साहित्यकार ममता श्रेष्ठ​ मृदुलको ‘समकालीन लघुकथा विवेचना’ विमोचन गरिएको छ । वरिष्ठ कथाकार पद्मावती सिंहको प्रमुख आतिथ्यमा राजधानीको बत्तीसपुतलीस्थित तृप्ति रेस्टुरेन्टमा बिहीबार आयोजित एक समारोहका बीच साहित्यकारहरू प्राडा सावित्री मल्ल कक्षपति, वरिष्ठ कथाकार पद्मावती सिंह, लघुकथा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, सचिव तुलसीहरि कोइराला, स्रष्टा साँझ अमेरिकाका संस्थापक अध्यक्ष प्रभाव इच्छुक, कृतिका लेखक ममता मृदुल, प्रतिलिपि अधिकार कार्यालयका रजिस्टार विष्णुकुमारी भट्टराईले संयुक्त रूपमा उक्त कृतिको विमोचन गर्नुभयो ।

कार्यक्रमा बोल्दै प्राडा सावित्री मल्ल कक्षपतिले नेपाली लघुकथा समालोचनाका क्षेत्रमा नवीन कृति आएको बताउनुभयो । उहाँले “विधातात्त्विक समालोचनाका आधारमा यो कृति आएको छ । लघुकथा विधा अत्यन्त लोकप्रिय बनेको र यसमा मेरो बहिनी पुस्ताले प्रतिनिधित्व गरेकोमा अत्यन्त खुसी लागेको” बताउनुभयो ।

बाहिरबाट यो कृति लघुकथा सङ्ग्रहजस्तो देखिए पनि समालोचनात्मक कृति रहेको उहाँको भनाइ थियो । साथै फेसबुकजस्तो डिजिटल मिडियामा आएका लघुकथाहरू सामग्री स्रोतका रूपमा सङ्कलन गरिएकाले यसले नयाँ पद्धतिको सुरुवात गरेको उहाँले बताउनुभयो ।

कार्यक्रमा प्रतिलिपि अधिकारको कार्यालकी रजिस्टार विष्णुकुमारी भट्टराईले कुनै पनि विधाको गहन अध्ययन र विश्लेषणबिना समालोचना गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “लघुकथालाई गहिरो अध्ययन र विश्लेषण गर्नु चानचुने कुरो होइन । यस कार्यका लागि उहाँले ठूलो साहस गर्नुभएको छ ।”

कार्यक्रमकी प्रमुख अतिथि वरिष्ठ कथाकार पद्मावती सिंहले आफूले लामा खालका कथा लेखे पनि लघुकथा थोरै मात्र लेख्न सकेको बताउनुभयो । उहाँले भन्नुभयो, “आफू पनि कथाकार भएकाले लघुकथा लेखनबारे जानकार छु । लघुकथालाई चोटिलो र प्रहारात्मक पार्नुपर्ने भएकाले यो ज्यादै कठिन कार्य हो । अझ त्यसको समालोचनात्मक कृति अझ महत्त्वपूर्ण छ ।”

पछिल्लो विधालाई बहिनी पुस्ताले नेतृत्व गरेकोमा आफू हर्षित बनेको उहाँले बताइन् ।

लघुकथा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले समालोचनाको पुस्तकाकारका रूपमा आएको यो पहिलो पुस्तक भएको जनाउनुभयो । उहाँले “लघुकथा सङ्ग्रहका पुस्तक, लघुकथाको विधा सिद्धान्त र फुटकर समालोचना प्रकाशित भए पनि कृतिगत तहमा यो नै पहिलो पुस्तक” रहेको बताउनुभयो । यसभित्र केही कमीकमजोरी होलान्, त्यसको समीक्षा र सुधार हुँदै जाने र लघुकथाको यो पुस्तक आउनु आफैँमा एउटा उपलब्धि भएको उहाँको भनाइ थियो ।

कार्यक्रमको सञ्चालन तुलसीहरि कोइरालाले गर्नुभएको थियो भने राजेश खनाल, दायित्व प्रकाशनका अध्यक्ष रामप्रसाद पन्तले स्वागत मन्तव्य दिनु भएको थियो ।