नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यिक रचनालाई निरन्तरता दिन स्रष्टाहरूलाई प्रोत्साहित गर्नुभएको छ ।

छिन्नलता गीत पुरस्कार गुठीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गीत, संगीत, गायनसहितको साहित्यिक रचनालाई निरन्तरता दिन स्रष्टाहरूलाई आग्रह गर्नु भएको हो ।

उहाँले गीत, संगीत र गायनको क्षेत्रलाई अगाडि बढाउन नेपाली जनता सदैव प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो। नेपाल कविता, गीत, संगीत, गायनजस्तो चाहनाहरूको परम्परा भएको मुलुक भएको उल्लेख गर्दै ओलीले त्यस परम्परालाई निरन्तरता दिएर नै अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म रचना गरिरहन सबैलाई आग्रह गर्दछु। हाम्रो साहित्यिक परम्परा, हाम्रो कवि परम्परा आजको होइन। यो परम्परालाई अघि बढाउन हामी कृतसंकल्पित छौं। गीतको क्षेत्रमा, संगीतको क्षेत्रमा, गायनको क्षेत्रमा हाम्रा साथीहरु प्रतिबद्ध हुनुहुन्छ। र, उहाँहरूलाई प्रोत्साहन गर्न हामी सबै तयार छौं। नेपाली जनता पनि यस परम्परालाई अगाडि बढाउन प्रतिबद्ध छन्।’

अध्यक्ष ओलीले गीत, संगीतसहितका साहित्यिक रचनाहरू छन्दबद्ध र लयबद्ध हुने भएकाले त्यसलाई बिर्सन नसकिने बताउनुभयो।

उहाँले नेपाल साहित्यिक रचनाहरूको पनि उद्गम थलो रहेको दोहोर्याउनुभयो। कार्यक्रममा ओलीले छिन्नलता साहित्यिक पुरस्कारबाट स्रष्टाहरूलाई सम्मान समेत गर्नुभएको थियो ।

यस पटकको छिन्नलता गीतिपुरस्कारमध्ये प्रतिभा पुरस्कार एलिना चौहानले प्राप्त गरेकी छन् ।

यसैगरी गीत रचनामा वसन्त चौधरी, सङ्गीतर्फ आनन्द राई र गायनतर्फ पवित्र सुब्बाले सो पुरस्कार प्राप्त गर्नुभएको छ ।

२०३९ सालमा रमोलादेवी शाह ‘छिन्नलता’द्वारा स्थापित यो पुरस्कार यस वर्ष तीन वर्षको एकै पटक प्रदान गरिएको थियो । कोभिड १९ का कारण यस वर्ष एक साथ प्रदान गरिएको हो ।

२०७६ सालका लागि गीत रचनामा जय योञ्जन प्यासी, संगीत रचनामा हरि लम्साल, गायनमा सुनीता सुब्बा र युवा प्रतिभा पुरस्कार अस्मिता अधिकारीले प्राप्त गर्नु भयो ।

२०७७ सालका लागि गीत रचनातर्फ आनन्द अधिकारी, सङ्गीत रचनातर्फ शान्तिराम राई र गायनतर्फ शम्भु राई, त्यस्तै युवा प्रतिभा पुरस्कार मिलन नेवारलाई प्रदान गरिएको थियो ।

यस पटक विशेष सम्मान भने दार्जिलिङमा रहेर नेपाली गीतसङ्गीतको उन्नयनमा लागिपर्नु भएका कर्म योञ्जनलाई प्रदान गरिएको थियो ।