इस्माली

काठमाडौं, साउन ८ / यौनजन्य दुर्व्यवहारको आरोप लागेका कवि संगीत श्रोताले नैतिकताका आधारमा राजीनामा दिएपछि मार्क्सवादी सांस्कृतिक मोर्चा, नेपालले शनिबार बैठक बसी सङ्गठनलाई पुनर्गठित गरेको छ ।

मोर्चाका संयोजक चर्चित साहित्यकार इस्मालीको अध्यक्षतामा बसेको बैठकले श्रोताले दिएको राजीनामा स्वीकृत गरेको छ । यस्तै अन्य सदस्यहरूले पनि राजीनामा दिएपछि रिक्त स्थान पूर्ति गरिएको छ । जसमध्ये रिक्त रचिव पदमा समितिका सदस्य कवि विष्णु भण्डारीलाई चयन गरिएको छ ।

विगतमा नेपालका प्रगतिशील तथा प्रगतिवादी धाराका साहित्यकर्मीहरूको साझा सङ्गठनको रुपमा रहेको प्रगतिशील लेखक सङ्घले क्रमशः पश्चगमनको बाटो लिएको, नवसंसोधनवादी धारा पक्डेको र सरकारको प्रतिगामी कदमको विरोध गर्नुको साटो मूकदर्शक बनेर प्रतिगामी कदमलाई समर्थन गर्न पुगेको बताउँदै गैरसंसदवादी धाराका क्रान्तिकारी मार्क्सवादी साहित्यकारहरूले प्रलेस वहिष्कार गर्दै यो मार्क्सवादी सांस्कृतिक मोर्चा गठन गर्नु भएको थियो ।

मोर्चाको हिजो बसेको बैठकले आजको अवस्थामा मोर्चाको आवश्यकता अझ बढी आवश्यक भएको बताउँदै सङ्गठनलाई अब क्रियाशील बनाएर लैजाने जनाएको छ ।

प्रेस विज्ञप्ति निम्नलिखित रहेको छः

यही मिति २०७९/४/७ गते बसेको मार्क्सवादी सांस्कृतिक मोर्चाको राष्ट्रिय सम्मेलन तयारी समितिको बैठकले गरेका निर्णयहरू सार्वजनिक गरिएको छ ।

यति बेला नेपालको मार्क्सवादी सांस्कृतिक आन्दोलनमा वैचारिक विचलन र संसदवादको प्रभाव बलियो बन्दै गएको छ र यसबाट सिर्जना तथा चिन्तन दुबै क्षेत्रमा चुनौतीहरू बढ्दै गएका छन् भन्ने ठहर यो मोर्चाले गरेको छ । यस पृष्ठभूमिमा यी प्रवृत्तिका विरुद्ध जुध्न र थपिँदै गएका चुनौतीहरूको सामना गर्न मार्क्सवादी सांस्कृतिक मोर्चाको सक्रियता झन टड्कारो बन्न पुगेको अनुभूति गर्दै विभिन्न घटकमा प्रतिबद्ध तथा स्वतन्त्र मार्क्सवादी संस्कृतिकर्मीहरूलाई सबैखाले विचलन, विद्रूपन र विभ्रमका विरुद्ध एकताबद्ध भई अघि बढ्न यो बैठक हार्दिक आह्वान गर्दछ ।

मोर्चाका सचिव श्री सङ्गीत स्रोताले “आफूमाथि महिला लेखकद्वारा लगाइएको यौन दुर्व्यवहारको आरोपका बारेमा आफूले त्यसको प्रतिवाद गरिरहेको भए पनि सार्वजनिक रूपमा यति गम्भीर आरोप लाग्नु स्वतः नैतिक प्रश्न हुने भएकाले तत्कालका लागि यस मोर्चाको सदस्य पदबाट अलग हुने” बेहोराको पत्र मोर्चामा प्रस्तुत गर्नु भएको र यो विषय संवेदनशील तथा गम्भीर नैतिक प्रश्नसँग सम्बन्धित भएको परिस्थितिमा यस विषयको टुङ्गो नलागुन्जेल उहाँ सदस्यका रूपमा यस मोर्चामा रहनु उपयुक्त नहुने भएकाले उहाँ यस मोर्चामा नरहनु भएको कुरालाई यो मोर्चा स्पष्ट पार्दछ ।

यसै बैठकले रिक्त हुन पुगेको मोर्चाको सचिवमा समितिका सदस्य श्री विष्णु भण्डारीलाई जिम्मेवारी दिने निर्णय पनि गर्दछ ।

यस बैठकले मोर्चाको वैचारिकीप्रतिको आस्था र प्रतिबद्धतामा सिर्जित समस्या लगायतका कारण मोर्चाको यस समिति केही सदस्यहरूको स्थान रिक्त भएको र मोर्चालाई गतिशील बनाउन यसको पुनर्गठन आवश्यक भएको स्थितिलाई आत्मसात् गरी राष्ट्रिय सम्मेलन तयारी समितिलाई निम्नानुसार पुनर्गठन गरेको छः

इस्माली (संयोजक)
विष्णु भण्डारी (सचिव)
आहुति (सदस्य)
रोशन जनकपुरी (सदस्य)
प्रा. डा. चन्द्रमान बज्राचार्य (सदस्य)
प्रा. डा. ताराकान्त पाण्डेय (सदस्य)
डा. रामप्रसाद ज्ञवाली (सदस्य)
मित्रलाल पंज्ञानी (सदस्य)
कृष्णहरि भट्ट (सदस्य)
गौरी देवकोटा (सदस्य)
बलराम तिमल्सिना (सदस्य)
शकुन्तला जोशी (सदस्य)
अस्मिता बादी (सदस्य)
राजेश बान्तवा (सदस्य)
मदन प्रभात (सदस्य)
इस्माली विष्णु भण्डारी

(संयोजक) (सचिव)

२०७९/०४/०८