हरेक महिनाको पहिलो शुक्रबार सञ्चालन हुँदै आइरहेको कविता यात्रालाई साउन महिनादेखि पुनः निरन्तरता दिइएको छ। हिजो शुक्रबार साँझ कार्यक्रममा कवि तुलसी दिवस, प्राज्ञ माया ठकुरी, भागिरथी श्रेष्ठ तथा अन्य विशिष्ट कवि तथा कथाकारहरू सहित अन्य विभिन्न साहित्यकारहरूले भर्चुअल माध्यमबाट कार्यक्रमलाई सफल तुल्याउनु भएको थियो ।

कवि तुलसी दिवसले आफूले कथा, निबन्ध र उपन्यास विधामा कलम चलाएको भए पनि विशषतः कवि भनेरै देश विदेशमा चिनिएको बताउनुभयो । त्यसैले आफूलाई पनि कवितामै रमाइलो लाग्ने बताउनु भयो । उहाँले संसारभर कविताकै प्रचारप्रसारमा लागेको बताउनुभयो ।

कार्यक्रमको सिलसिलामा कवि दिवसले सम्झनाको समाधि शीर्षकको कविता वाचन गर्नु भएको थियोः

व्यर्थै किन रोयौ मलाई सम्झेर
म तिम्रै आँखाको पानी बगिरहेको छु…
०००
तिमी नखोज मलाई बाहिर कतै
म तिम्रै आँखाको नानीमा बसिरहेछुँ
व्यर्थै किन रोयौ मलाई सम्झेर…

यो गीतलाई सङ्गीतबद्ध गरिसकिएको र चाँडै नै बजारमा ल्याइनेसमेत उहाँले जानकारी दिनु भयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य माया ठकुरीले अल इन्डिया रेडियोमा रेकर्ड भएका गीतहरू गुन्गुनाउनुभयो । ती गीतले आफूलाई पुराना स्मृतिमा लगेर संघर्षका दिनहरूमा पुर्याएको उहाँले सम्झनुभयो ।

आख्यानकार भागिरथी श्रेष्ठले सुरूका दिनहरूमा आफूले पनि कविताबाटै साहित्यमा पाइला राखेको र निकै कविता लेखेको भनी एउटा कविता वाचन गरेर कार्यक्रमका स्रोताहरूको मन जित्नु भयो।

कार्यक्रममा विराटनगरकी स्रष्टा राधिका गुरागाँई, इलामका कवि विमल वैद्य, कोलोराडो- अमेरिकाबाट गंगा अभिलाषी, भुटान गान्तोकबाट जीविका अश्रु, भारतको खर्स्याङबाट देविका मंग्रान्ती राई, भुटानको गान्तोकबाटै राधा पाण्डे, मल्ल बिरही, पाँचथरबाट नीरा उमा ओडारी, काठमाडौँबाट महेश राज खरेल, इटहरीबाट राधा रमा, मीना श्रेष्ठ, चन्द्रनिगाहपुर, रौटहटबाट सरला क्षेत्री, नुवाकोटबाट सुमित्रा सुमी, लालबन्दीबाट राजेश्वरी काफ्ले, निजगढबाट सरू बस्नेत, नारायणघाटबाट केशु पोखरेल खनाल, बझाङबाट लोचनी जोशी, विराटनगरबाट सरिता भट्टराई नेपाल, बुटवलबाट सरस्वती तिवारी, आबुधाबीबाट विवेक दुलाल क्षेत्री, काठमाडौँबाट जनार्दन अधिकारी धड्कन, ललितपुरबाट सुधा मिश्र झा, मनमैजु, काठमाडौंबाट सुस्मिता श्रेष्ठ लगायतको उपस्थिति थियो ।

सो अवसरमा सीता विष्ट कार्की, तोयनाथ सुवेदी, प्रेम ओली ढकलपुरे, मीरा काफ्ले पोखरेल, सरस पाण्डे, मणिराज सिंहले पनि आफ्ना कविता, गीत, गजल आदि वाचन गर्नु भयो। कार्यक्रम प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।