
काठमाडौं, असार १८ / लामो समयदेखि अमेरिका बसेर नेपाली साहित्यका अनेकन् विधामा कलम चलाइरहनु भएका विश्वराज अधिकारीको नवीनतम कथाकृति ‘सागरमणि दाइ नेपाल फर्किनु भयो’ एक समारोहका बीच सार्वजनिक गरिएको छ ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्राज्ञ माया ठकुरीले कथाले मानिसको जीवन बोल्ने भएकाले आम पाठकले रुचाउने गरेको बताउनुभयो। उहाँले आफूले कथा लेख्दाको क्षण पनि स्मरण गर्नुभयो ।
कृतिमाथि चर्चा गर्दै प्रा. डा. सावित्री मल्ल कक्षपतिले अधिकारीको यो कृति स्वस्फूर्त भावप्रवाहबाट सिर्जित भएको बताउँदै यसमा नौलो प्रस्तुति पाठकले भेट्ने बताउनुभयो।
डा. शैलेन्दुप्रकाश नेपालले विश्वराजका कथा विचारप्रधान रहेको उल्लेख गर्नुभयो ।
साहित्यकार हरि अधिकारीले विश्वराज प्रयोगवादी लेखक नभएको भन्दै उहाँको यस कृतिमा सरल भाषागत प्रस्तुति रहेको बताउनुभयो ।
साहित्यकार श्रीओम श्रेष्ठ रोदनले विश्वराजले कृतिमा आख्यानकारिताको अभाव रहेको स्वीकार गरेको बताउँदै कृतिका कथाहरूमा अमेरिकामा बस्ने नेपालीहरूको कृत्रिमताका बारेमा प्रस्ट लेखेको खुलाउनुभयो ।
कार्यक्रममा मोहन सिटौला, विश्वराज अधिकारी, खेमराज पोखरेल, ममता मृदुल, प्रा. भूपप्रसाद धमलालगायतले आफ्ना धारणा व्यक्त गर्नु भएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

