धरान / प्रबोध साप्ताहिक पत्रिका १२ औँ वर्ष प्रवेश गरेको अवसरमा तीन पत्रकारसहित ६ जनालाई नदगसहित सम्मान गरिएको छ । शनिबार धरान–१२ स्थित होटल पूर्वी स्टारमा पत्रकार महासङ्घकी केन्द्रीय सदस्य सरिता बराइलीले सम्मान–पत्रसहित पुरस्कार प्रदान गर्नुभयो ।
बालकुमारी श्रेष्ठको स्मृतिमा स्थापित बाल ‘अंशु’ स्मृति पत्रकारिता पुरस्कार दिव्यरोशनी साप्ताहिककी सम्पादक मनिता चाम्लिङलाई प्रदान गरियो। यस्तै रेशबहादुर लम्जेल स्मृति साहित्यिक पत्रकारिता पुरस्कार कौशिकी द्वैमासिक साहित्यिक पत्रिकाका चेतनाथ धमलालाई प्रदान गरियो । यसैगरी पदमकुमारी लम्जेल स्मृति लेखन पुरस्कार डिल्ली नेपाली र पतिश्वरा राई स्मृति साहित्य पुरस्कार सुमित्रा वाङ्देल ‘चेली’ लाई प्रदान गरियो ।
पुरस्कृत प्रत्येकलाई नगद ५ हजारसहित सम्मान गरिएको हो ।
साथै सामाजिक व्यक्तित्व मनप्रसाद देवान र गणेशकुमार देवानलाई पनि सम्मान गरियो । विष्णु–नन्द स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार पीबी दियालीलाई प्रदान गर्ने निर्णय भए पनि पुरस्कार ग्रहण गर्न नआएपछि रद्द गरिएको पत्रिकाका प्रकाशक लम्जेल सङ्घर्षशीलले जानकारी दिनुभयो । उनका अनुसार उक्त पुरस्कार साहित्यिक पत्रिकाको वार्षिक उत्सवमा अर्कै व्यक्ति छनौट गरी प्रदान गरिनेछ । कार्यक्रममा फोनिज १ नं. प्रदेशका अध्यक्ष शन्तवीर लामा, जसपा धरान अध्यक्ष ताजुव लिम्बूलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रबोध पत्रिकाकी प्रधान सम्पादक जमुना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने पत्रिकाकी कार्यकारी सम्पादक गणेशकुमारी राईले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रगतिवादी कवियत्री लता कार्कीले कविता वाचन गर्नुभएको थियो भने जनवादी कलाकार स्लामको जनवादी गीत प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी )का केन्द्रीय सदस्य पेमा लामा, माओवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रवीण दर्नाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका प्रदेश सदस्य कुमार खाती, जनता समाजवादी पार्टीका धरान अध्यक्ष ताजुव लिम्बू ,फोनिजका प्रदेश अध्यक्ष सन्तवीर लामा, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ धरान सचिव रीता खापुङ र किरान देवान समाजको अध्यक्ष गणेशकुमार देवान लगायतका वक्ताहरूले मन्तव्य राख्नु भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।