गैरआवासीय नेपाली संघले यस वर्षको अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि गैरआवासीय नेपाली लेखकहरुलाई कृति प्रेषित गर्न आह्वान गरेको छ।
दुई लाख रुपैयाँ धनराशीको यो पुरस्कार प्रवासमा रहेका नेपालीभाषी लेखकहरुका वर्षभरि प्रकाशित कृतिमध्ये उत्कृष्ट एक कृतिलाई प्रदान गरिन्छ।
पुरस्कार व्यवस्थापन समितिले जारी गरेको सूचना अनुसार, यस वर्ष विक्रम संवत २०७८ सालमा गैरआवासीय नेपाली लेखकहरुद्वारा प्रकाशित कृतिमध्ये उत्कृष्ट एकलाई पुरस्कृत गरिनेछ।
पुरस्कारका लागि अगष्ट महिनाको अन्तिमसम्ममा तीन प्रति कृति समितिमा पठाउनु पर्नेछ। प्राप्त कृति र व्यवस्थापन समितिले संकलन गरेकामध्ये उत्कृष्ट एक कृतिको सेप्टेम्बर महिनामा छनौट गरी पुरस्कार घोषणा गरिनेछ र अक्टुबरमा यो पुरस्कार काठमाडौंमा प्रदान गरिनेछ।
पुरस्कारका लागि नेपाली वाङ्मयको जुनसुकै विधामा लेखिएका कृति पनि स्वीकार्य हुनेछ। तर त्यस्तो कृति नेपाली भाषामा लेखिएको हुनुपर्ने एनआरएनएद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
लेखकले काठमाडौंको बालुवाटारस्थित एनआरएनएको अन्तर्राष्ट्रिय सचिवालयमा आफ्नो कृति पेश गर्न सक्ने र अमेरिका तथा युरोपमा पनि कृति संकलन गर्ने व्यवस्था मिलाइएको बताइएको छ।
नेपाली भाषा,साहित्य , संस्कृति र सम्पदाको अन्तर्राष्ट्रीय रुपमा जगेर्ना र प्रवर्द्धन गर्ने र प्रवासमा रहेका नेपाली लेखकहरुलाई प्रोत्साहन र सम्मान प्रदान गर्ने उद्देश्यले एनआरएनएले यो पुरस्कार प्रदान गर्ने गरेको जारी सूचनामा उल्लेख छ। गत वर्षदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलोपटक लेखक एवं समालोचक हरि अधिकारीको ‘हरि अधिकारीका संकलित गध रचना’लाई प्रदान गरिएको थियो।
प्रथम गैरआवासीय नेपाली संस्कृति एवं सम्पदाविद् अरनिकोको सम्मानमा गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको पहलमा सन २०२१ मा यस पुरस्कारको स्थापना गरिएको समितिका संयोजक हिक्मत थापाले जानकारी दिनु भएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।