साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सर्वनाम थिएटरमा खण्डकाव्य ‘आमा हुन्, आमा’ मञ्चित हुँदै

Chovar Blues Mobile Size

कवि गीता खत्रीको खण्डकाव्य ‘आमा हुन्, आमा’मा आधारित नाटक ‘सपना अनेक अनेक’ बिहीबारदेखि काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चित हुन थालेको छ ।

चार दशक लामो इतिहास बोकेको सर्वनामले पहिलोपटक गीति नाटक प्रस्तुत गरेको हो ।

अन्य नाटकभन्दा गीतिनाटक फरक किसिमको हुने हुनाले नाटकमा बेग्लै स्वादका लागि चिनिन्छ । संवादबिना नै गीत र संगीतसँगै कलाकारले शरीरको अभिव्यक्तिले मात्र गीति नाटकको समग्र भावलाई केन्द्रमा राखेर प्रस्तुत गरिएको छ ।

नाटकले ‘आमा’ शब्दलाई केन्द्रमा राखेर सिंगो मुलुक र महिला पात्रलाई उठान गरेको छ । जहाँ विदेशिन बाध्य युवापुस्ता, तिनिहरूले राख्ने देशप्रेम, युवाहरू विदेश पलायन भएपछि मुलुक, समाज, परिवारको अवस्था, आफ्नो सन्तानलाई बाबुको परिचय दिन नपाई मृत्यु अंगालेका कुमारी आमाहरूको कथा नाटकमा छन् । यी कथाका भावहरूलाई दर्शकले संगीतको धुन, गीतको लय र कलाकारको शारीरिक अभिव्यक्ति तथा बिम्बात्मक रुपमा प्रयुक्त विभिन्न प्रप्सले महसुस गर्न सक्ने निर्देशक अशेष मल्लले बताउनुभयो ।

संगीतकार राजु सिंहले नाटकको संगीतको धुन भर्नु भएको छ भने बानिका प्रधान र सत्यराज आचार्यले स्वर दिनु भएको छ ।

sagarmani mobile size

मुलुकको समकालीन समय र परिवेशलाई सांस्कृतिक तथा लोक परम्परामा ढाल्न कोरियोग्राफर प्रमिला कार्की उप्रेतीले कलाकारहरूको शारीरिक चाललाई घाँटु, चरिया, भरतनृत्य, नेपाली लोकनृत्यको ताल संयोजन गर्नु भएको छ ।

संगीतमा तीन दशकभन्दा लामो समयको अनुभव बटुल्नु भएका संगीतकार राजु सिंहले यस नाटकका लागि धुन सिर्जना गर्नु नौलो रहेको बताउनुभयो । ‘नाटकमा एउटा कथा र पात्रमा बाँधिएर धुन बनाउँदा साह्रै कठिन हुँदोरहेछ । जुन कुरा मैले पहिलोचोटि अनुभव गरें,’ उहाँले भन्नुभयो, ‘कथा र पात्रमा सीमित भएर धुन सिर्जना गर्दा स्वयं सर्जकले कसरी भाव महसुस गर्नुपर्छ भन्ने कुरा पनि मैले यो नाटकबाट सिक्न पाएँ ।’

लामो समयदेखि अमेरिकामा बस्दै आउनु भएकी कवि गीता खत्री आफ्नो खण्डकाव्य मञ्चित भइरहेकामा खुसी व्यक्त गर्नुभयो । हाल नेपाल भ्रमणमा रहनु भएकी उहाँले नाटकले नेपाल र नेपाली युवाको अहिलेको समग्र कथालाई उठान गर्ने भएकाले आफ्नो जीवनकै एउटा सपना पूरा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘लामो समयदेखि गीति नाटक बनाउने ठूलो सपना थियो । अहिले त्यो पूरा भएको छ । मैले मेरो सिर्जनामा देश र एउटी महिलालाई ‘आमा’को प्रतीकका रुपमा चिनाएकी छु । दर्शकहरूलाई पक्कै मन पर्नेछ ।’

साउन ५ गतेदेखि २१ गतेसम्म मञ्चन हुने नाटकमा मनोज महर्जन, भावना उप्रेती, रविना परियार, धिरज थापा मगर, मिलन शाक्य, निरीक्षा घतानी, शुँ–गूको अभिनय रहेको छ ।

प्रतिक्रिया
Loading...