पोखरा / साउन ७ गते वन तथा वातावरण साहित्यिक समूहको आयोजना तथा हिमाली संरक्षण समूह, पोखराको प्राविधिक संयोजनमा साहित्यकार डा. ऋषि बस्ताकोटीको हालै प्रकाशित मुक्तक संग्रह “विसङ्गत बस्ती”माथि परिचर्चा परिचर्चा कार्यक्रम सम्पन्न गरियो ।

कार्यक्रममा दुई दर्जनभन्दा बढी साहित्यकारहरूको उपस्थिति थियो । साहित्यकार रोशन शेरचन, मुक्तकमणि तीर्थराज अधिकारी र पोखरा प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य सरस्वती श्रेष्ठ ‘सरु’ वक्ताका रुपमा उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रमको प्राविधिक संयोजन गर्ने संस्था हिमाली संरक्षण समूह, पोखराका संस्थापक अध्यक्ष डा. भरतमान श्रेष्ठले सहभागीहरुलाई स्वागत गर्दै हिमाली संरक्षण समूह र वन तथा वातावरण साहित्यिक समूहले शुरुवात गरेको यस प्रकारको कार्यक्रमले सकारात्मक संदेश छर्ने र सृजनात्मक लेखन भविष्यमा अझै परिस्कृत बन्दै जाने आशा व्यक्त गर्नुभयो |

डा. हिमलाल श्रेष्ठद्वारा सञ्चालित सो कार्यक्रममा रोशन शेरचनले साहित्यकार बस्ताकोटीको वन विज्ञान क्याम्पस, पोखरा पढ्दादेखिको साहित्यप्रतिको अभिरुचि, लगनशीलता अनि शालीनताको प्रसङ्ग कोट्याउँदै तत्कालिक समयको प्रखर अभिव्यक्ति उहाँका रचनामा मुखरित हुने गरेको उजागर गर्नु भयो | त्यसैगरी हालै प्रकाशित मुक्तक संग्रह ‘विसङ्गत बस्ती’ मा पनि त्यो उचाई हासिल भएको उहाँले बताउनुभयो ।

त्यसैगरी तीर्थराज अधिकारीले प्रस्तुत कृति एउटा उचाई प्राप्त मुक्तक संग्रह भएको र उनले तत्कालको समयमा कविलाई बिझेको विषय चार पदीय प्रणालीको मुक्तकको रुपमा सार्थक अभिव्यक्त गर्नु भएको कुरा बताउनु भयो |

प्राज्ञ सरस्वती श्रेष्ठ ‘सरु’ले कबि ऋषि बस्ताकोटी उमेरका हिसाबले अनुज भए पनि कवि बस्ताकोटी निकै अनुभवी रचना पस्कनु हुने बताउनु भयो । साथै हालै प्रकाशित उहाँको मुक्तक संग्रहमा संग्रहित मुक्तकहरू निकै सटीक, सरल, सु-ललित तथा चोटिला पाएको सुनाउनु भयो | साथै उहाँले विविध समय अन्तरालमा लेखिएको मुक्तकहरूले धर्ति, आकाश, माटो, मातृभूमि, शासन, अनुशासन, सुशान, बा – आमालाई समेटेर वर्तमानमा भोग्नु परेको विरोधाभास र विसंगतिपूर्ण समयको प्रतिनिधित्व गर्दै रचना गर्नु भएको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा उपस्थित साहित्य अनुरागीहरूसँगै सृजनात्मक साहित्य लेखनमा क्रियाशील दुई दर्जनभन्दा बढी साहित्यकार एवम साहित्यानुरागी नेपाल, क्यानडा, अमेरिका, बेलायत, भारत लगायतका स्थानबाट अनलाइनमा जोडिनु भएको थियो |

कार्यक्रममा विष्णु आचार्य, कमला रुपाखेती, ईश्वर देवकोटा, पदम विश्वकर्मा, सानु खनाल, शिव पलाँस, विजय हितान, नम्रता गुरागाईं, छत्र कार्की, मुक्ति गौतम, कुशुमाकार शर्मा, युवराज भण्डारी, हिममाया पौडेल, सुरेश भट्ट, नवराज पुडासैनी, देवेन सापकोटा समेत जोडिनु भई छलफलमा सहभागी हुनुहुन्थ्यो | उपस्थित सबैजसो सहभागीले कवि बस्ताकोटी तथा उहाँको कृतिबारेमा बोल्नुभयो | रचनाकार ऋषि बस्ताकोटीले आफ्नो कृतिका बारे छलफलमा उठेका विषयमा मन्तव्य दिँदै सबैप्रति आभार प्रकट गर्नुभयो ।

कार्यक्रमको अन्त्य रोशन शेरचनले बन तथा बाताबरण साहित्यिक समूहको आगामी कार्यक्रममाथि प्रकाश पार्दै आगामी दिनमा नेपाली साहित्यमा सिद्धहस्त लेखकहरुको सहभागितामा विधा केन्द्रित मेन्टरशीप कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो।