साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सगरमाथा साहित्य प्रतिष्ठानको अध्यक्षमा अजित उत्सव चयन

Chovar Blues Mobile Size

 

सगरमाथा साहित्य प्रतिष्ठानको नयाँ अध्यक्षमा अजित उत्सव चयन हुनु भएको छ ।

प्रतिष्ठानको हिजो सम्पन्न केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले अजित उत्सवलाई केन्द्रीय अध्यक्षका रुपमा चयन गरेको हो । संस्थाले तत्कालीन अध्यक्ष जीवित खड्का मगरलाई प्रतिस्थापन गरी बाँकी कार्यकालका लागि अध्यक्षका रुपमा कवि उत्सवलाई सर्वसम्मतिले सो जिम्मेवारी सुम्पेको हो ।

शनिबार राति भएको जुम बैठकमा संस्थाका केन्द्रीय पदाधिकारीहरू, विभागीय प्रमुखहरू र पदाधिकारीहरू, नेपाल शाखाका अध्यक्ष, प्रदेश अध्यक्षहरू, संस्थाका केन्द्रीय संरक्षकहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिष्ठानको नेतृत्वमा आएका अजित उत्सव यसअघि सो संस्थाको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । बैठक उहाँकै अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिष्ठानको केन्द्रीय कार्यालय मध्यपूर्वको युएईमा रहेको छ । यो संस्थाले हरेक वर्ष साहित्यका विविध विधामा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना र पुस्तक प्रकाशन समेत गर्दै आएको छ । नेपाल लगायतका देशमा यसका शाखा रहेका छन् ।

sagarmani mobile size

सगरमाथा साहित्य प्रतिष्ठानमा २०१७ देखि आबद्ध अजित उत्सव केन्द्रीय कार्यसमितिको सदस्य, सचिव, वरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्षमा चयन हुनु भएको हो । यसअघि प्रतिष्ठानले आयोजना गरेको विश्वव्यापी नेपाली कविता प्रतियोगिताको सह-संयोजक/संचार विभाग प्रमुखका रूपमा उत्सवले जिम्मेवारी सम्हालिसक्नु भएको छ । उहाँ प्रतिष्ठानको नेपाल इन्चार्ज समेत हुनुहुन्छ ।

स्याङ्जा जिल्लामा जन्मेहुर्केका कवि उत्सवको हालको ठेगाना पोखरा हो । उहाँ विगत एक दशकभन्दा बढी समयदेखि युएईमा कार्यरत हुनुहुन्छ । उहाँ आबुधाबीस्थित एक कम्पनीमा सुपरभाइजरका रुपमा कार्यरत हुनुहुन्छ । उहाँको हालसालै “आकाशगङ्गाको किनार” नामक कविता संग्रह बजारमा आएको छ ।

निवर्तमान अध्यक्ष मगरको बहिर्गमनसँगै प्रतिष्ठानका महासचिव डि जि शर्माले पनि आफ्नो पदबाट राजीनामा दिनु भएको छ । शनिबारबाटै लागु हुनेगरी प्रतिष्ठानको आजीवन सदस्य बाहेक सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको घोषणा गर्दै बैठकमै महासचिव शर्माले राजीनामा दिनु भएको हो ।

तर बैठकले महासचिव  शर्माको राजीनामा स्वीकृत गर्ने/नगर्ने भन्ने विषयमा अर्को बैठकबाट टुङ्गो लगाउने निर्णय भएको प्रतिष्ठानका प्रवक्ता राजेशराज गड्तौलाले जानकारी गराउनु भयो ।

सन् २०२० फेब्रुअरी १४ मा बसेको प्रतिष्ठानको बैठकले कवि मगरलाई कला तथा साहित्य विभाग प्रमुख र कवि शर्मालाई सह-सचिवको रुपमा प्रतिष्ठानमा भित्र्याएको थियो ।

सन् २०२१ फेब्रुअरी १५ मा सम्पन्न प्रतिष्ठानको महाधिवेशनबाट कवि मगर अध्यक्ष र कवि शर्मा महासचिवमा निर्वाचित हुनु भएको थियो । कवि मगर गुल्मी र कवि शर्मा झापा स्थायी निवासी हुनुहुन्छ ।

प्रतिक्रिया
Loading...