काठमाडौं / तनहुँको व्यास नगरपालिका–१३, स्थित आँपस्वारामा रहेको दलित सामुदायिक होमस्टे प्रवर्द्धन गर्न ‘कन्सेप्ट नेपाल’ले मुलुकका स्थापित कवि, लेखक तथा पत्रकारहरूलाई घुमाएको छ। उसले असार १५ देखि १७ गतेसम्म ‘आँपस्वारा काव्य यात्रा–२०७९’ आयोजना गरी घुमाएको हो।
आँपस्वारामा विश्वकर्मा समुदायका १८ घरमा होमस्टे सुविधा छ। यहाँ वि.सं. २०७२ सालदेखि होमस्टे सञ्चालन गरिएको हो। लेखकहरूले दुई दिन होमस्टेमा बसेर गाउँलेसँग अन्तरक्रिया गरे।
दमौली बजारबाट ६ किलोमिटर पूर्वमा रहेको आँपस्वारा रमणिय गाउँ हो। ग्रामीण जीवनशैली, थानीमाई मन्दिर, हिमालय दर्शन र अर्गानिक खाना यहाँका विशेषता हुन्।
गाउँबाट अन्नपूर्ण हिमसृङ्खला, दमौली बजार, छाब्दीबराह मन्दिर, मानहुँकोट, सेती हाइड्रो पावर र सुन्तला बगान देखिन्छ।
छुवाछुतविरुद्ध ऐक्यवद्धता जनाउन, गाउँलेको सुखदुःख बुझ्न, पर्यटनकर्ममा लागेका गाउँलेलाई उत्साहित बनाउन र ग्रामीण जीवनशैली अध्ययन गर्न मुलुकका २६ जना लेखकहरूलाई घुमाइएको हो।
काव्य यात्रामा लेखकहरू ध्रुब मधिकर्मी, अभय श्रेष्ठ, सागर उदास, भूपिन, गनेस पौडेल, हेमन्त विवश, मनिषा गौचन, सुमन थापा ‘संगम’, उषा थपलिया, केशव सिग्देल, रमि प्रिया, लोकराज भट्ट, मेघराज आचार्य, सम्झना रसाइली, कृष्णगोपाल श्रेष्ठ, सुरेन्द्र राना, सुजिता कार्की, राजकुमार गजुरेल, भवानी शिलाकार, प्रकाश गुरुङ, घनश्याम पौडेल, सुरज उपाध्याय, कवि अमृत, संजिब पौडेल, तारानाथ पहारी र अमृत भादगाउँले सहभागी थिए।
कार्यक्रमको दोस्रो दिन विश्वकर्मा समाज भवन बाहिर चौतारीमा आयोजित कार्यक्रममा कवि तथा लेखकहरूले आआफ्ना अनुभूति र रचना सुनाए। उनीहरूले आँपस्वाराबाट फर्केर आआफ्ना अनुभव मिडियामा लेख्न सुरु गरिसकेका छन्। यसबाट आँपस्वाराको पर्यटन प्रर्वद्धनमा टेवा पुग्नेछ।
काव्य यात्राको प्रवर्द्धक नेपाल पर्यटन बोर्ड थियो भने सहयोगीमा व्यास नगरपालिका।
यात्राका संयोजक पत्रकार अमृत भादगाउँलेकाअनुसार काव्य यात्रा सफल भयो। अब आँपस्वारा गाउँको युट्युव भिडियो, बुकलेट र ब्रोसरसहितका प्रचारात्मक सामाग्री पनि उत्पादन गरिनेछ। यसबाट गाउँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ।
‘छुवाछुत मेटाउन आँपस्वाराबासीको होस्टेमा हैंसे गर्दै समग्र गाउँको पर्यटन प्रवद्र्धन गर्नु हाम्रो यात्राको मुख्य उद्धेश्य हो’, भादगाउँलेले भने, ‘त्यति मात्र होइन, हामीले जीवनमा जानेर वा नजानेर गरेका विभेदको आत्मआलोचना पनि ग-यौं।’
स्मरणीय छ, कन्सेप्ट नेपालले विगतमा ‘खप्तड काव्य–यात्रा २०७५’ र ‘फोक्सुन्डो काव्य–यात्रा २०७६’ सफलतापूर्वक आयोजना गरेको थियो। खप्तड र फोक्सुन्डोको प्रवर्द्धन गर्न ती दुवै यात्रा कोशेढुङ्गा सावित भएका थिए।
शिल्पीहरूको सम्मान
‘आँपस्वारा काव्य यात्रा–२०७९’ का अबसरमा असार १६ गते आँपस्वारा गाउँका चार जना कलाकर्मीलाई आयोजक कन्सेप्ट नेपालले जनही १० हजार रुपैयाँसहित ‘आँपस्वारा काव्य सम्मान–२०७९’ अपर्ण ग-यो।
व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेलाई प्रमुख अतिथि बनाएर गरिएको कार्यक्रममा माटोका गहना बनाउने मेनुका बि.क, आरनको काम गर्ने डिलबहादुर बि.क, मादल बजाउन सिपालु सुन्दर बि.क र बाँस तथा निगालोका सामान बनाउने कलाकार तुलसीबहादुर मगरलाई सम्मान गरिएको थियो।
गाउँघरमा बसेर सनातनी सीप संरक्षण गरी गाउँलेको सेवा गर्दै आएका भुइँमान्छेको सम्मान गरिएको हो । जीवनमा पहिलो पटक सम्मान पाउँदा उनीहरू गद्गद् भए।
‘यस्तो सम्मान पाइएला भनेर सपनामा पनि चिताएकी थिइनँ’, ५९ वर्षिया कलाकार मेनुका बि.कले भनिन्।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।