
मानिसहरू जीवनभर आफूले जानेका कुरामा घोटिएर बिताउँछ । नेपाल बैंकर संघका पूर्वअध्यक्ष भुवन दाहाल भने अवकाशको उमेर ५० वर्षै हुनुपर्ने जिकीर गर्छन् । उनले हालै सो अवधारणासहितको ‘रिटायरमेण्ट एट फिप्टी’ नामक पुस्तक बजारमा ल्याएका छन्।
तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रमा बिताएका दाहाल सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश भएपछि सो पुस्तक लेखेका हुन् ।
त्यसअघि नबिल बैंकको प्रमुख वित्त अधिकृतका रुपमा काम गरेका दाहाल नेपाल बैंकर्स संघको अध्यक्षका रुपमा जिम्मेवारी सम्हालेका थिए । उनका अनुसार सातवटा अध्यायमा पुस्तकमार्फत ३० वर्षे बैंकिङ अनुभवलगायत विभिन्न विषय समेटेका छन् ।
अंग्रेजी भाषाको यो पुस्तकमा वाणिज्य बैंकका विभिन्न पक्षमा व्याख्या गरिएको छ। बैंकहरूको व्यापार, निक्षेप, ऋण परिचालन तथा नाफाका विषयमा विस्तृत व्याख्या गरिएको छ। नियामकीय व्यवस्था तथा सुधारका कुरा पनि पुस्तकमा समेटिएका छन्।
दाहालले आफ्नो पुस्तकमा आफूले नेतृत्व गरेको अर्थात् आफू प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका बैंकका बारेमा पनि विस्तृत लेखेका छन्। बैंकको व्यापारदेखि आफ्नो नेतृत्वमा भएका तुलनात्मक कार्य तथा परिणामको व्याख्या गरिएको छ।
त्यस्तै दाहाल आफू सिइओ भएको अर्को बैंक नबिल बैंकका बारेमा पनि छुट्टै व्याख्या गरिएको छ। नबिलको परिचयसँगै त्यसको व्यापारिक प्रतिफल तथा बैंकिङ परिणामका बारेमा उल्लेख गरिएको छ।
दाहालले सिइओहरूको संस्था नेपाल बैंकर्स एसोसिएसनअन्तर्गत रहेर काम गर्दाका अनुभव छुट्टै च्याप्टरमा समेटेका छन्। बैंकर्स संघले गरेका काम तथा लबिङका बारेमा पुस्तकमा उल्लेख गरिएको छ। उक्त अवधिमा संघबाट भएका काम तथा पहलका बारेमा समेटिएको छ।
पुस्तकमा दाहालले नेपालको बैंकिङको अनुभवमात्र होइन भविष्य कस्तो बनाउने? भन्ने अवधारणा पनि प्रस्तुत गरेका छन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 





