इन्जिनियर बिक्रम भक्त जोशीको निकथासङ्ग्रह ‘चोभार ब्लुज’ लोकार्पणको सङ्घारमा रहेको छ । २०७९, असार २४ गते अपराह्न २ बजे कृतिको औपचारिक लोकार्पण गरिने भएकाे हाे । लोकार्पण समारोह राष्ट्रिय नाचघर, काठमाडाैँको मिनी हलमा हुनेछ ।

निकथासङ्ग्रह ‘चोभार ब्लुज’ इन्जिनियर बिक्रम भक्त जोशीको पहिलो कृति हो । बैंकरसमेत रहेका जोशी केही समययता व्यवसायिक कार्य छाडेर साहित्य साधनामा लागेका छन् । जोशीका कथाभित्र वाग्मती सभ्यताका कुराहरु छन् । वाग्मती सभ्यताको केन्द्रमा रहेको काठमाडौँको आञ्चलिकता छ । नेवारी जनजीवन, सभ्यताका अंश छन् र आधुनिकता पसेसँगै काठमाडौँले गुमाएका अर्गानिकीकरणको अनौठा पीडा पनि छन् ।

‘बिक्रम भक्त आफ्ना कथाहरु अनौठो पारामा भन्छन् ।’, भूमिकामा साहित्यकार अश्विनी कोइराला लेख्छन्, ‘हरेक कथा प्रायोगिक छन् । स्वैरकाल्पनिकता र निकथा यस सङ्ग्रहका प्राण हुन् । यिनै विशेषताभित्र रहेर कथाकारले रमाइलो पारामा कथा भन्दै जान्छन् । हामीलाई काठमाडौँ उपत्यका र वरपरका नयाँ नयाँ कुराहरु थाहा हुँदै जान्छ । यसले ज्ञान बाँड्दैन, इतिहास भन्दैन । संस्कृतिको व्याख्या पनि गर्दैन । तर पनि कताकति सबै कुरा भन्दै जान्छन् । नयाँ नयाँ शैलीमा… ।’

१९ कथा सङ्ग्रहित पुस्तकलाई साहित्यपोस्ट समूहले प्रकाशनमा ल्याएको हो ।