रहस्यमय कथा समेटिएको बालपुस्तक ‘जादुई कमिज’ कथालय इन्कले हालै प्रकाशन गरेको छ ।

हरेक दिन राजकुमारीको जुत्ताको तलुवामा प्वाल पर्ने रहस्य पत्ता लगाउन राजाले चालेको कदमबारे कथामा वर्णन गरिएको छ । राजकुमारीले हरेक रात नयाँनयाँ जुत्ता लगाएर सुते पनि बिहान प्वाल परेपछि राजा छक्क पर्छन् र कसैले यो रहस्य पत्ता लगाए छोरीसँग उसको बिहे गरिदिने घोषणा गर्छन् । त्यसपछि यो काम आफूले गर्न सक्ने प्रस्ताव लिएर राजाकहाँ पुगेको मुडुले केटोको यात्रा र योजना नै कथाको रोचक पक्ष हो ।

सेतो घोडा र तीन महिना समय लिएर निस्केको मुडुले केटोले बाटोमा कसरी जादुई कमिज भेट्टाउँछ र त्यसको सहयोगले कसरी राजकुमारीको जुत्ता प्वाल पर्ने रहस्य पत्ता लगाउँछ भन्ने चासोलाई रमाइलो तरिकाले व्याख्या गरिएको छ । दिनहुँ टाउको दुखाइको विषय बनिरहेको घटनाको रहस्य अन्ततः कसरी सुल्झिन्छ ? के राजाले मुडुलो केटोलाई राजकुमारी सुम्पेलान् ? यो बाल चित्रपुस्तकले बताउँछ ।

नार पब्लिसिङले टर्किस भाषामा ‘सिहिर्ली गोम्लेक’ शीर्षकमा प्रकाशन गरेको पुस्तकलाई कथालयकी कार्यकारी अधिकृत सुनिती अमात्यले नेपालीमा अनुवाद गरेकी हुन् । टर्किस लेखक मुस्तफा रुही सिरिनको यो कथामा ओस्मन खेहरीले चित्रांकन गरेका छन् ।

सन् १९५५ मा टर्कीको ट्राब्जनमा जन्मिएका लेखक सिरिनले बालबालिकासम्बन्धी लेखन र कला, साहित्यमा लामो अनुसन्धान गरेका छन् । आफ्नै गाउँ मक्का र अह्लातमा प्राथमिक शिक्षा हासिल गरेका उनले उच्च शिक्षा भने एआईटीआईए जर्नालिजम् एन्ड पब्लिक रिलेसन्स स्कुलमा पूरा गरे । उनले त्यहाँ १९७४ देखि १९७८ सम्म रेडियो–टेलिभिजन कार्यक्रममा विशेष ज्ञान पनि हासिल गरे । उनले अंकारा विश्वविद्यालयको शैक्षिक विज्ञान संकायबाट आर्ट हिस्ट्री विषयमा पनि अध्ययनलाई अघि बढाएका थिए ।

१९८१ इस्तानबुल रेडियोमा नियुक्त भएपछि उनले धेरै शैक्षिक र सांस्कृतिक कार्यक्रम निर्माण गरे । १९८४ मा रेडियोको बाल प्रसारण प्रमुख निर्माताका रूपमा जिम्मेवारी पाएपछि बालबालिकासम्बन्धी कार्यक्रमलाई अझ विस्तार गरे । संस्कृति मन्त्रालय, प्रधानमन्त्री मानवअधिकार शिक्षा कार्यक्रमलगायत दर्जनौं संस्थामा काम गरेको अनुभव उनीसँग छ । पछि उनी २००१ मा टर्किस कोलिसन फर द राइट्स अफ चाइल्डका संस्थापक र प्रवक्ता पनि बने । आमसञ्चार र सांस्कृतिक परिवर्तनका विषयमा अनुसन्धान गरेका उनी १९७९ पछि भने बालसाहित्यतिर केन्द्रित भएका हुन् । उनी बाल प्रतिष्ठानका अध्यक्ष, टर्कीको लेखक संघका सदस्य हुन् ।

उनले फेयरी टेल लेटर्स (१९८३), गोल्डेन टाइल्ड प्यालेस (१९८३), द माइन्ड अफ द स्टर्क (१९८३), अ बटरफ्लाई अन्डर स्नो (१९८८), बर्ड ट्री (१९९२) लगायत कथा लेखेका छन् । उनका बाल कविताकृति स्काई फ्लावर्स (१९८३), बेबिज् प्रेयर (१९८५), चाइल्ड्स बर्ड इन माई हार्ट (१९९१), स्टार काउन्टिङ ट्री (२००२) प्रकाशनमा छन् । अन्य विधा र विभिन्न अनुसन्धान कृतिमा पनि उनको महत्वपूर्ण योगदान छ ।

लेखक सिरिनले टीएमकेभी हिज्रा कविता प्रोत्साहन पुरस्कार (१९७९), केएएसडी बाल साहित्य पुरस्कार (१९८३), टर्की लेखक संघ बाल साहित्य पुरस्कार (१९८४), रेडियो कार्यक्रम र यसको टीभी शृंखला डाउन टु टुडे आवरका लागि बाल साहित्य पुरस्कार (१९८६) लगायत अनेक पुरस्कार र सम्मान पाएका छन् ।

यस्तै, १९४९ मा इस्तानबुलमा जन्मिएका चित्रकार ओस्मान खेहरीका चित्र धेरै बालपुस्तकका साथै पत्रिकामा प्रकाशित छन् । मारमरा विश्वविद्यालयबाट १९७१ मा एप्लाइड फाइन आर्टस्मा स्नातक गरेर उनी लन्डनको म्याडिसन आर्टिस्ट ग्राफिक्स स्टुडियोमा काम गर्न १९७३ मा त्यसतर्फ लागे । लन्डनबाट फर्किएर उनी टर्कीका केही विज्ञापन कम्पनीमा कला निर्देशकका रूपमा आबद्ध भए । १९७७ देखि उनी स्वतन्त्र रूपमा ग्राफिक्स र इलुस्ट्रेटर भएर सक्रिय बने । उनले पोस्टर, प्रिन्ट डिजाइन, बालकथा र अन्य कथाहरुमा धेरै काम गरेका छन् ।

२८ पृष्ठको ‘जादुई कमिज’को मूल्य २२५ रुपैयाँ राखिएको छ ।