साहित्यपोस्टले प्रकाशन गर्न लागेको सेल्फहेल्प पुस्तक ‘इट अल बिगिन्स विद युः द आर्ट अफ अ पिसफुल, ह्याप्पी एन्ड हेल्दी लाइफ’को अग्रिम बुकिङ खुला भएको छ । अग्रिम बुकिङ गर्दा ५० प्रतिशत छुटमा पुस्तक पाइने साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले बताउनु भएको छ ।
पुस्तकको मूल्य ४९९.९९ रूपैयाँ तोकिएको छ । अग्रिम बुकिङ गरे २४९.९९ मा नै हार्ड बाउन्ड कपी प्राप्त गर्न सकिने बताइएको छ ।
अग्रिम बुकिङका लागि ९८५१०९७८८८ र ९८६००८१५८६ मा सम्पर्क गर्न सकिने तथा sahityapost2020@gmail.com मा इमेलमार्फत संवाद गर्न सकिने कोइरालाले बताउनुभयो ।
अमेरिकाको स्वतन्त्र प्रकाशन समूह आउट स्कर्ट्स प्रेस इन्कले २०२१ मा प्रकाशित नेम खड्गेद्वारा लिखित पुस्तक ‘इट अल बिगिन्स विद युः द आर्ट अफ अ पिसफुल, ह्यापी एन्ड हेल्दी लाइफ’लाई नेपालमा साहित्यपोस्टले प्रकाशन गर्दैछ ।
पछिल्लो समय गैरआख्यानप्रति युवापुस्ताको रूचि बढ्दै गएको देखिएपछि र त्यसमा पनि सेल्फहेल्प विधाको लोकप्रियता नेपालमा देखिएपछि आफ्नो सो पुस्तकलाई नेपालमा पनि प्रकाशन गर्ने तयारी भएको हो ।
अमेरिकामा प्रकाशन भएको केही समयभित्रै सेल्फहेल्प विधामा यो पुस्तकले बेस्टसेलरको पाँचौँ नम्बरमा स्थान बनाएको थियो ।
नेपालका युवामा पनि सेल्फहेल्प र ननफिक्सन विधाका पुस्तकमा राम्रो रूचि देखेकाले अमेरिकामा रूचाइएको आफ्नो पुस्तक अंग्रेजीमा पढ्न रूचाउने पाठकका लागि उपयुक्त हुने ठानी नेपाल संस्करण प्रकाशन गर्न लागेको लेखक खड्गेले बताउनुभयो ।
मान्छेको आवश्यकता, आफैँलाई चिन्ने, लक्ष्य निर्धारण गर्ने, अरूका कुरा सुन्ने, सकारात्मक प्रवृत्ति विकास गर्ने, दैनिक राम्रा बानी बसाल्ने, आफूलाई सक्दो परिवर्तन गर्ने तथा नसक्नेलाई स्वीकार गर्ने, आफैँलाई र अरूलाई पनि सम्मान गर्ने, दैनिक तनाव व्यवस्थापन गर्ने, खुसी सिर्जना गर्ने र अरूलाई प्रभाव पार्ने लगायत अन्य शीर्षकका १५ अध्यायमा विभाजित ११२ पृष्ठको यो पुस्तकको अमेरिकी संस्करणको बलियो गाता र नरम गाता दुवै संस्करणमा प्रकाशित भएको थियो । नेपालमा भने बलियो गाता (हार्ड कभर संस्करण) मात्र प्रकाशन हुने बताइएको छ ।
लेखक नेम खड्गेले भन्नुभयो, ‘धेरैजसो सेल्फहेल्प पुस्तक सिद्धान्त र मनगढन्ते कुरामा आधारित हुन्छन् । मेरो यो पुस्तक चाहिँ आफ्नै अनुभवमा आधारित हो । मैले जीवनका ४० वर्ष जे कुरा सिकेँ, जाने, बुझेँ, त्यसैलाई सैद्धान्तिकीकरण गरेको हुँ । प्रत्येक शब्द, कथा र भावनामा मैले जीवनमा गरेका प्रयोग र त्यसबाट आएका नतिजाहरू छन् । त्यसैले निराशामा रहनु भएका र नयाँ केही गर्छु भनी कम्मर कस्नु भएकाहरूका लागि यो उपयुक्त खुराक हुनसक्छ ।’
उहाँले अंग्रेजी संस्करणको नेपालमा प्रकाशित पुस्तकको माग राम्रो देखिएका खण्डमा नेपाली अनुवाद पनि आउन सक्ने बताउनुभयो ।
अधिकांश मानिसहरूलाई जीवनमा के, कहाँ, कहिले, कसरी र किन गर्ने भन्ने थाहा हुँदैन । तिनलाई शान्ति, खुसी र स्वस्थ जीवन कसरी बाँच्ने र अघि बढ्ने भन्ने कला यस पुस्तकले विस्तारपूर्वक सिकाउँछ ।
लेखकको विश्वास छ, सम्पूर्ण मानवलाई नै यतिबेला मानसिक तथा शारीरिक सुस्वास्थ्य चाहिएको छ र यो हासिल गर्नका लागि आत्मानुशासन चाहिन्छ । सकारात्मक सोच, ध्यान, स्वस्थ खानपिन, नियमित शारीरिक अभ्यासबाट शान्तिपूर्ण, खुसियालीपूर्ण र स्वस्थ जीवन बाँच्ने सूत्र के हो भनी यस पुस्तकमा सिकाइएको छ । यिनै कुरालाई जीवनमा अँगाल्दा जो कसैले पनि उनीहरूले जीवनमा चाहेका कुरा पूरा गर्न सक्ने र व्यक्तिबाटै शुरू हुने पुस्तकले बताएको छ ।
पुस्तकका लेखक अमेरिकामा उत्प्रेरक वक्ता र प्रामाणिक लाइफ कोच हुनुहुन्छ । उहाँले एक दशकयता स्वतन्त्र रूपमा विभिन्न व्यक्ति तथा समुदायलाई जीवन बदल्ने यस्ता तालिमहरू नियमित रूपमा प्रदान गरिरहनु भएको छ ।
बिजनेस एडमिनिस्ट्रेसन र म्यानेजमेन्ट इन्फरमेसन सिस्टम गरी दुई विषयमा स्नातकोत्तर उपाधि प्राप्त गर्नु भएका उहाँ कर्पोरेट वर्ल्ड इन्फरमेसन टेक्नोलजी लिडरसिप, मानवीय व्यवहार र मनोविज्ञानजस्ता विषयका जानकार हुनुहुन्छ ।
उहाँका मोटिभेसनल भिडियोहरू युट्युबमा खुब रूचाइएका छन् । उहाँले संसारभरबाट सोधिएका विविध प्रश्नहरूलाई आफ्नो जीवनका कामलाग्दा अनुभव, अप्ठेरा र तिनलाई सुल्झ्याउन सकिने सजिलो तरिकाबारे भिडियो बनाउने गर्नु भएको छ । सयौँ कामलाग्दा भिडियोबाट लाभग्राहीहरूले लाभ उठाएका छन् ।
उहाँका भिडियो नियमित रूपमा हेर्न यो च्यानलमा क्लिक गर्नुहोस्
[embedyt] https://www.youtube.com/watch?v=dPJp136sm7s[/embedyt]
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।