भरतपुर, असार २४ / मकवानपुरका कवि छवि अनित्य स्कुल पढाउँथे । त्यहीँ पढ्ने कतिपय विद्यार्थी तुइनकाे बाटाे भएर स्कुल आउँथे । कलम, कापी नदीमा खसाल्दै स्कुल आइपुग्ने विद्यार्थीकाे अवस्था देखेर उनलाई असाध्यै मन पाेल्थ्याे । त्यही पाेलाइलाई उनले कविताकाे रूप दिए ।

पछि अरू ५१ वटा कविता थपेर कवितासङ्ग्रह निकाले र सङ्ग्रह काे नाम पनि उही राखे-‘तुइनकाे बाटाे’ ।

२०७८ मा निस्केको याे सङ्ग्रहबाट ६ वटा कविता शुक्रबार नारायणगढमा आयाेजित कार्यक्रममा कवि आफैंले सुनाए । “मैले देखेका र भाेगेका यथार्थलाई कविताको रूप दिएकाे हुँ”, चितवन साहित्य परिषद्काे सभाहलमा नेपाली लेखक संघ चितवनले आयाेजना गरेकाे कार्यक्रममा उनले भने । साेक्रममा उनले ‘तुइनकाे बाटाे’, ‘यादहरू’, ‘माछाकाे घर’ ,’राष्ट्रवाद’लगायत ६ वटा कविता सुनाए ।

तुइनकाे बाटाे छविकाे दाेस्राे कृति हाे । यसअघि उनले ‘हल्ला’ कवितासङ्ग्रह सार्वजनिक गरेका थिए ।

कार्यक्रममा कवि गणेश श्रमणले कवि छवि अनित्यसँग संवाद पनि गरे । उनले कवि अनित्यको तुइनको बाटो कवितासङ्ग्रहका सन्दर्भमा रहेर विमर्श गरेका थिए । कुराकानीका क्रममा कवि अनित्यले कवितामार्फत अनेक प्रयाेग गरेकाे श्रमणले बताए । “उहाँले ३ लाइनकाे पनि कविता बनाउनुभएकाे छ”, श्रमणले भने-“उहाँका कवितामा राजनीतिक बेथिति, सामाजिक अव्यवस्थाप्रति चाेटिलाे प्रहार पाइन्छ ।”

कार्यक्रममा सुरेन्द्र अस्तफल, वसन्त पराजुली, सिम्रन क्षेत्री, रञ्जन न्यौपानेलगायतले कवि अनित्यलाई विभिन्न जिज्ञासा पनि राखेका थिए । चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले अनित्यका कवितामा कविताको शक्ति भएको बताए । कार्यक्रमलाई नेपाली लेखक संघ चितवनका सचिव लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।