
पोखरा, साउन १४ / विगत लामो समयदेखि प्रगतिशील साहित्य र संस्कृतिका क्षेत्रमा क्रियाशील साहित्यकार प्रा कुलप्रसाद खनालको निधन भएको एघारौँ दिनमा उहाँलाई पोखरामा एक शोक सभाको आयोजना गरेर श्रद्धाञ्जली अर्पण गरियो ।
प्रगतिशील लेखक संघ, कास्की र गण्डकी साहित्य सङ्गम, पोखराको संयुक्त आयोजनामा सम्पन्न श्रद्धाञ्जली सभामा पोखराका विभिन्न संघसंस्थामा आबद्ध विद्वानहरूद्वारा उहाँका योगदानका बारेमा विषद् चर्चा परिचर्चा गरियो ।
वि. सं. २००४ साल असार २९ गते तनहुँको सिम्पानी, चुँदीमा जन्मनु भएका साहित्यकार खनालको उपचारका क्रममा यही २०७९ साउन ०४ गते काठमाडौँमा निधन भएको थियो । निबन्धकार एवं समालोचकका रूपमा परिचित खनाल लामो समयसम्म पृथ्वीनारायण क्याम्पस पोखरामा प्रध्यापनरत हुनुहुन्थ्यो । खनाल सोही क्याम्पसको नेपाली विभागका विभागीय प्रमुख, प्राध्यापक सङ्घको सभापति, नेपाल प्रगतिशील प्राध्यापक सङ्गठको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा समेत क्रियाशील रहनु भयो । यसका साथै खनाल प्रगतिशील लेखक सङ्घ कास्कीको दुई कार्यकालको अध्यक्ष हुँदै सोही सङ्घको केन्द्रीय सदस्यको भूमिकामा हुनुहुन्थ्यो ।
उहाँ लगायतका अग्रज साहित्यकारहरूको सकृयतामा गण्डकी साहित्य सङ्गम, पोखराको स्थापना गरी संस्थापक अध्यक्षको महत्त्वपूर्ण जिम्मेवारी समेत सम्हाल्नु भयो । कार्यक्रममा वरिष्ठ समालोचक प्रा डा रविलाल अधिकारी, प्रा रघुनाथ अधिकारी, बाम बुद्धिजीवी रामराज रेग्मी, प्रा डा यामबहादुर पौडेल क्षेत्री, प्रा डा यदुनन्दन उपाध्याय, प्रलेस गण्डकीका अध्यक्ष एवं केन्द्रीय सदस्य यादवराज उपाध्याय, साहित्यकार नारायण परिश्रमी, गण्डकी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ कृष्णप्रसाद पौडेल, पृथ्वीनारायण क्याम्पस पोखराको प्राध्यापक सङ्घका सभापति प्रा डा लक्ष्मीशरण अधिकारी, अखिल नेपाल लेखक सङ्घका महासचिव नारायण मरासिनी, तनहुँ सम्पर्क समाजका भीम रानाभाट, इच्छुक सांस्कृतिक प्रतिष्ठानका परशुराम कोइराला, साहित्य शृङ्खला, पोखराकी अध्यक्ष लक्ष्मी थापा लगायतका वक्ताहरूद्वारा उहाँको निधनले प्रगतिशील साहित्य र संस्कृतिको क्षेत्रमा अपुरणीय क्षति भएको कुरा उल्लेख गरियो ।
कार्यक्रममा प्रलेस कास्कीका उपाध्यक्ष छवि सुवेदी ‘विजयी’ले शोक कविता वाचन गर्नुका साथै सङ्गम सांस्कृतिक मञ्च नेपालका अध्यक्ष काजी गाउँले र सचिव विकास लुङ्गेलीले श्रद्धाञ्जली गीत प्रस्तुत गर्नु भएका थियो । प्रगतिशील लेखक सङ्घ कास्कीका अध्यक्ष लोकनाथ पुडासैनीको सञ्चालनमा गण्डकी साहित्य सङ्गमका उपाध्यक्ष एवं पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपतिको स्वागतमा आयोजित श्रद्धाञ्जली सभाको अध्यक्षता गण्डकी साहित्य सङ्गम पोखराका अध्यक्ष डा कृष्णराज अधिकारीले गर्नु भएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

