साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

म्यामराज राईको ‘हाम्रो बाटो’माथि परिचर्चा सम्पन्न

Chovar Blues Mobile Size

म्यामराज राईकृत पहिलो लघुकथासङ्ग्रह ‘हाम्रो बाटो’को परिचर्चा कार्यक्रम शनिबार सम्पन्न भयो । नमस्ते आधुनिक लघुकथा मञ्चले परिचर्चा कार्यक्रमको आयोजना गरेको हो ।

नेपाली लघुकथामा एक उदाउँदा व्यक्तिका रूपमा परिचित म्यामराज राईको जन्म वि.सं. २०७४ साल असार १२ गते भोजपुर जिल्लाको हतुवागढी ६ होम्ताङमा भएको हो । माता आशबुङ र पिता जोगबहादुर राईका पुत्र म्यामराजले लघुकथाका साथै कविता र गजल पनि लेख्ने गर्नु हुन्छ । राईको ‘हाम्रो बाटो’ लघुकथासङ्ग्रह २०७९ सालमा प्रकाशित पहिलो लघुकथा सङ्ग्रह हो । यस सङ्ग्रहमा जम्मा ६१ ओटा लघुकथाहरू समावेश गरिएका छन् ।

कार्यक्रममा रूपमा प्रा. डा. कपिल लामिछाने, डा. विदुर चालिसे, डा. शेखरकुमार श्रेष्ठ, डा. शंकरप्रसाद गैरे र श्री हरिप्रसाद भण्डारीको सहभागिता थियो ।

लघुकथाकार, समालोचक, लोकसाहित्यका साधक तथा बालसाहित्यकार प्रा. डा. कपिल लामिछानेले ‘हाम्रो बाटो’ लघुकथासङ्ग्रहलाई विषयवस्तुका दृष्टिकोणले समयसन्दर्भ अनुकूल देखिएको बताउनुभयो । यसका साथै विषयवस्तु, पात्रको चरित्र, परिवेश, उद्देश्य, भाषाशैलीका कोणबाटसमेत समग्र कृतिका बारेमा सङ्क्षेपमा चर्चा गर्नुभयो । उहाँले भन्नुभयो म्यामराज राई जापानको भूगोलमा रहेकाले नेपाली भूगोल र जापानको भूगोललाई आधार बनाई अब त्यहाँको संस्कार संस्कृति, चालचलन, रीतिरिवाज, परम्परा, परिवेश, चेतना, विकास, उद्योग, शिक्षालगायतका विषयलाई आधार मानी लघुकथा लेखन अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

लघुकथासङ्ग्रहको परिचर्चाकारको रूपमा वरिष्ठ साहित्यकार तथा समालोचक डा.विदुर चलिसेले म्यामराज राईको ‘हाम्रो बाटो’ लघुकथासङ्ग्रहलाई भाषिक प्रयोग तथा शिल्पशैलीका दृष्टिकोणबाट चर्चा गर्नुभयो । राईले लघुकथामा प्रयोग गर्ने भाषा सरल, सहज र सरस हुनुका साथै परिवेश अनुकूलका शब्दको प्रयोग भएकाले नेपाली भाषाको शब्दभण्डारमा वृद्धि भएको बताउनुभयो । जापानी शब्दको प्रयोग ठेट पूर्वेली शब्दको प्रयोगले लघुकथा आस्वाद्य भएको चर्चा गर्नुभयो । यसका साथै लघुकथासङ्ग्रमा रहेका कथाहरूले प्रदान गरेको उद्देश्यसमेत प्रष्ट पार्नुभयो ।

sagarmani mobile size

परिचर्चाकै क्रममा अर्का परिचर्चाकारको रूपमा साहित्यकार तथा समालोचक डा.शेखरकुमार श्रेष्ठले राईको कृतिमाथि चर्चा गर्दै ‘हाम्रो बाटो’ लघुकथासङ्ग्रहका आधारमा म्यामराज राईका लघुकथागत विशेषताहरूको चर्चा गर्नुभयो । यसका साथै राईको अबको लेखनयात्रा परिष्कृत तथा डायस्पोरियन शैलीमा जानुपर्ने कुरासमेत राख्नुभयो ।

लघुकथासङ्ग्रहको परिचर्चा कार्यक्रममा परिचर्चाकारको रूपमा साहित्यकार तथा समालोचक डा. शंकरप्रसाद गैरेले ‘हाम्रो बाटो’ लघुकथासङ्ग्रहमा सङ्गृहित लघुकथालाई पात्रका दृष्टिले चर्चा गर्नुभयो । राईका लघुकथामा मानवीय, मानवेतर पात्रको प्रयोग गर्नुका साथै वर्गीय, प्रमुख, सहायक र गौँण पात्र रहेको कुरालाई प्रष्ट पार्दै लघुकथामा समावेश गरिएका वा प्रयोग भएका पात्र जिउँदा जाग्दा देखिएको कुरा उल्लेख गर्नुभयो ।

लघुकथासङ्ग्रहकै परिचर्चा कार्यक्रममा परिचर्चाकारको रूपमा वरिष्ट साहित्यकार तथा समालोचक हरिप्रसाद भण्डारीले ‘हाम्रो बाटो’ लघुकथासङ्ग्रहमा समाविष्ट लघुकथालाई राईको लेखन तथा लघुकथागत अवस्थाको समष्टिगत रूपमा चर्चा गर्दै विषयवस्तुको उठान गर्नुभयो । यसका साथै उहाँले सङ्ग्रहभित्रको गुणात्मक र सुधारात्मक पक्षलाईसमेत उल्लेख गर्नुभयो ।

कार्यक्रमका मुख्य आकर्षक तथा लघुकथासङ्ग्रहका लेखक तथा नमस्ते आधुनिक लघुकथा मञ्चका एक व्यवस्थापक म्यामराज राईले सबैलाई धन्यवाद दिँदै आफूले गर्नुपर्ने सुधारात्मक पक्षलाई अगाडि बढाउने वाचा गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा नमस्ते आधुनिक लघुकथा मञ्चका संस्थापक अध्यक्ष तथा परिचर्चा कार्यक्रमका सभापति घनश्याम डल्लाकोटी ‘कृष्णजी शार्मा’ले कार्यक्रमको समग्र पाटोसहित मञ्चले गर्ने आगामी गतिविधिलाईसमेत प्रष्ट्याउनुभयो ।

यस परिचर्चा कार्यक्रममा प्राज्ञ व्यक्तित्वको उपस्थितिले कार्यक्रम ओझिलो बन्नुका साथै थप प्रभावकारी बनेको थियो । सो परिचर्चा कार्यक्रममा परिचर्चाकारका साथै नमस्ते आधुनिक लघुकथा मञ्चकी संरक्षक तथा सल्लाहकार रञ्जुश्री पराजुली, मञ्चका व्यवस्थापक तथा सचिव वसन्त अनुभव, कोषाध्यक्ष यमुना प्रधानाङ्ग, सदस्य कमल पौडेल, गणेश नेपाली, नानी विबुलगायत अन्य व्यक्त्विहरूमा छायादत्त न्यौपाने, छविलाल खड्का, मीठूकुमारी पाठक, हेम पोखरेल, सिएन बन्जाडे, दीनानाथ पाण्डे, महेश जिज्ञाशु, प्रकाश वाग्लेसहितको सहभागिता रहेको थियो । सो कार्यक्रममा जुम एप भर्चुअलको व्यवस्थापनमा प्रकाश वाग्लेको सहयोगी भूमिका थियो ।

शेखर अर्यालले सो कार्यक्रमलाई सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया
Loading...