काठमाडौं / बालबालिकाको पठन संस्कृति र सिर्जनात्मक क्षमताको विकासको लागि बालसाहित्यको महत्त्व अहिले हाम्रो समाजले विस्तारै बुझ्न थालेको छ । यही क्रममा बालोपयोगी साहित्यको प्रकाशनमा उल्लेख्य वृद्धि आइरहेको छ । यसमा साहित्यिकहरुको प्रशंसनीय योगदान छ ।
यसै क्रममा कवि, साहित्यकार आर. मानन्धरको बालकथाको पुस्तक ‘कलाकार बाँदर’ हालै प्रकाशित भएको छ । सो पुस्तक बाल साहित्यको प्रकाशनमा समर्पित परिचय पब्लिकेशनबाट बजारमा ल्याइएको हो । साथै, उनको अर्को बालकथाको पुस्तक ‘मैनबत्तीको कथा’ पनि सोही प्रकाशनबाट शीघ्र प्रकाशन हुँदै छ ।
प्रारम्भिक तहको शिक्षामा लामो समय विशेषज्ञ भई कार्यरत मानन्धरको प्रकाशित कृति रमाइलो पढाइ (जोयफुल रिडिंग) को लागि उपयुक्त छ । कथामा कल्पना तत्त्वको गहकिलो प्रयोग भएको छ । जंगलको परिवेशमा बुनिएको कथामा जंगली जनावरहरु नै पात्र छन् । यसले कथालाई रोचक र मनोरञ्जक बनाएको छ । साथै, सबैको मन बहलाउने कलाकारहरुका दुःख पनि कथाकै माध्यमले सहज रुपमा प्रस्तुत गरिएको छ । अनि समाजले कलाकारको कदर गर्नसक्नु पर्ने कुरा पनि सिकाएको छ ।
कलाकार यज्यू मानन्धरको चित्रकलाले पुस्तकलाई चित्ताकर्षक बनाएको छ । यस कथा किताबले बालबालिकाको सिर्जनात्मक विकासमा योगदान गर्ने छ ।