साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

“साहित्यवार्ता: स्रष्टा र सिर्जना” को दोस्रो शृङ्खलामा कवि भूपिन आउँदै

Chovar Blues Mobile Size

 

साहित्यपोस्टको फेसबुक पेज तथा युट्युब च्यानलमार्फत गत शनिबारबाट प्रसारण सुरु भएको कार्यक्रम “साहित्यवार्ता : स्रष्टा र सिर्जना” को दोस्रो शृङ्खलामा कवि भूपिन खड्का आउने हुनु भएको छ ।

हरेक साता शनिबार नेपाली समय साँझ ८ बजेदेखि एक घण्टा प्रसारण हुने सो कार्यक्रमको आगामी शनिबार साउन १४ गते (३० जुलाई) को दोस्रो शृङ्खलामा चितवन निवासी कवि, निबन्धकार तथा आख्यानकार भूपिनलाई निमन्त्रणा गरिएको हो ।

कवि भूपिनले विगत साढे तीन दशकभन्दा लामो समयदेखि नेपाली साहित्यका कविता, निबन्ध र आख्यान लगायत विधामा कलम चलाउँदै आउनुभएको छ । १२ वर्षकै उमेरबाट कवितामार्फत साहित्य लेखनको थालनी गर्नुभएका भूपिनले फुटकर रूपमा गीत, गजल र मुक्तक पनि लेख्नुभएको छ ।

पेशाले उहाँ प्राध्यापक हुनुहुन्छ । स्नातकोत्तरसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएका कवि भूपिन सप्तगण्डकी बहुमुखी क्याम्पस, चितवनका उप-प्राध्यापक हुनुहुन्छ । यसरी चितवनमा रहेर उहाँले साहित्य लेखनसँगै प्राध्यापनमा आफ्नो ऊर्जाशील समय खर्चिरहनुभएको छ । कवि भूपिनको जन्मस्थल भने बाग्लुङ हो ।

कवि भूपिनका हालसम्म “क्षतिग्रस्त पृथ्वी र मूल सडक” -कविता संग्रह २०५३, “हजार वर्षको निद्रा” – कवितासंग्रह २०६६, “चौबिस रील”- निबन्ध संग्रह २०६९, “सुप्लाको हवाइजहाज”- कवितासंग्रह २०७२ र “मैदारो” – उपन्यास २०७५ गरी ५ कृति प्रकाशित छन् । कवि भूपिन २०५३ सालबाट सुरु भएको “संरक्षण कविता आन्दोलन” का संस्थापक सदस्य समेत हुनुहुन्छ ।

sagarmani mobile size

कार्यक्रममा उहाँको साहित्य लेखन यात्रा, सिर्जनात्मक अनुभवसहित नेपाली साहित्यका विविध पाटोमा केन्द्रित रहेर कुराकानी गरिने कार्यक्रम संयोजक तथा कवि/चित्रकार जीवित खड्का मगरले जानकारी गराउनु भयो । साहित्यपोस्टका युएई संयोजक समेत रहनु भएका कवि डि जि शर्माले युएईबाट कार्यक्रम सञ्चालन गर्नुहुनेछ ।

प्रतिक्रिया
Loading...