साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

घिमिरे वंशावली सार्वजनिक

काठमाडौँ / घिमिरे वन्धुहरूको वंशावली ‘घिमिरे वंशावली’ सार्वजनिक भएको छ । उक्त वंशावली कवि तथा अन्वेषक रञ्जन घिमिरेले खोज–अनुसन्धान गरी तयार पारेका हुन् ।

यसअगि ‘मूर्च्छित स्वरहरु’ नामक कविताकृति बजारमा ल्याइसकेका घिमिरेको यो दोस्रो कृति हो । कोरोना भाइरसका कारण मुलुक लकडाउनमा भएका बखत पनि स्रष्टा घिमिरेले आफ्ना पुर्खा र पुर्ख्यौली थातथलोको निम्ति केही गरौँ भन्ने भावनाले धेरै अगिदेखि थालेको कामलाई पूर्णता दिएको बताए ।

घिमिरेका कीर्तिशेष पिता समाजसेवी होमनाथ घिमिरेको दोस्रो स्मृति दिवसका अवसर पारेर प्रकाशनमा ल्याएको उक्त वंशावली लकडाउनका कारण कार्यक्रम र जमघट गर्न सक्ने अवस्था नभएपछि पारिवारिक जमघटका बीच कृतिकी प्रकाशक तथा माता वेदकुमारी घिमिरेबाट सार्वजनिक गरिएको थियो ।

bahulako diary small and inside post

‘यो वंशावली आफ्ना पितापुर्खा प्रतिको सम्मान हो, त्यही कर्म मैले गरेँ, त्यसमाथि पनि आफ्नै आमाबाट कृति सार्वजनिक हुनु मेरा लागि ठूलै सौभाग्य हो,’ घिमिरेले बताए ।

उक्त वंशावलीको अग्रभागमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरेको शुभकामना मन्तव्य रहेको छ भने पछिल्लो भागलाई सैद्धान्तिक खण्ड र वंशावली खण्ड गरी विभक्त गरिएको छ । सैद्धान्तिक खण्डमा वंशावलीको सम्बन्धमा चर्चा गरिएको छ । घिमिरेहरुको गोत्र, प्रवर कुलायन परम्पराका विषयमा उल्लेख गरिएको छ ।

यसैगरी मस्टो देवताका सम्बन्धमा खोजमूलक आलेखसमेत राखिएको छ । यसमा घिमिरेका थरका सम्बन्धमा गरिएको खोज समावेश गरिएको छ । यसैगरी गोरखाको मकैसिङमा घिमिरेहरु कसरी आए, मकैसिङमा आएका घिमिरेहरुले समाजमा के कस्ता योगदान पुर्याए, उनीहरूको कुलायन पूजा के कसरी हुने गरेको छ ? दगायत मकैसिङबाट छुट्टिएर आरुपोखरी गएका घिमिरेहरुको समेत खोजपूर्ण विश्लेषण गरिएको छ ।

वंशावली खण्डमा घिमिरेहरुको मूल पुर्खाहरुको वंशको विवरण दिइएको छ भने मकैसिङमा लमजुङबाट आएका घिमिरेहरुको पुस्तौली र पितापुर्खाको उल्लेख गरी त्यसपछिका घिमिरेहरुको पितापुर्खाको विवरण राखिएको छ । उक्त वंशावलीमा अन्वेषक घिमिरेले परम्परागत वंशावली लेखन र प्रकाशनको पद्धतिलाई मात्रै नअँगालिई मातृशक्तिको महत्तालाई बोध गरी उनीहरूलाई समेत सम्मान गर्दै छोरी–बुहारीलाई समेत वंशावलीमा समेटेका छन् ।
‘वंशावली भन्नेबित्तिकै हाम्रो समाजले पुरुषको मात्रै आधिपत्य रहेको र उनीहरूकै अर्को पुरुष सन्तानको पुस्तान्तरण ठान्ने गरेको महसुस भइरहेको सन्दर्भमा केही वंशावली लेखन र प्रकाशन गर्ने संस्था तथा अनुसन्धानकर्ताले महिलालाई पनि पुरुषसरहकै स्थान दिन थालेको सन्दर्भमा मैले यस वंशावलीमा बुहारीहरूको पूर्व थर र छोरी विवाहित छोरीचेलीहरूको हकमा पनि यथासम्भव बिहेपछिको थर उल्लेख गरी समावेश गर्ने प्रयास गरेको छु,’ लेखक घिमिरेले बताए।

प्रतिक्रिया
Loading...