठेगाना 12kharibooks@gmail.com पठाइसक्नुपर्नेछ । कथा प्रतियोगिताको नतिजा आउँदो असोज ३० गते आइतबार एक विशेष समारोहका बीच सार्वजनिक गरिनेछ । सोही दिन ‘उत्कृष्ट कथा–२०७९’ को लोकार्पण पनि गरिने १२खरी बुक्सले जानकारी गराएको छ ।

सर्त तथा नियम
– कथा नेपाली भाषामा लेखिएको हुनुपर्नेछ । अन्य भाषामा लेखिएका अप्रकाशित मौलिक कथालाई नेपालीमा अनुवाद गरी पठाउन सकिनेछ । अनुवाद लेखक आफैँले गर्नुपर्नेेछ ।
– अघिल्लो वर्षमा प्रतियोगिताका लागि पठाइएका कथा दोहोर्‍याएर पठाउन पाइनेछैन ।
– निर्णय प्रक्रियामा कथाको भाषिक शुद्धतालाई पनि महत्त्व दिइनेछ ।
– कथा अप्रकाशित र अप्रसारित हुनुपर्नेछ । नतिजा सार्वजनिक नहुञ्जेल प्रतियोगितामा पठाइएको कथा कतै पनि प्रकाशन वा प्रसारण गर्न पाइनेछैन ।
– छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।
–‘१२ खरी कथा प्रतियोगितामा’ भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रूपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रसारण गर्न ‘१२खरी बुक्स’को पूर्वस्वीकृति अनिवार्य छ ।
– कथा कम्तीमा १५०० शब्द र बढीमा ४००० शब्दसम्मको हुनुपर्नेछ ।
– प्रतियोगीले कथासँगै आफ्नो छोटो परिचय, सम्पर्क मोबाइल नम्बर र हालसालै खिचिएको फोटो अनिवार्य पठाउनुपर्नेछ ।
– प्रतियोगिताका लागि छानिएका कथाकारलाई ‘१२खरी बुक्स’ले इमेल तथा फोनमार्फत् सम्पर्क गर्नेछ ।

कथा पठाउनका लागि :
इमेल– 12kharibooks@gmail.com
सम्पर्क : ०१–४१०६५१, ०१–४१०६५६, ९८०१८४९६१९