अन्तर्राष्ट्रिय शान्ति पुरस्कार २०७८ पवन चाम्लिङलाई

डा. डिल्ली रमण रेग्मी प्रतिष्ठानले रेग्मीको नाउँमा स्थापित अन्तर्राष्ट्रिय शान्ति पुरस्कार सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङलाई प्रदान गरेको छ ।
प्रतिष्ठानद्वारा आयोजित एक विशेष कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कलात्मक बुद्धको मूर्तिसहित पुरस्कार शुक्रबार चाम्लिङलाई प्रदान गर्नुभयो ।
यसै गरी डा .डिल्ली रमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. अनोजा गुरुमालाई दिइएको छ । सम्मान पत्रसहित पुरस्कारको राशि रु एक लाख रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले नेपाली भाषा, साहित्य, संस्कृतिको उत्थानमा चाम्लिङको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा, साहित्य र संस्कृतिका माध्यमबाट विश्वका नेपालीलाई एकतामा गाँस्न सकिन्छ भन्ने उदाहरण चाम्लिङ बन्नुभएको बताउनुभयो । राजनीतिज्ञले राज्यलाई सम्पत्ति र पुस्तकालय दिएको उदाहरण रेग्मीले प्रस्तुत गर्नुभएको उहाँको भनाइ थियो ।
पुरस्कृत व्यक्तित्व चाम्लिङले आफू प्रजातान्त्रिक रूपमा पाँच पटक सिक्किमको मुख्यमन्त्री चुनिएको उल्लेख गर्नुहुँदै त्यो समयमा जैविक खेतीका लागि काम गर्न सफल भएको अनुभव सुनाउनुभयो ।

नेपाल कृषि प्रधान देश भएकाले यहाँ पनि जैविक खेतीको सम्भावना प्रचुर रहेकाले त्यसतर्फ आकर्षित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
रेग्मीको नाममा स्थापना भएको पुस्तकालय विकास समितिका अध्यक्ष प्रा डा ध्रुवकुमार घिमिरेले शान्ति स्थापनामा उल्लेखनीय भूमिका निर्वाह गर्नेलाई २०७४ सालदेखि यो पुरस्कार दिइँदै आएको बताउनुभयो ।
पुरस्कार छनोटका लागि इन्दिरा दलीको संयोजकत्वमा प्रा डा मोहन लोहनी र पूर्व सहसचिव दिनेश श्रेष्ठ रहेको तीन सदस्यीय समिति गठन भएको थियो । उक्त समितिले सर्वसम्मतता पुरस्कार छनोट गरेको पुस्तकालय प्रमुख भोलाकुमार श्रेष्ठले जानकारी दिनुभयो ।