काठमाडौं / बलभद्र कुँवर र नालापानी युद्धको इतिहास समेटेर तयार पारिएको बाल जीवनी ‘वीर बलभद्र’ कथालय इन्कले प्रकाशन गरेको छ ।

रोशन पोखरेलले लेखेको बाल जीवनीमा बलभद्रको जन्मदेखि उनले राष्ट्रका लागि गरेको योगदान र वीरगति प्राप्त गर्दासम्मका घटना छन् ।

रोशन पोख्रेल भद्रपुर, झापामा जन्मनु भएको हो । उहाँका अरु बाल साहित्य र किशोर साहित्य गरी १५ ओटा पुस्तकहरू प्रकाशित छन् ।

यस पुस्तकमा बलभद्रको विवाह, पल्टनमा प्रवेशका साथै उनको कूटनीतिक क्षमता र वीरताको व्याख्यासँगै इतिहासका धेरै तथ्य बुझ्न कथा उपयोगी छ ।

भारतमा शासन गरेका अंग्रेज फौज कसरी नेपाल प्रवेश गर्न चाहे र त्यसलाई बलभद्र नेतृत्वको सैनिक टोलीले कसरी परास्त गर्यो ? कथाको दृश्य वर्णन रोचक छ । जसलाई कथाअनुसारको चित्रले अर्थपूर्ण बनाएको छ ।

त्यसबेलाको विशाल नेपालमा अंग्रेजले किन आँखा गाडे ? पूर्वमा टिष्टादेखि पश्चिममा काँगडासम्मको भूमि सुगौली सन्धिमार्फत कसरी गुमाउनुपर्यो ? कथाक्रम अघि बढ्दै जाँदा इतिहासका यस्ता यावत् प्रश्नहरूको जवाफ मिल्दै जान्छ । इतिहासका तिथिमिति र तथ्यहरूको जटिल प्रस्तुति पढ्दै आएका अभिभावकहरूका लागि पनि यो बाल जीवनी निकै सरल र छोटोमा धेरै कुरा बुझिने खालको छ ।

यस पुस्तकको आवरण चित्र रवीन्द्र मानन्धर र भित्रका चित्रहरू ध्रुव प्रजापतिले बनाउनु भएको हो । ३६ पृष्ठको पुस्तकको मूल्य ३७५ रुपैयाँ रहेको छ ।