श्री आदिकवि भानुभक्त जन्मस्थल विकास समिति, चुँदीरम्घा तनहुँले राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीका अवसरमा खुल्ला कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । यसका लागि २०७९ असार २० गते सोमबारभित्र कविता पठाइसक्नुपर्ने छ ।

प्रतियोगितामा सहभागी हुनका लागि कविता नेपाली भाषामा लेखिएको हुनुपर्ने, कविता यसअघि अप्रकाशित र २०० शब्दमा नबढाई युनिकोडमा टाइप गरिएको हुनुपर्ने, कविता कसैको व्यक्तिगत चरित्र, राष्ट्र, धर्म, जातजाति र राजनैतिक आक्षेप लगाउने किसिमको हुन नहुने, कविता पठाउँदा कवितासँग प्रतियोगीले आफ्नो नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर र इमेल स्पष्ट उल्लेख गर्नुपर्ने र ०७९ साल असार २० गते सोमबारभित्र पठाइसक्नुपर्ने बताइएको छ ।

छनौटमा परेका कविले असार २८ गते स्वयम् उपस्थित भई कविता वाचन गराइने बताइएको छ ।

कवितालाई adikabibhanubhakta1971@gmail.com मा पठाउन सकिने र हुलाकबाट पठाउनको लागि आदिकवि भानुभक्त जन्मस्थल विकास समिति, भानु न.पा. वडा नं. ४, चुँदी रम्घा तनहुँको ठेगानामा पठाउनुपर्ने जनाइएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु. २०,०००, द्वितीय हुनेलाई रु. १५०००, तृतीय हुनेलाई रु. १०,००० तथा सान्त्वाना दुईजनालाई रु. ५/५ हजार नगद प्रदान गरिने जारी विज्ञप्तिमा जनाइएको छ ।