साहित्यपोस्टको फेसबुक पेजमार्फत हरेक शनिबार प्रसारण हुन लागेको कार्यक्रम “साहित्यवार्ता : स्रष्टा र सिर्जना” को पहिलो अङ्कमा वरिष्ठ गजलकार डा. घनश्याम परिश्रमी आउँदै हुनुहुन्छ ।

आगामी साउन ७ गते शनिबार नेपाली समय साँझ ८ बजेदेखि एक घण्टा प्रसारण हुने सो कार्यक्रममा गजलकार डा. परिश्रमीलाई अतिथिको रुपमा निमन्त्रणा गरिएको हो ।

विगत ५ दशकदेखि नेपाली साहित्यको फाँटमा विशेषगरी गजल लेखन र विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका गजलकार डा. परिश्रमीको जन्म स्याङ्जामा भएको हो । हाल उहाँ नवलपरासीको बर्दघाटमा रहेर साहित्य लेखन र साहित्यिक गतिविधिमा सक्रिय रहँदै आउनु भएको छ ।

गजल विशेषज्ञ एवं गजल गुरुको रुपमा समेत चर्चित उहाँको वास्तविक नाम घनश्याम न्यौपाने हो । कार्यक्रममा गजलकार डा. परिश्रमीका सृजना तथा सृजनात्मक अनुभव/अनुभूतिहरू सुन्नुका साथै नेपाली गजलका विविध पाटोमा केन्द्रित रहेर विशेष कुराकानी गरिने कार्यक्रम संयोजक जीवित खड्का मगरले बताउनु भयो ।

गजल विद्वत् शिरोमणि, गजल ज्ञानमणि, गजल गौरव, नेपाल गजल गौरव लगायत उपाधिबाट सम्मानित वरिष्ठ गजलकार डा. परिश्रमीले गजलमा नै विद्यावारिधि अर्थात पिएचडी गर्नुभएको छ । उहाँ नै गजलमा पिएचडी गर्ने पहिलो नेपाली स्रष्टा हुनुहुन्छ । ‘हिन्दी र नेपाली गजलको विश्लेषणात्मक अध्ययन’ शीर्षकमा उहाँले पिएचडी गर्नुभएको हो ।

१० कक्षा पढ्दा नै खण्डकाव्य लेखिसक्नुभएका गजलकार डा. परिश्रमीको हालसम्म १९ ओटा साहित्यिक र ७ ओटा गैरसाहित्यिक गरी २६ ओटा पुस्तक प्रकाशित छन् ।

यसका अतिरिक्त विभिन्न पत्रपत्रिकाहरुमा उहाँका कविता, गीत, गजल, एकाङ्की, कथा, लेख, निबन्ध र समीक्षा समालोचनाहरु प्रकाशित हुँदै आएका छन् । साहित्य लेखनका अलावा उहाँले विभिन्न साहित्यिक पत्रिका र कृतिहरूको सम्पादन कार्य पनि गर्दै आउनुभएको छ ।

कार्यक्रम युएईको अबुधाबीबाट प्रस्तोता डिजी शर्माको साथमा प्रसारण हुनेछ ।

 

[embedyt] https://www.youtube.com/watch?v=ab6R1zt2-aw[/embedyt]